विराटनगर—ठगी गरेर अपराधिक लाभ लिएको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेलले मोरङ प्रहरीमा आत्मसमर्पण गरेका छन । बिहीबार विहान १० बजे उनले मोरङ प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।
प्रहरीले पक्राउका लागि खोजी कार्य तीब्र पारेपछि उनी आफै प्रहरी कहाँ उपस्थिती भएका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी कार्य तीब्र बनाएको अवस्थामा पोखरेल प्रहरीमा उपस्थित भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीले अदालतबाट पाँच दिन म्याद लिएर उनीमाथि थप अनुसन्धान अगाढि बढाएको उनले जानकारी दिए ।
सोमबार ठगी गरेर अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको थियो । नेकपा एमालेका मोरङका नेतासमेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो ।
सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटक—पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसा लिएका थिए । सो रकम लिएपछि चेकको अधकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए ।
त्यसपछि बौआलाल ५० लाख ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे । प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन । बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन् । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अघि बढाइएन ।
कतैबाट पार नलागेपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत विराटनगर पुगेका हुन् । उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले ३१ भदौंमा अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको ११ पुसमा प्रमाणिकरण भएको छ । प्रमाणिकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।