काठमाडौं–आगामी २ देखि ४ फागुनसम्म झापाको विर्तामोडमा दोस्रो पूर्वाञ्चल क्यान्सर सम्मेलन हुने भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, बीएण्डसी मेडिकल कलेज र नेपाल क्यान्सर फाउण्डेसनको संयुक्त आयोजनामा तीन दिने कन्फ्रेन्स आयोजना हुन लागेको हो ।
कन्फ्रेसमा स्वदेशी तथा विदेशी गरी २ सय ४० जना क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहने संयोजकसमेत रहेका पूर्वाञ्चल क्यासर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले जानकारी दिए । ‘विभिन्न देशबाट ४० बढी विशेषज्ञहरु आउँदैं हुनुहुन्छ,’ उनले भने, ‘नेपालका सबै अस्पतालमा काम गर्ने २ सयभन्दा बढी सहभागी हुनु हुनेछ ।’
कन्फ्रेन्समा सबै खालका क्यान्सर रोग तथा उपचारमा अपनाइरहेका पद्धतिका विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । ‘फरक—फरक स्थानबाट फरक—फरक अनुभवसहितका कार्यपत्रहरु प्रस्तुत भएर छलफल हुनेछन्,’ डा. यादवले भने, ‘जुन बिरामीको उपचार पद्धतिलाई सहज बनाउने ज्ञान तथा अनुभव साटासाट हुने राम्रो मौका पनि हो ।’
तीन दिनसम्म चल्ने सो कन्फ्रेन्सको पहिलो दिन पूर्वाञ्चल क्यान्सर अस्पतालमा वर्कसप हुनेछ भने दोस्रो र तेस्रो दिन मेची क्राउन प्लाजामा उद्घाटन तथा कार्यपत्रहरु प्रस्तुत र छलफल हुनेछन् ।