२०८१ माघ २८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं

कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं


काठमाडौं–प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का वि.सं. २०५०/५१ सालमा सरकारको छात्रवृत्तिमा चीन गएर एमबीबीएस अध्ययन गरेका थिए । सो समयमा एमबीबीएस पढ्न झापामा त के नेपालमै पनि मुस्किल थियो ।

छात्रवृत्ति पाएकाले उनले चीनमा गएर एमबीबीएस अध्ययन गर्न पाए । खड्का मात्र होइन्, झापाकै डा. प्रमोद राय, मुटु रोग विशेषज्ञ डा. रामेश कोइराला, डा. चन्द्रमणि अधिकारी आदिले ४० र ५० को दशकमा रुस, चीनलगायतका देशमा गएर अध्ययन गरी फर्किएर नेपालमा सेवा दिइरहेका छन् ।

झापाकै बीएण्डसी मेडिकल कलेजकै अध्यक्ष डा. रामबाबु गिरीले नै बंगलादेशबाट एमबीबीएस गरेका हुन् । झपा घर भएका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षा अध्यक्ष प्रा.डा. सञ्जीव शर्माले भारतबाट एमबीबीएस गरेका हुन् । तर, अहिले समय फेरिएको छ । ३० वर्षपछि अब झापाले नेपालीलाई मात्र होइन्, विदेशीलाई पनि एमबीबीएस पढाउन थालेको छ ।

शिक्षण अस्पताल संचालनका लागि शिक्षा मन्त्रालयबाट आसय पत्र (एलवाई) पाएको १३ वर्षपछि झापाको विर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजले एमबीबीएस पठनपाठन गराउन सुरु गरेको छ । मेडिकल कलेजका लागि ल्याव, अडिटोरियमसहितको अत्याधुनिक भवन बनेको १० वर्षपछि एमबीबीएस अध्ययन गर्ने पहिलो ब्याचका ५० विद्यार्थीहरु बेसिक साइन्स भवनमा अध्ययन गर्न सुरु गरेका छन् । त्यसमा ५ जना पूर्ण छात्रवृत्तिका छन् भने १४ जना विदेशी विद्यार्थी छन् ।

त्यही भएर झापा जिल्ला नेपाली कांग्रेसका सचिव कृष्ण हुमागाई हिजो चिकित्सक पठाउन देश विदेश पठाउने झापा जिल्ला यस वर्षदेखि विदेशीलाई चिकित्सक पठाउने जिल्लाका रुपमा दरिएको बताउँछन् । ‘मेडिकल कलेजको नाफा घाटा सञ्चालकको होला तर कलेज समग्र झापावासीको हो,’ उनी भन्छन्, ‘हिजो झापाले धेरै चिकित्सक देश विदेश पठाएर पढायो अब विदेशका विद्यार्थी ल्याएर झापाले चिकित्सक पढाउन थालेको छ ।’

बीएण्डसीको पहिलो ब्याचका विद्यार्थी पढाउन ८० जनाको फ्याकल्टी तयार छ । जसमा ५० जना क्लिनिकल चिकित्सक छन् भने ३० बढी वेसिक साइन्सको फ्याकल्टी रहेको प्रिन्सिपल प्रा.डा. उमेशकुमार शर्मा बताउँछन् । ‘सुदूर पूर्व त्यसमा पनि मेचीको सानको रुपमा नै बीएण्डसी मेडिकल कलेज सुरु भएको छ,’ उनले भने, ‘हामी प्राज्ञिक, भौतिक र प्राविधिक सबै कुराले पूर्ण छौं । पक्कै हाम्रा विद्यार्थी मेडिकल क्षेत्रमा अब्बल भएर निस्किन्छन् ।’ लामो समयको रस्साकस्सीबाट एमबीबीएस सुरु भएको हुँदा गुणस्तरीय चिकित्सक उत्पादनमा आफूहरुको विशेष ध्यान भएको उनी बताउँछन् ।

त्यसो त पूर्वी नेपाल (साविकको मेची अञ्चल) ले बीएण्डसी मेडिकल कलेजलाई एउटा निश्चित व्यापारिक र व्यक्तिको मात्र सम्पत्तिको रुपमा हेरेको पाइदैँन् । विर्तामोड क्षेत्रको विकासको लागि गेमचेन्जर मानिएको बीएण्डसी अस्पताल जस्तै वेसिक साइन्स भवन (क्याम्पस) रहेको धाइजन क्षेत्रलाई मेडिकल कलेज अर्को गेमचेन्जर प्रोजेक्ट हुन सक्ने मानिएको छ ।

नेकपा एमालेका झापा अध्यक्ष प्रेम गिरी बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएर पठनपाठन सुरु गरेसँगै समग्र यस क्षेत्रको सामाजिक तथा आर्थिक क्षेत्रमा नै परिवर्तन हुने विश्वास राख्छन् । ‘हिजो विर्तामोड बजारमा एउटा अस्पताल स्थापना हुँदा यस भेगका बिरामीले भारत उपचारमा जानुपर्ने बाध्यता अन्त्य भयो । समग्र विर्तामोड क्षेत्रको बजारीकरणमा ठूलो प्रभाव रहयो,’ उनी भन्छन्, ‘अब प्राज्ञिक रुपमा पनि फड्को मार्छ । रोजगारी र व्यवसायिक अवसरहरु पनि बढ्छन् ।’ उनी शिक्षण अस्पतालले हिजोको मेची अञ्चललाई नै स्वास्थ्यको क्षेत्रमा एउटा नयाँ आयाम दिने बताउँछन् ।

भौगोलिक तथा यातायातको हिसाबले धेरै अघिदेखि नै झापालाई सुगम जिल्लाको रुपमा हेरिन्थ्यो । तर, स्वास्थ्य सेवा प्रवाहका हिसाबले पिछडिएको थियो । जटिल रोगको उपचारका लागि झापाले मात्र नभएर तत्कालीन मेची अञ्चल नै भारतको सिलगढी या त धरान विराटनगर हुँदै काठमाडौं नै पुग्नुपर्ने अवस्था थियो । त्यो अवस्था वि.सं. २०७१ सालमा प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल सुरु भएपछि उल्टो भयो ।

‘मोरङ सुनसरी जिल्लाबाट मात्र होइन्, भारतीय सिमावर्ती क्षेत्रका बिरामी विर्तामोड आउन थालेका छन्,’ वरिष्ठ रेडियोलोजिष्ट समेत रहेका प्रिन्सिपल शर्मा भन्छन्, ‘कोभिड—१९ को समयमा काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर पनि बिरामी उपचारका लागि आए, अहिले क्यान्सरका बिरामी त देशैभरबाट आइरहेकै छन् ।’

बीएण्डसीले वि.संं. २०६८ मा मेडिकल कलेजका लागि आसय पत्र लिएतापनि पूर्वाधार निर्माणका हिसाबले वि.सं. ०७१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३ सय शैय्याको अस्पताल स्वीकृती पाएको थियो । जुन नयाँ मापदण्डअनुसार निजीतर्फ ३ सय वेड स्वीकृत पाउने पहिलो अस्पताल रहेको थियो । अस्पतालको स्वीकृतीसँगै फ्याकल्टी, वेसिक साइन्स भवन र पर्याप्त बिरामी संख्या हुँदाहुँदैं पनि सम्बन्धन पाउन भने १० वर्ष कुर्नुपर्‍यो । त्यो पनि अदालतको आदेशबाट मात्र सम्भव भएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा. शर्माका अनुसार अहिले बीएण्डसी अस्पतालले एनेस्थेसिया, हाडर्जोनी, स्त्री तथा प्रसूति, बालरोग, रेडियोलोजी, प्याथोलोजी, न्यूरो सर्जरी, मुटु रोगको र विशिष्टीकृत सेवाहरु दिइरहेको छ । ‘जुन मेडिकल शिक्षा पढ्ने विद्यार्थीका लागि एउटा राम्रो प्लेटफर्म हो,’ उनी भन्छन्, ‘विदेशमा पढेका कतिपय विद्यार्थीले एपेन्डिक्स भएको बिरामी समेत हेर्न पाउँदैनन् ।’

एउटा शिक्षण अस्पताल हुनका लागि पूर्वाधार, बिरामीको संख्या र पर्याप्त म्यानपावरको आवश्यकता हुन्छ । बीएण्डसीसँग यी तिनै कुुरा पर्याप्त रहेको प्रिन्सिपल डा. शर्माको दावी छ । ‘हामीसँग पर्याप्त इन्फास्ट्रक्चर छ, बिरामी दैनिक ओपीडीमा ११ सयभन्दा माथि रहेको छ भने वेड अकुपेन्सी सधैँ ६० प्रतिशत माथि छ,’ उनी भन्छन्, ‘म्यानपावर त भन्नै पर्दैन, थप पूर्वाधारका रुपमा ३०० शैय्याको छुट्टै क्यान्सर अस्पताल नै छ ।’

अस्पतालमा सुपरस्पेसियालिटी सेवासँगै ३० शैय्याको आईसीयु, १२ शैय्याको एनआईसीयु, ६ शैय्याको पिआईसीयु, १६ शैय्याको एचडियु छ । त्यसैगरी, अत्याधुनिक एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउण्ड, डेक्सा मेसिन, म्यामोग्राफी, इन्टरभेन्सन रेडियोलोजी, रेडियोथेरापी, एड्भान्स प्याथालोजी, लिनियर एक्सिलेटर, टोमो थेरापीजस्ता अत्याधुनिक सेवा पनि प्रदान गरिरहेको सिईओ डा. निराजन प्रसाई बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ