२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो

मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो

नियांमक निकाय औषधि व्यवस्था विभागको मौनता


विराटनगर-मुकेश अग्रवालले मोरङको कटहरी गाउँपालिका–४ मा संचालनमा ल्याएको एमटेक मेडी कम्पनीको ‘एजिथ्रोमाइसिन ओरल सस्पेन्सन आईपी’ नामक औषधिमा ढुसीसहितको कालो लेदो भेटिएको छ । म्याद सकिन ९ महिना बाँकी रहेको बजार पठाइएको उक्त औषधिमा लेदोसहितको ढुसी भेटिएको हो ।

एमटेक मेडी कम्पनीले बिक्रीको लागि औषधि पसलमा पठाएको ब्याज नम्बर एजेटएल ३४८ नम्बरको एजिथ्रोमाइसिन ओरल सस्पेन्सन आईपीमा ढुसीसहितको कालो लेदो भेटिएको छ । उक्त औषधि सन् २०२३ सेप्टेम्बर महिनामा बनेर सन् २०२५ अगष्टमा म्याद सकिदैंछ । रुघाखोकी लाग्दा बालबालिकाले सेवन गर्ने ‘एजिथ्रोमाइसिन ओरल सस्पेन्सन आईपी’ एन्टिबायोटिक विराटनगरको फार्मेसीमा बिक्रीका लागि राखिएको औषधिमा ढुसी भेटिएको छ ।

ढुसीसहितको औषधी सेवन गरेकाले विराटनगर १ भट्टाचौक घर भएकी रेखा भगतका १५ महिनाका बालक थप बिरामी परेको गुनासो छ । रेखाले छोरा बिरामी भएपछि विराटनगरको हस्पिटल चोकमा फार्मेसीबाट चिकित्सकले लेखिदिएको पूर्जीअनुसार रुघाखोकीको लागि औषधि भनेर ‘एजिथ्रोमाइसिन ओरल सस्पेन्सन आईपी’ औषधि ल्याएकी थिइन् । ‘औषधि ल्याएपछि छोरालाई पाँच एम्बल खुवाएको थिए । छोरालाई झन विरामी भई बान्ता हुन थाल्यो । छोरालाई असजिलो भएपछि क्लिनिकमा पुगेको थियो । त्यस क्रममा औषधि हेर्दा कालो लेदो देखिएको छ,’ उनले भनिन्, ‘त्यसपछि चिकित्सकले ढुसीसहिको लेदो भएको औषधि खुवाएका कारण नानी विरामी परेको बताएका छन् ।’ छोरालाई औषधि खुवाए कै कारण धेरै पटक वान्ता भएको उनले सुनाइन् ।

यसरी ढुसीसहितको लेदो भेटिएको औषधि भेटिदा पनि औषधिको नियमक निकाय औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर मौन देखिएको छ । जनशक्ति अभावको कारण देखाउँदै डिडिएले अनुगमनमा चासो देखाएको छैन । विराटनगरको औषधि पसलमा औषधिमा लेदो भेटिएपछि हामीले फोटोसहित डिडिएका प्रमुखलाई फोटो पठाइदिएका थियौं । त्यसपछि हामीले उहाँलाई यसरी बजारमा ढुसीसहितको लेदा पठाउने उद्योग र सप्लायर्समा अनुगमन कहिले हुन्छ भनेर प्रश्न गरेका थियौं । कार्यालय प्रमुख श्रेष्ठले भने, ‘जनशक्ति अभावको कारणले अहिलेनै अनुगमनमा गइहाल्न सक्ने अवस्था छैन । हामी १÷२ दिनभित्रमा अनुगमनमा जानेछौं । कुनै कैफियत देखिए त्यसपछि हामी तपाइलाई जानकारी गराउनेछौं ।’

यता एमटेक मेडी कम्पनीका संचालक मुकेश अग्रवालले म्याद समय बाकी रहेको औषधिमा ढुसीसहितको लेदो भेटिदा हामी पनि अन्यौलता बढाएको बताए । ‘कालो ढुसी र लेदो भेटिएको औषधिको अन्य ब्याज नम्बरको भएको २० वटा जति मेडिसन हामीले खोलेर चेक पनि गर्यौ । हामीले चेक गरेको औषधिमा कुनै समस्या देखिएको छैन । बजारमा पठाएको लेदो भेटिएपछि हामीलाई पनि अन्योलता बढाएको छ,’ उनले भने, ‘औषधीहरु सबै मेसिनरी सामानले प्याकेजिङ्ग हुने भएकाले कम्पनीबाट त्यस्तो कुनै खराबी देखिएको छैन । काम गर्ने क्रममा यदि त्रुटिबस केही कमजोरी भए त्यसलाई आगामी दिनमा सुधार गर्दै लैजानेछौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ