२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप

स्वास्थ्य सचिव डा. थपलिया भन्छिन्, ‘करार म्याद थप गर्ने निर्णय भइसकेको छ’


विराटनगर–कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नगरिदिएको एक महिना बितेको छ ।

केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले पटक—पटक लिखित रुपमा निवेदन दिँदा पनि करार म्याद थप भएन् । जसका कारण बुधबारदेखि त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले केन्द्रको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

कोशीको स्वास्थ्य मन्त्रालयले ६–६ महिनामा करारका चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप गर्दै आएको थियो । यस पटक पुस मसान्तसम्मको मात्रै करार म्याद थपको अवधि रहेको थियो । करार म्याद थपको अवधि सकिएपछि पुनः थपका लागि पत्रचार गर्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै सुनवाई नगरेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रका प्रमुख डा. सर्वेशकुमार झाले बताए ।

डा. सर्वेश

‘हामीले करार म्याद थपका लागि पटक—पटक स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यलयमा पनि भनेका छौं । अहिलेसम्म पनि म्याद थप भएर पत्र आएन । बाध्य भएर अहिले हामी आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने, ‘बुधबार शान्तिपूर्ण रुपमा विरोध गरेका छौं । आज बिहीबारदेखि पूर्ण रुपमा ओपीडी बन्द गर्ने निर्णयमा हामी पुगेका छौं ।’ मन्त्रालयले करार म्याद थप गरेर पत्र दिएपछि मात्रै सेवामा फर्किने डा. झाले बताए । सेवा बन्द गर्ने बारेमा यसअघि नै स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पनि जानकारी गराएको उनले बताए ।

‘शैलजा आचार्य हृदय रोग केन्द्र, विराटनगरमा कार्यरत करारका कर्मचारीहरुको म्याद २०८१ पौष मसान्तसम्म मात्र रहेकोले सो को जानकारी नियमानुसार सबै प्रक्रिया पूरा गरेर यस अस्पतालबाट समयमा नै पठाइसकेको र सो को जानकारी पटक—पटक गराउँदा पनि हालसम्म तहाँ मन्त्रालय बाट म्याद थपको पत्र न आएकोले अब उप्रान्त म्याद थप बिनाको करार कर्मचारीहरुसँग कामकाज गर्न असमर्थ भएकोले मिति २०८१/१०/२३ गतेदेखि यस अस्पताल सञ्चालनमा बाधा पुग्ने हुँदा सो को जानकारीको लागि अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चिकित्सकले पठाएको पत्रमा उल्लेख छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण दैनिक ओपीडीमा आउने २५ देखि ५० जनासम्म बिरामी अहिले समस्यामा परेका छन् । उनीहरु अस्पताल पुगेर उपचार नपाएरै घर फर्किन बाध्य भएका छन् । मोरङ रतुवामाई नगरपालिका ५ का ७७ वर्षीय रत्नबहादुर श्रेष्ठ पाँच वर्षदेखि मुटुका बिरामी छन् । उनी मुटु रोग विशेषज्ञ डा. झासँग स्वास्थ्य परामर्श लिएर औषधि सेवन गर्दै आएका छन् ।

बुधबार फलोअपको लागि हृदय रोग उपचार केन्द्र आएका थिए । तर, चिकित्सकहरुको आन्दोलनको कारणले उनले चिकित्सकलाई देखाएर औषधि खान पाएनन् । ‘तीन घण्टा लगाएर हस्पिटल आए । चिकित्सकको आन्दोलन रहेछ । आन्दोलनको कारणले चिकित्सकलाई भेटन नपाइ घर फर्किनु प¥यो,’ अस्पताल परिसरमा भेटिएका श्रेष्ठले भने, ‘अब आन्दोलन सकिएपछि फर्केर चिकित्सकलाई देखाएर फेरि औषधि सेवन गर्नेछु ।’

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले चिकित्सक र स्वास्थ्यकर्मीहरुको करारको म्याद थप भइसकेको बताइन् । ‘करार म्याद थप गर्ने निर्णय भइसकेको छ । पत्र नपुगेको हुन सक्छ,’ डा. थपलियाले भनिन्, ‘डा. सर्वेशको बुधबार करार म्याद थप गर्ने निर्णाय भएको छ । पत्र नगएको हुन सक्छ । हामी यस विषयमा बुझनेछौं ।’

तर, डा. सर्वेशले भने बिहीबार दिउँसो १ बजेसम्म मन्त्रालयबाट कुनै पनि पत्र नआएको बताए । ‘मलाई मन्त्रालयबाट कुनै पनि जानकारी अहिलेसम्म आएको छैन । करारमा म्याद थप गरेको विषयमा जानकारी पनि छैन । मैले करार सकिएको र पुनः करार म्याद थपको लागि जानकारी दिएको तीन दिन भइसक्यो,’ उनले थपे, ‘उहाँहरुको वेवास्ताका कारण म्याद थप नभएपछि हामीले सेवा दिन सकेका छैनौं । यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार र मन्त्रालयले लिनुपर्छ । उहाँहरुको कारणले यस्तो समस्या भएको हो ।’

हृदय रोग उपचार केन्द्रमा एक जना मुटु रोग विशेषज्ञ, तीन जना नर्स र नौ जना कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ