२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै

न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै

१० गुणा बढी मुनाफा राखेर आफै मुल्य तोक्दै बजार पठाउने धन्दामा न्युट्रास्युटीकल एशोसिएसन मोरङका अध्यक्ष विपीन झा


विराटनगर– बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै औषधि भन्दै बिरामीलाई आर्थिक रूपमा भार पर्ने म्याद सकिएको ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीमा नयाँ उत्पादन मिति राखेर बिक्री वितरण हुने गरेको पाइएको छ । विराटनगर ६ बीएफेएम पूर्व भूमी मार्गमा तीन तलाको आफ्नै घरको गोदाममा न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष ५१ वर्षीय विपिन झा आफै उक्त धन्दामा संलग्न रहेको पाइएको हो ।

झाले म्याद सकिएको न्युट्रास्युटीकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर बिक्री वितरणको लागि बजारमा पठाउने तयारी गर्दैगर्दा प्रहरीले ठूलो परिमाणमा खाद्यपूरक सामाग्री बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय कोशी, जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मारेर ठूलो परिमाणमा न्युट्रास्युटीकल बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

झाले न्युट्रास्युटीकल बजार पठाउनका लागि तीन तलाको घरको भुइँ र दोस्रो तला गरी तीन वटा कोठालाई गोदाम बनाएर राखेका छन् । उक्त गोदाममा १४ भन्दा बढी प्रकारणका न्युट्रास्युटीकल र अन्य विभिन्न कम्पनीको मल्टी भिटामिनहरू फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्यपूरक सामाग्री बजारमा पठाउने तयारी गरेको अवस्थामा बरामद गरेको हो ।

प्रहरीले खाद्यपूरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको छ । ‘बरामद गरेको खाद्यपूरक सामाग्रीहरुको अहिलेसम्म बिलबिजक पनि देखिएको छैन । यो भन्सार छली गरी ल्याएको हुन सक्छ । त्यसैले हामीले प्रज्ञापन पत्र र बिलबिजक माग गरेका छौं । तर, संचालकले अहिलेसम्म ल्याएको छैन । सोमबार कार्यालयमा हाजिर हुन हामीले पत्रचार गरेका छौं,’ राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत लुइटेलले भने, ‘अहिलेसम्म प्रारम्भिक चरणमा नक्कली कागजपत्रहरु पनि फेला परेको छ । हामीले प्रज्ञापन पत्रअनुसार सामाग्री छ या छैन । त्यस विषयमा पनि अनुसन्धान सुरू गरेका छौं ।’ सम्पूर्ण कागजपत्र हेरेपछि कति भन्सार छली गरे त्यसपछि पत्ता लाग्ने राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

भरिया पक्राउ परेपछि खुल्यो झाको अवैध धन्दा

न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष झाले एक दशक अघिदेखि न्युट्रास्युटीकल आयात गर्ने सप्लायर्स चलाउँदै आएका छन् । उनको साक्षी मेडिलिंकमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि आफै खरिद गरेको भन्दा दश गुणा बढी मुल्य तोकेर बजार पठाउने गरेको पाइएको हो ।

कतिपय न्युट्रास्युटीकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरु बताउँछन् । ‘कतिपय न्युट्रास्युटीकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्यो भन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरी ल्याउने गरेको पाइएको छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक जना अनुसन्धान अधिकृतले भने, ‘आइतबार झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटीकल बरामद गर्नुमा एक जना भरिया पक्राउ गरेपछि पत्ता लागेको हो । तस्करी गरेर न्युट्रास्युटीकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा ल्याउने गरेको बताएपछि राजस्व र प्रहरी पुग्दा ठूलो परिमाणमा गोदाममा राखिएको अवस्थामा म्याद सकिएको न्युट्रास्युटीकलमा पुनः नयाँ स्टीकर, उत्पादन मिति र मुल्य तोक्ने स्टीकर आफै लगाउने गरेको पाइएको छ ।’

झाले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटयाउन केमिकल पनि प्रयोग गर्ने सामान प्रहरीले बरामद गरेको छ । ‘म्याद सकिएको मिति केमिकल प्रयोग गरेपछि नयाँ उत्पादन मिति र मुल्य तोक्ने गरेको पाइएको छ । झाको गोदमबाट मुल्य तोक्ने स्टीकर पनि बरामद भएको छ,’ एक जना अनुसन्धान अधिकृतले भने ।

न्युट्रास्युटीकलका अध्यक्ष झाले विराटनगसहित पुर्वको विभिन्न सहरहरुमा न्युट्रास्युटीकल सप्लाई गर्दै आएका छन् । उनले सबैभन्दा बढी विराटनगरको ठूलो फार्मेसी भित्रको हस्पिटल र विराटनगरको ठूलो मेडिसन पसलमा पठाउने गरेका थिए । सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेसीले झाको सप्लयार्सबाट न्युट्रास्युटीकल आयात गर्ने गर्छ । केही समयअघि मात्रै झाले अटल फार्मेसीलाई ठूलो परिमाणमा खाद्यपूरक सामाग्री बिक्री गरेको बताएका छन् । ‘झाले अटललाई दिएको खाद्यपूरक सामाग्री पनि म्याद सकिएमा नयाँ स्टिकर टास गरी पठाएको भन्ने खुल्न आएको छ । यस विषयमा हामीले अनुसन्धान सुरू गरेका छौं,’ अनुगमनमा पुगेका एक जना अनुसन्धान अधिकतृले थपे ।

स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारीअनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफै मुल्य तोकेर पाँच सयसम्म बिक्री गर्दछन् । ‘एक पत्ता न्युट्रास्युटीकलमा दश गुणासम्म मुनाफा राखेर न्युट्रास्युटीकल बिक्री गर्ने गरेको पाइएको छ । यसमा केही चिकित्सकहरुको पनि मिलेमत्तो रहेको छ । चिकित्सकलाई धेरै प्रकारको मल्टी भिटामिन लेख्न लगाउने र एउटा पूर्जीमा पाँच हजारसम्मको न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ,’ एक जना फार्मेसी संचालकले भने, ‘चिकित्सकले लेखी दिएपछि बिरामीले खरिद गर्दछन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महंगोमा बिक्री गर्दछन् । यसरी बिरामीलाई चर्को मुल्यमा बिक्री गरेको पैसा न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि दिने गरेका छन् ।’

यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले भने नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल बरामद भएको दाबी गरेका छन् । ‘नष्ट गर्न हामी आफैले गरेर हुँदैन् । महानगरपालिकाबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसरी नष्ट गर्ने क्रममा बरामद गरेको हो,’ उनले भने, ‘राजस्व तिरेर हामीले न्युट्रास्युटीकल ल्याउने गरेका छौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ