२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा १ लाख ९ हजार व्यक्तिमा आँखामा दृष्टि दोष

कोशीमा १ लाख ९ हजार व्यक्तिमा आँखामा दृष्टि दोष

पुरुषभन्दा महिलामा बढी समस्या


विराटनगर–कोशी प्रदेशमा १ लाख ९ हजार ९४ जना व्यक्तिको आँखामा दृष्टि दोष (आँखा कम देख्ने) समस्या रहेको पाइएको छ । नेपाल नेत्र ज्योति संघ कोशी प्रदेशको अगुवाईमा विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल र रामप्रसाद पोखरेलको संयुक्त टोलीले ५० वर्षभन्दा माथिका व्यक्तिहरुलाई लक्षित गरी गरेको दृष्टि दोष सम्बन्धी सर्वेक्षणमा यस्तो भेटिएको हो ।

दृष्टि दोष पुरुषभन्दा महिलामा बढी समस्या देखिएको छ । प्रदेशभरमा कुल दृष्टि दोष भएकामध्ये पुरुष ४८ हजार १८० जना र महिला ६० हजार ९१४ जना रहेका छन् । सर्वेक्षणले दिएको प्रतिवेदनअनुसार कोशी प्रदेशमा ६ हजार २२४ जनामा दृष्टि बिहिनताको अवस्था रहेको छ । त्यस्तै, गम्भीर दृष्टि दोषको अवस्थामा रहेकाको संख्या ९ हजार १६३ जना (१.२ प्रतिशत), मध्यम दृष्टि दोषको अवस्थामा रहेकाको संख्या ३८ हजार १२१ जना (५.१ प्रतिशत) तथा प्रारम्भिक दृष्टि दोषको समस्यामा रहेकाको संख्या ५५ हजार ५८६ जना (७.५ प्रतिशत) छ ।

कोशी प्रदेशमा देखिएको दृष्टि बिहिनताको प्रमुख कारणहरुमा मोतियाबिन्दु भएका ६० प्रतिशतले उपचार गरेका छैनन् । त्यस्तै, दृष्टिदोष भएकामध्ये ७५ प्रतिशतलाई दृष्टि बिहिनताको अवस्थाबाट बचाउन सकिने दावी गरिएको छ ।

मोतियाबिन्दुका कारण ३ हजार २३८ व्यक्तिहरूमा दृष्टि बिहिनता देखिएको छ । मोतियाबिन्दु शल्यक्रिया गरे पश्चात ८१.४ प्रतिशतमा आँखामा राम्रो दृश्यको परिणाम प्राप्त भएको विराटनगर आँखा अस्पतालका अनुसन्धान अधिकारी राजीवरञ्जन कर्णले बताए ।

नेपाल नेत्रज्योति संघ कोशीका अध्यक्ष श्यामसुन्दर उदासले दृष्टि दोष र दृष्टि बिहिनता अझै कोशी प्रदेशमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको पाइएको बताए । मोतियाबिन्दुको शल्यक्रिया सेवाहरू लिन अझै पनि विभिन्न अवरोधहरु छन् ।

जसमा उपचारको महसुस नहुनु, खर्चको अभाव र शल्यक्रियाको डर, अस्पतालसम्म पुग्ने समस्याहरु प्रमुख छन् । यसका लागि आँखाको शल्य चिकित्सा सेवाको पहुँच विस्तार तथा गुणस्तरमा थप सुधारको आवश्यकता रहेको विज्ञहरुले बताए ।

कोशी प्रदेशमा सम्पन्न गरिएको ¥याब (अन्धोपन) निवारणका लागि द्रुत सर्वेक्षणले निकालेको तथ्यांकले आधारमा मोतियाविन्दु दृष्टि दोषको प्रमुख कारण देखिएको छ । यो सर्वेक्षण सन् २०१९ मा गरी बुधबार सार्वजनिक गरिएको हो । सो सर्वेक्षणको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहबीच सार्वजनिक गरेका हुन् ।

¥याब सर्वेक्षण, २०१९ को मुख्य उद्देश्य कोशी प्रदेशमा विद्यमान दृष्टि बिहिनाताको अवस्था तथा यसका कारणहरु, आँखा सेवाको प्रवाहको अवस्था, आँखा स्वास्थ्य सेवाको प्रभावकारिता बारे अनुसन्धान गर्नु रहेको थियो ।

सो सर्वेक्षणको नमुनाका रुपमा ४ हजार १२१ जनाबाट सूचना संकलन गरिएको गरी संकलित तथ्यांकको विश्लेषणबाट प्राप्त नतिजाको आधारमा कोशी प्रदेशको सम्पूर्ण जनसंख्या तथा त्यसको उमेर अनुसारको वितरणसँग मिल्नेगरी स्तरिकृत गरी प्रदेशका सम्पूर्ण जिल्लाहरु तथा स्थानीय तहहरुमा रहेको दृष्टि बिहिनताको अवस्था तथा अनुमानित संख्या निकालिएको बताइएको छ ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्मनारायण चौधरी, अस्पताल व्यवस्थापक कुमार पृथु, नेत्र ज्योति संघका अध्यक्ष डा. चेतराज पन्त, सुधीरकुमार ठाकुरलगायतले दृष्टि दोषको वर्तमान अवस्था, आँखा उपचारमा देखिएको समस्या र निराकरणका उपाय बारेमा विचार राखेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ