२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित

कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित


विराटनगर—बिना प्रतिस्पर्धा नियुक्त गरिएका ९ जना चिकित्सकलाई मिल्ने योग्यता कायम गरेर विराटनगरस्थित कोशी अस्पतलाले दरखास्त आव्हान गरेको खुलेको छ । अस्पताल विकास समितिको रिक्त दरबन्दीको पदपूर्तिका लागि १५ जना मेडिकल अधिकृत माग गरिएकामध्ये ९ जनाबाट ७ जना पूरानै चिकित्सकलाई नियुक्ति गर्ने तयारीअनुरुप विज्ञापन आव्हान भएको देखिएको हो ।

मंगलबार निकालेको सूचनामा अस्पताल विकास समितिको रिक्त दरबन्दीको पदपूर्तिका लागि १५ जना मेडिकल अधिकृत, ३१ जना नर्स, तीन जना फार्मेसी अधिकृत र दुई जना बायोमेडिकल इन्जिनियरको लागि दरखास्त आव्हान गरिएको छ । १५ जना मेडिकल अधिकृत दरखास्त आव्हान गरेकोमा ८ जना विभिन्न विभागको लागि माग गरेको छ भने ७ जनाको हकमा आईसीयु र आकस्मिक कक्षको लागि दरखास्त आव्हान गरिएको छ ।

विभिन्न विभागको लागि दरखास्त आव्हान भएको हकमा यसअघि अस्पतालमा ज्यालादारीमा काम गर्दै आएका चिकित्सकहरुलाई नियुक्ति गर्ने तयारी अनुरुपमा विज्ञापन आव्हान भएको कार्यरत चिकित्सकहरु बताउँछन् ।

सात जना चिकित्सकको नियुक्ति निश्चित

कोशी अस्पतालले १५ जना चिकित्सक माग गरेर सूचना जारी गरेकोमा अस्पतालमा अहिले कार्यरत ज्यालादरीका ७ जना चिकित्सकको करारमा नियुक्ति हुने सुनिश्चत जस्तै देखिएको छ । अस्पतालले जारी गरेको दरखास्त आव्हानमा यसअघि प्रतिस्पर्धा बेगर नियुक्त गरिएका चिकित्सकहरुको हकमा योग्यता लागू हुने गरी तय गरेकोले ७ जना चिकित्सक नियुक्त हुने सुनिश्चित देखिएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

जसमध्ये एनेस्थेसियोलोजिष्ट दुई जना, डर्माटोलाजी, ई.एन.टी., डेन्टल, मेडिसिन र साइक्याट्री विभागको लागि ७ जना पूरानै चिकित्सकलाई राख्ने गरी योग्यता कायम गरेर दरखास्त आव्हान भएको छ ।

यी विभागमा अहिले ज्यालादरीमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, मनोचिकित्सक डा. सविता खड्का, पेट रोग विशेषज्ञ डा. रोहित यादव, एनेस्थेसिया डा. प्रविन झा र डा. राजन राई रहेका छन् । उनीहरुलाई प्रक्रिया पूरा गरेर मेडिकल अधिकृतको नियुक्ति दिने तयारीअनुसार योग्यता मिलाएर दरखास्त आव्हान भएको देखिन्छ ।

‘यसअघि परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफू खुसी चिकित्सक नियुक्ति गरेको थियो । खुला प्रतिस्पर्धा बेगर नियुक्ति नगर्न स्वास्थ्यमन्त्रीले निर्देशन दिएपछि उनीहरुको नियुक्ति खारेजी भएको थियो । अहिले प्रक्रिया पूरा गराएको देखाएर यसअघि गैरकानुनी रुपमा नियुक्ति गरेको केही चिकित्सकहरुलाई मिल्ने योग्यता कायम गरेर उनीहरुलाई राख्न खोजिदैंछ,’ कोशी अस्पतालका एक जना पूर्व मेसुले भने, ‘अहिले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरी मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकले कोशी अस्पतालले ७ वटा विभिन्न विभागमा आठौ तहको लागि दरखास्त गरिएको विज्ञापनमा भिड्नै नपाउने गरी मापदण्ड बनाएर सूचना जारी भएको छ । यो परिपाटी गलत भयो । खुल्ला प्रतिस्पर्धाबाट योग्य चिकित्सक नियुक्ति हुने प्रक्रिया अपनाउनुपर्छ । ’

नयाँ मेसु पनि पूरानै बाटोमा

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार ६ असोजमा कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड (मेसु) बाट डा. रविनराज सिंह पदमुक्त भए । उनको ठाउँमा स्वास्थ्य मन्त्रालयले कोशीको मेसुमा डा. रुना झालाई नियुक्त ग¥यो । उनले कोशीको मेसुको जिम्मेवारी सम्हाले लगतै पूर्व मेसु रविराज सिंहले जाँदाजाँदै गरेको नियुक्तिलाई खारेजी गरी दिइन् भने २ भदौंमा अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ चिकित्सकको नियुक्तिको करार अवधिको म्याद थप गरदिइन् । त्यसपछि उनीहरु अहिले ज्यालादारीमा अस्पतालमा कार्यरत रहेका छन् । अहिले फेरी उनीहरुलाई नियुक्त गर्नका लागि मिल्ने योग्यता कायम गरेर सूचना जारी गरेको भन्दै यहाँ कार्यरत चिकित्सकहरुले विरोध जनाएका छन् ।

कोशी अस्पतालकी मेसु डा. रुना झाले योग्यता पुगेका सबैले प्रतिस्पर्धा गर्न पाउने गरी लोकसेवा आयोगले निर्धारण गरेको मापदण्डलाई पालना गरेर दरखास्त आव्हान गरिएको बताइन् । ‘अस्पताल विकास समितिकातर्फको रिक्त दरवन्दीमा पदपूर्ति गर्ने उद्देश्यले हामीले योग्य सबै उम्मेदवारले लोकसेवा आयोगद्धार निर्धारित दरखास्त फारम गरी यस अस्पतालको प्रशासन शाखामा आवेदन दिन सक्नु हुनेछ,’ उनले भनिन्, ‘हामीले कुनै निश्चित चिकित्सकलाई केन्द्रीत गरेर दरखास्त आव्हान गरेकै छैन ।’ अहिले स्वास्थ्य मन्त्रालयको नीति पनि ज्यालादरीमा चिकित्सकलाई नराख्ने भन्ने रहेको उनले बताइन् ।

डा. झाकाअनुसार अहिले नियुक्त हुने चिकित्सकहरु अस्पतालमा रात्रीकालीन उपचार सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । ‘अहिले अस्पतालमा २ बजेपछि रेडियोलोजी विभाग बन्द हुने गरेको छ । अब नियुक्ति हुने रेडियोलोजिष्टले २ बजेपछि सेवा दिन्छु भने राख्ने हो । अप्रेसनमा पनि एनेस्थेसियोलोजिष्ट दुई जना राख्ने भनिएको छ । यो पनि २ बजेपछि सेवा दिन सक्छु भन्ने राख्ने हो,’ उनले भनिन्, ‘अस्पतालको स्वास्थ्य उपचार सेवा सुधार गर्नको लागि प्रक्रिया पूरा गरेर रिक्त दरबन्दीको लागि पदपूर्ति गर्न खोजिएको हो ।’

यता अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालले विगत लामो समयदेखि काम गर्दै आएका ज्यालादारीका चिकित्सकहरुलाई प्राथमिकता दिनुपर्ने बताए । ‘अहिले सरकारको नीति नै चिकित्सकहरुलाई ज्यालादारीमा राख्न नहुने छ । त्यही भएर पहिला काम गर्दै आएका ज्यालादारीका चिकित्सकले पनि आवदेन दिन सक्नेछन् । तर, अहिले आव्हान भएको दरखास्तमा योग्यता पुगेका सबैले प्रतिस्पर्धा गर्न सक्नेछन्,’ उनले भने, ‘योग्य चिकित्सक नियुक्ति हुनेछन् । ’

आवश्यक नभएको विभागमा जनशक्ति थपिदैं

अस्पतालमा आवश्यक नभएको विभागमा थप चिकित्सक नियुक्त गर्ने तयारी गरेको भन्दै यहाँका अन्य स्वास्थ्यकर्मीहरुले विरोध जनाउने गरेका छन् । कोशीमा एक दर्जन बढी विभागहरु छन् । तर, चिकित्सक चाहिएका विभागमा नियुक्त नगरेर धेरै चिकित्सक भएको विभागमा मेडिकल अधिकृत नियुक्त गर्ने तयारी गरिएको छ ।

कोशीको डेन्टल विभागमा नेपाल सरकारको दरबन्दी, विकास समिति र छात्रवृत्ति करारका गरी ८ जना चिकित्सक कार्यरत छन् । डेन्टलको ओपीडीमा दैनिक ७० देखि ९० जना बिरामी आउने गर्दछन् । ९ जना चिकित्सकको भागमा दैनिक बढीमा १० जना विरामी सरदर हेर्दै आएका छन् । सोही विभागमा एक जना मेडिकल अधिकृत नियुक्त गर्ने भन्दै विज्ञान आव्हान भएको छ ।

‘यसअघि नै चिकित्सकलाई बस्ने कुर्सी नभएको विभागमा फेरि चिकित्सक नियुक्त गरेर कोशीमा छुट्टै डेन्टल अस्पताल चलाउन लागे जस्तो छ’, एक चिकित्सकले भने, ‘अस्पतालमा न्यूरो सर्जरी विभाग, गाइनो वार्ड र एनआईसीयु सञ्चालन गर्न चिकित्सक आवश्यक भएपनि त्यहाँ नियुक्त भएन ।’

थप जनशक्ति नभएको भन्दै कोशीको आईसीयुको बेड संख्या खुम्चिएको छ । यसअघि २४ शैय्यासम्मको आईसीयु रहेको कोशीमा अहिले ६ बेडमा आएर खुम्चिएको छ । ‘बेडको संख्या बढाउन बरु थप जनशक्ति आईसीयुमा राखिनुपर्ने थियो । आईसीयूका लागि थप संख्या नगरेर बढी चिकित्सक भएको ठाउँमा राखिएको छ । यो भनेको अस्पतालको व्यभार बढाउने मेलो मात्र भयो,’ अस्पतालका एक जना कर्मचारीले भने । अहिले नियुक्त भएका आठौं तहका चिकित्सकहरु हुन् ।

आठौं तहको सुरु तलब स्केल ४८ हजार ७३७ रुपैयाँ रहेको छ । ग्रेड दर १ हजार ६२५ रुपैयाँ जोडेर जम्मा मासिक तलब एक जनाको ५५ हजार २३७ रुपैयाँ हुन आउने गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ