विराटनगर–ठगी गरी अपराधिक लाभ लिएको आरोप लागेको नेकपा एमाले मोरङका सदस्य अनिलकुमार पोखरेल विरुद्ध मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । आइतबार उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन फैसला गरेको पत्र मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडी बढेको हो ।
उच्च अदालतले गरेको फैसला लिएर अदालतका कर्मचारी आइतबार दिउँसो मोरङ प्रहरीमा पुगेका थिए । प्रहरीमा जाहेरीकर्ता पीडित बौआलाल चौधरी पनि गएका थिए । प्रहरीले अदालतको फैसला बुझेसँगै अनुसन्धानको प्रक्रिया अगाडि बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘हामीसँग उच्च अदालतले गरेको फैसला आइपुगेको छ,’ डिएसपी जोशीले भने, ‘घटनाका विषयमा अनुसन्धान सुरु भएको छ । पीडितसँग पनि कुरा भएको छ । ’
आइतबार उच्च अदालत विराटनगरले पनि जिल्ला प्रहरी कार्यालयलाई फैसलाको जानकारी गराएको छ । चलानी नम्बर ६४०७ को पत्रमार्फत अदालतले फैसलाको जानकारी प्रहरीलाई गराएको हो ।
‘उपरोक्त विषयमा निवेदक बौआलाल चौधरी विपक्षी तहाँ कार्यालय समेत परमादेश रिट निवेदनमा मिति २०८१/०५/३१ मा भएको फैसलाको प्रमाणित प्रतिलिपि यसै पत्र साथ पठाइएको छ । अत्तस् आदेशानुसार गर्नुहुन अनुरोध छ,’ अदालतले पठाएको पत्रमा उल्लेख छ ।
नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ का बीचमा पटक—पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले लिएका थिए ।
सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर बैआलालको छोरीलाई नाम निकाल्ने जिम्मा लिएका थिए । पछि छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएका थिए । त्यसपछि बौआलाल ५० लाख रुपैयाँ ऋणको लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रुपैयाँ रकम फिर्ता गराइदिन र अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगे ।
प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार ग¥यो । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय मोरङ पुगे, त्यहाँ पनि जाहेरी दर्ता भएन । बौआलाल जिल्ला सरकारी वकिलको कार्यालय पुग्दा पनि जाहेरी दर्ताका लागि प्रहरीलाई आदेश दिइएन् । बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन् । त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका हुन् ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले ३१ भदौंमा अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको ११ पुसमा प्रमाणिकरण भएको छ । प्रमाणिकरण भएपछि अदालतले गरेको फैसलाको पूर्णपाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।