२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई

कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई


विराटनगर—नेपाल नेत्र ज्योति संघले विराटनगरमा कान उपचार सम्बन्धि बृहत कार्यशाला आयोजना गरेको छ । विराटनगर आँखा अस्पताल परिसरमा कार्यशाला आयोजना गरिएको हो ।

‘कान अनुकूलन हेरचाह अभ्यास, अन्तरदृष्टि र आगामी मार्गचित्र’ शीर्षकमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालाको कोशी प्रदेशका स्वास्थयमन्त्री भुपेन्द्र राईले उद्घाटन गरे । सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री राईले कान मानव शरीरको छाँयामा परेको अंग रहेको बताए । उनले समाजमा कानका बिरामीको संख्या धेरै रहेपनि उपचारमा ध्यान नदिने गरेको पाइएको बताए । मन्त्री राईले कोशी प्रदेशभर कान रोगबारे जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउँदैं कान रोगको रोकथाम र उपचार सहज बनाउन प्रदेश सरकारले अस्पतालसँग समन्वय गरेर अघि बढन तयार रहेको स्पष्ट पारे ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ललित अग्रवालले कान मानव शरीरको महत्वपूर्ण अंग रहेपनि त्यसको हेरचाह र उपचारको विषयलाई गम्भीरतापूर्वक नलिने परिपाटी रहेको बताए । उनले कार्यशालामा कान उपचारको क्षेत्रमा भएका पछिल्ला चिकित्सकीय उपलब्धि र प्रगतिका विषयमा ब्यापक छलफल गरिने जानकारी दिए ।

कार्यशालामा इम्प्याक्ट नेपालका अध्यक्ष प्रा.डा. राकेश श्रीवास्तवले नेपालमा कान उपचारको इतिहास समेटेर कार्यपत्र प्रस्तुत गरे । यस्तै डा. रविन आचार्य, डा. विजय चौधरी,डा. श्लेष्मा रिजाल, डा. मिलन मर्हजन, डा. ऋषि भट्ट, डा. विपिन कोइराला, डा. दिपेश शाक्य,डा. अनिल चौधरी, डा. अरुण केसीलगायतले आ–आफ्ना प्रस्तुति राखे ।

विराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदमनारायण चौधरीले आँखाको रोगलाई न्यूनीकरण गरेजस्तै अस्पतालले कानको उपचारलाई जन—जनसम्म पु¥याउने लक्ष्य लिएको बताए । कार्यशालामा रानी आँखा अस्पताल, लुम्बिनी आँखा अस्पताल, नोबेल अस्पताल, विराट मेडिकल कलेज र सिरहा बहिरा संघलगायतबाट कान रोग विशेषज्ञ चिकित्सक र प्राविधिकसहित सम्बद्ध ७० जनाको सहभागिता रहेको विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ