२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको ढल सिधैं नालामा, छैन व्यवस्थापनमा चासो

कोशी अस्पतालको ढल सिधैं नालामा, छैन व्यवस्थापनमा चासो

फोहोर व्यवस्थापनमा वार्षिक दुई करोड खर्च, विज्ञ भन्छन्, ‘संक्रमण फैलिने खतरा बढ्छ


विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नै पदेन सञ्चालक समिति सदस्य रहेको कोशी अस्पतालले कानुन विपरित जनस्वास्थ्यमा असर पर्ने गरी शौचालयको दिसा सडक नालामा मिसाउने गरेको पाइएको छ । मानव स्वास्थ्यमा गम्भीर असर हुने गरी अस्पतालको शौच नालामा मिसाउँदा महानगर मौन छ ।

फोहोर व्यवस्थापनको नाममा वार्षिक दुई करोड बढी खर्च गर्ने गरेको विराटनगरस्थित कोशी अस्पतालको सेफ्टी ट्यांक भरिएर बगेको दिसा पिसाब सिधै सडक नालामा बगाउने गरेको छ । अस्पतालभित्रको विभिन्न भवनमा रहेको शौचालयको दिसा पिसाब सिधै सडक नालामा बगाउँदा जनस्वास्थ्यमा असर परिरहेको छ । सडक दुर्गन्धित हुनुका साथै विभिन्न संक्रमणहरु फैलिने गर्दा स्थानीय र सेवाग्राहीहरु प्रभावित भइरहेका छन् ।

कोशी अस्पतालमा करिब आधा दर्जन संख्यामा रहेको भवनमा जोडिएका १० वटा सेफ्टी ट्यांकी छन् । जसमध्ये आकस्मिक कक्ष, मेडिकल भवन, हाडजोर्नी तथा नसा रोग विभाग र आईसीयु रहेको भवनका शौचालयबाट निस्किएको दिसा पिसाब सिधै सडकको नालामा बगाइने गरिएको छ ।

आकस्मिक कक्षदेखि पछाडितर्फ र कोशी अस्पतालको क्यान्टिन भएको ठाउँबाट करिब पाँच मिटर पश्चिमको नालामा शौचालयको फोहोर मिसाउने गरेको पाइएको हो । जनस्वास्थ्यलाई गम्भीर असर पर्ने दिसाजन्य फोहोर नालामा फाल्दा अस्पताल परिसर र बाहिरी वातावरण प्रदूषित छ ।

सरसफाइ र त्यसका लागि नियुक्त गरिएका सफाइ कर्मचारीका लागि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको अस्पतालले दिसा, पिसाब व्यवस्थापनका लागि मात्र वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको छ । तर, सेफ्टी ट्यांकी सफाइका लागि कति खर्च भएको छ भन्ने विवरण भने अस्पतालले उपलब्ध गराउन आनाकानी गरेको छ । दैनिक ३ हजारभन्दा

बढी बिरामी, कुरुवा र कर्मचारीहरुको उपस्थिति हुने अस्पतालबाट निस्किने दिसाजन्य फोहोर बगाउन विराटनगर महानगरपालिकाको व्यवस्थित ढल प्रणाली कोशी अस्पतालसम्मै पुगेको छ । तर, अस्पतालले थोरै शुल्कमा अस्पतालको दिसा, पिसाब बगाउन ढल प्रणालीमा आवद्ध हुन चाहेको छैन ।

कोशी अस्पतालको आकस्मिक कक्ष पछाडिबाट शौचालयको फोहोर नालामा ।

ढल प्रणालीमा आवद्ध हुँदा खासै ठूलो खर्च नआउने महानगरपालिकाले जनाएको छ । निजी व्यवसायिक प्रतिष्ठानहरुले धेरैमा १ लाख ४४ हजार रुपैयाँ वार्षिक शुल्क तिर्दा ढल प्रयोग गर्न सक्छन् । कोशी अस्पताललगायत सार्वजनिक सरकारी निकायले त्यो भन्दा कम शुल्कमै ढल प्रयोग गर्न सक्ने अवस्था हुँदाहुँदै पनि अस्पतालले लापरवाही गरी सार्वजनिक नालामा दिसा बगाइरहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । न्यून खर्चमा दिसा पिसाब व्यवस्थापन गर्ने तर्फ नलागेर कोशी अस्पतालले एकातिर दुर्गन्ध फैलाइरहेको छ भने सेफ्टी ट्यांकी सफाइको बहानामा लाखौं रकम खर्चिरहेको छ ।

सरसफाइका लागि कोशी अस्पतालमा सफाइ कर्मचारी मात्र ५० जना कार्यरत रहेको सूचना अधिकारी इन्दिरा यादवले जानकारी दिइन् । उनकाअनुसार कोशी अस्पतालमा २० जना स्थायी, ४ जना करार र २६ जना ज्यालादारीमा काम गर्ने सफाइ कर्मचारी छन् । उनीहरुको काम अस्पतालको फोहोर व्यवस्थापन र सरसफाइ गर्ने हो । ती ५० जना सफाइ कर्मचारीका लागि मात्र वार्षिक १ करोड ३१ लाख ७६ हजार रुपैयाँ खर्च हुने गरेको छ । स्थायी कर्मचारीले मासिक २८ हजार, करारका २४ हजार र ज्यालादारीले १७ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । अस्पतालले फोहोर व्यवस्थापनको नाममा पनि विभिन्न कमजोरी गरिरहेको पाइएको छ ।

अस्पतालजन्य फोहोर विसर्जनको मान्यताविपरीत कोशी अस्पतालले मासिक ५० हजार रुपैयाँ भुक्तानी दिने गरी सविता सेफ्टी ट्यांकलाई फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । उक्त कम्पनीको आफ्नै ल्याण्ड फिल साइड नहुँदा जथाभावी अस्पतालजन्य फोहोर विसर्जन गर्ने गरेको छ । त्यसले पूरै सहरलाई असुरक्षित बनाइरहेको छ । यस्ता कार्यमा मात्र अस्पतालले वार्षिक २ करोड रुपैयाँभन्दा बढी खर्चिने गरेको पाइएको हो ।

सफाइको नाममा यति ठूलो रकम खर्च गर्ने गरेको अस्पतालले जनस्वास्थ्यमा खेलवाड गर्दै सार्वजनिक नालामा खुला रुपमा दिसा बगाउने काम गरिरहेको छ । थोरै खर्च गरेर महानगरको ढल प्रणालीमा बगाउँदा दिसा, पिसाब व्यवस्थापन सहज हुने भएपनि अस्पताल प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन । विराटनगर महानगरपालिकाले निर्माण गरेको ढल चार वर्षअघिबाटै सञ्चालनमा आइसकेको छ । नगर क्षेत्रबाट संकलन हुने ढल विराटनगर—१४ स्थित जतुवामा संकलन गरी प्रशोधन गर्ने प्लान्ट सञ्चालनमा छ । महानगरले ६४ किलोमिटर नाला, ६४ किमी सडक र २६ किमी ढल निर्माण गरेर विराटनगरको डुबान र ढल व्यवस्थापनमा एकै पटक काम गरेको थियो । ढल प्रणालीभित्र समेटिएका सबै घर, व्यवसाय र सार्वजनिक निकाय अनिवार्य रुपमा ढल प्रणालीमा सहभागी हुनुपर्ने महानगरको व्यवस्था भएपनि सरकारी कार्यालयहरु नै उक्त प्रणालीमा आवद्ध भएका छैनन् ।

संक्रामण रोग फैलिने खतरा बढछ : डा. पुन

शौचालयबाट निस्किएको दिसा, पिसाब सिधैं सार्वजनिक सडक नालामा बगाउँदा झाडा पखला, आउँ, हैजा जस्ता सरुवा रोगहरुको जोखिम हुने चिकित्सकहरुले बताएका छन् । शौचालयको दिशा पिसाब नलामा फाल्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

दिसाजन्य फोहोरबाट झाडापखाला, इकोला, टाइफाइड र मलेरिया, कालाजारलगायतका रोग लाग्नसक्ने डा. पुनले जानकारी दिए । ‘भाइरसस वा किटाणु विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेमा यी रोगहरु सर्छन्,’ उनले भने, ‘त्यसैले हामीले सरसफाइमा ध्यान दिन जरुरी छ ।’ संक्रामक रोग लागेको बेला खुला रुपमा नालमा बगाइने यस्ता दिसा पिसाब बढी जोखिमपूर्ण हुन्छन् । ’

कारवाही हुन्छ : महानगर

विराटनगर महानगरपालिकाका सरसफाइ व्यवस्थापन सुपर भाइजर किरण न्यौपानेले खुल्ला ठाउँमा शौचालयजन्य फोहोर विसर्जन गर्न बन्देज गरिएको बताए । यसरी शौचालयको दिसा, पिसाब नालामा फाल्नेलाई फोहोरमैला ऐनअनुसार कारवाही हुने उनले बताए । फोहोर मैला ऐन अनुसार १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको उनले बताए ।

‘कोशी अस्पतालको आकस्मिक कक्षको इन्चार्जलाई पनि हामीले यसअघि जानकारी गराएका थियौं । अहिलेसम्म सुधार गरेका रहेनछन् भने नियमअनुसार कारवाही प्रक्रिया अगाडि बढाउछौं,’ उनले भने ।

कोशी अस्पतालका मेसु डा. रविराज सिंहले अस्पतालबाट निस्किने शौचालयको फोहोर व्यवस्थापन छिट्टै गर्ने बताएका छन् । ‘मलाई पनि यस विषयमा थाहा थिएन । तत्काल यो समस्याको समाधान हुनेछ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ