२०८१ फागुन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य मन्त्रालयले कोशी अस्पताललाई सोध्यो स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले कोशी अस्पताललाई सोध्यो स्पष्टीकरण

बिना प्रतिस्पर्धा चिकित्सक नियुक्त गर्नुपर्ने औचित्यता के हो ? कुन कानुन बमोजिम भर्ना गरियो ? यथाशीघ्र जवाफ पठाउन निर्देशन


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालमा विकास समितिले आफू खुसी ९ जना चिकित्सकलाई ठाडो नियुक्ति गरेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोधेको छ । ११ भदौमा स्वास्थ्य मन्त्रालयले सचिवस्तरको निर्णयले गर्दै प्रतिस्पर्धा बेगर चिकित्सक नियुक्त गरेको विषयमा यथाशीघ्र जवाफ पठाउन कोशी अस्पताललाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले कोशी अस्पतालको आवश्यक विभागमा जनशक्ति नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र बिना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिनुको औचित्य के हो ? कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाई यथाशीघ्र जवाफ पठाउन भन्दै स्पष्टीकरण सोधको छ ।

‘संचार माध्यममा कोशी अस्पतालमा वेथिती शीर्षकमा आवश्यक विभागमा चिकित्सक नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र बिना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिएको भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त समाचार बमोजिम सत्य तथ्य के हो र बिना प्रतिस्पर्धा चिकित्सक भर्ना गर्नुपर्ने विषयको औचित्यता के हो र कुन कानून बमोजिम भर्ना गरिएको हो खुलाई यथाशीघ्र जवाफ पठाउनु हुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०५।११ को निर्णयानुसार अनुरोध छ,’ कोशी अस्पताललाई पठाएको पत्रमा उल्लेख छ । (हेर्नुहोस् पत्र )

२ भदौमा कोशी अस्पताल विकास समितिले आफू खुसी ९ जना चिकित्सकलाई ठाडो नियुक्ति दिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत बिना प्रतिस्पर्धा सिधै नियुक्त गरेको थियो ।

नियुक्त हुनेहरूमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल, कन्सल्टेण्ड डर्माटोलोजिष्ट डा.ज्योती कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, मनोचिकित्सक डा. सविता खड्का, एनएसथेसियाहरु डा.प्रविन झा र डा.राजन राई छन् । यसैगरी, मेडिकल अपिसरहरुमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा.विशका गुरुङलाई नियुक्त गरिएको थियो ।

उनीहरुलाई सुरूमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । तर, उनीहरुको करार थप गर्ने आन्तरिक सहमति रहेको स्रोतले जनाएको छ । अस्पतालमा नेपाल सरकारको दरबन्दीमा करारमा ९ तहमा कार्यरत चिकित्सकलाई तह घटुवा गरेर ८ तहमा नियुक्त गरिएको छ ।

डा.रौनक, डा.ज्योति र डा.रोहित नेपाल सरकारको रिक्त दरबन्दीमा ९ औं तहमा करारमा कोशीमै काम गर्दै आएका थिए । सरकारी दरबन्दीमा सरकारले अर्को स्थायी चिकित्सक पठाउँदा जागिर जाने भएपछि उनीहरुलाई नियमित जागिर खुवाउन विकास समितिको दरबन्दीमा नियुक्ति गरिएको हो ।

अस्पताल विकास समितिबाट एक पटक नियुक्त भएका चिकित्सकलाई हटाउन नसकिने भएकोले कारणले उनीहरुले पहुँचको भरमा बिना प्रतिस्पर्धा नियुक्ति पाएका हुन् । बिना प्रतिस्पर्धा चिकित्सक नियुक्ति गर्दा अस्पतालका कर्मचारी र अन्य चिकित्सकले भने लेनदेन गरेको आरोप लगाएका छन् । अस्पतालमा विकास समितिले चार वर्ष काम गरेका चिकित्सकलाई छोडेर नेपाली कांग्रेसका नेताको दबाबमा चिकित्सक नियुक्त गरेको थियो ।

अस्पताल प्रशासन र विकास समितिले चार वर्षदेखि कोशीमा सेवा दिँदै आएका मानसिक रोग विशेषज्ञ डा.प्रभात चालिसेलाई पाखा लगाएर नयाँ विशेषज्ञ चिकित्सक नियुक्ति गरेको हो । समितिले करारमा नयाँ मनोचिकित्सक डा.सविता खड्कालाई नियुक्ति गरेको छ । उनलाई नेपाली कांग्रेसका नेताका दबाबमा उनलाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड नेपाली कांग्रेस निकट हुन् । उनी मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री हुँदा अस्पताल विकास समितिको अध्यक्ष भएका थिए । नेपाल सरकारको रिक्त दरबन्दीमा विगत चार वर्षदेखि कोशीमा कार्यरत डा. चालिसे स्वास्थ्य मन्त्रालयले स्थायी चिकित्सक पठाएपछि अस्पतालबाट बाहिरिन बाध्य भएका थिए ।

उनीहरुलाई बिना प्रतिस्पर्धा नियुक्त गरेको विषयमा हेल्थआवाजले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ । सोही समाचारलाई आधार बनाएर मन्त्रालयले स्पष्टीकरण सोधिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेले बताए । ‘हामीले चिकित्सक नियुक्ति गरेको विषयमा जवाफ पेश गर्न भनेको छौं,’ उनले भने, ‘अस्पतालले जवाफ पठाएपछि थप विषय अगाडि बढनेछ ।’

भर्ति केन्द्र नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भर्ति केन्द्र नबनाउन कोशी अस्पताललाई निर्देशन दिएका छन् ।

कोशी अस्पताल विकास समिति अध्यक्ष डा. सिलवाल र मेसु डा.रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचारी नियुक्त गरेर भर्ति केन्द्र बनाउन बन्द गरिनुपर्ने बताएका हुन् ।

बिहीबार कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तार सम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मीहरु नियुक्त गर्न निर्देशन दिए । ‘अध्यक्ष र मेसु साब पनि यही हुनुहुन्छ, दुवै जनालाई म भन्छु’ उनले भने, ‘जोसँग चिनजान छ, त्यसैलाई भर्ति गर्ने काम आजैबाट बन्द गर्नुहोस् । विज्ञापन गरेर मात्रै खुल्ला प्रतिस्पर्धाबाट चिकित्सक नियुक्ति गर्नुहोस् ।’

मन्त्री पौडेलले स्वास्थ्य संस्थामा कुनै पनि नियम रहेन भने यो देशमा कतै पनि नियम नरहने बताए । ‘त्यसैले न्यूनतम नियमको पालना गरेर काम गर्नुहोस् । नियमभन्दा बाहिर गएको कुरा मैलै भनेको पनि नमान्नुहोस्,’ उनले भने, ‘म यस कुराको अनुरोध गर्न चाहन्छु ।’

उनले विकास समितिको आम्दानी पारदर्शी बनाउन पनि निर्देशन दिए । मन्त्री पौडेलले विकास समितिले गर्ने खर्च पनि पारदर्शी हुनुपर्ने बताए । ‘अस्पतालको आम्दानी र खर्च कसरी भयो जनताले देख्ने र सुन्ने गरि प्रष्ट ढंगले राख्नुहोस्,’ उनले भने, ‘कुन शीर्षकमा कति पैसा लिनुभएको छ । त्यो कुरा पनि प्रष्ट ढंगले राख्नुहोस् ।’

अस्पताललाई मागी खाने भाडो नबनाउ : स्वास्थ्य सचिब

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाडो नबनाउन आग्रह गरेका छन् । उनले जनतालाई सेवा दिन ठाउँ बनाउनुपर्नेमा जोड दिए । ‘अस्पतालमा केही बिग्रियो भने हामीले भन्ने मेसु र अध्यक्षलाई हो । कोशी अस्पताल देशको अस्पताल हो । भएको साधन स्रोतको भरपुर उपयोग गरेर सेवा दिनु पर्दछ,’ उनले भने, ‘काम गर्नुभएको छ । अझै परिष्कृत भएर काम गरिदिनुभयो भने जनताले सहज सेवा पाउने थिए ।’ अस्पतालको भवन निमार्णमा तिव्रता दिनको लागि स्थानीय जनप्रतिनधीहरुले पनि दबाव दिनुपर्ने उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ