२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी

क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी

दियो २४ घण्टाको अल्टिमेटम


विराटनगर – नेपाल क्षयरोग निवारण संस्था मोरङले गैरकानुनी तरिकाले विराटनगर—७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेसीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने चेतावनी औषधि व्यवसायीहरुले दिएका छन् । आइतबार नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले एक विज्ञाप्ती जारी गर्दै फार्मेसीमा क्षयरोगले लगाएको ताला तत्काल नखोले सम्पूर्ण औषधि पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतवनी दिएका हुन् ।

संघले यथाशीघ्र तालाबन्दी खोली क्षतिपूर्तिसमेत दिन माग गरेको छ । विज्ञप्ति जारी भएको २४ घण्टा भित्रमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलनमा उत्रिन औषधि व्यवसायीहरु बाध्य हुने उनीहरुले बताएका छन् । ‘सम्बन्धित निकायले २४ घण्टाभित्र समस्या समाधान नगरेमा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ विज्ञप्तीमा छ, ‘सो बाट उत्पनन्न हुने प्ररिस्थितीको सम्पूर्ण जवाफदेही सम्बन्धित निकाय नै हुने व्यहोरासमेत अवगत गराउन चाहन्छौं ।’

उच्च अदालत विराटनगरले गरेको फैसलालाई चुनौती दिने गरी कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम गरिरहेको संस्थाले व्यवसायिक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेसी’ मा १९ भदौ मा ताल्चा लगाइदिएको हो । आइतबार उक्त फार्मेसी बन्द भएको चार दिन भएको छ ।

क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालकोे स्वामित्वमा रहेको फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो ।

अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा. रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेसीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन २ भदौंमा पत्राचार गरेका थिए । अस्पतालले श्रेष्ठ खाजा घर, मदिना होटेल खाजा घर, पशुपति किराना पसल, पूर्वाञ्चल बायोमेडिकल सोलुसन, खुश्बु खाजा घर, सहिम मोटरसाइकल र न्यू बाबा होटललाई सटर भाडा बापत बुझाउन पत्राचार गरेको थियो ।

प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेसीले ९ भदौंमा कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि १९ भदौंमा नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेसीमा ताल्चा लगाइदिएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ