२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ग्रीनक्रस हस्पिटल संकटमा : सुरक्षा गार्डको २ लाख ७५ हजार रुपैयाँ पारिश्रमिक दिन आलटाल

ग्रीनक्रस हस्पिटल संकटमा : सुरक्षा गार्डको २ लाख ७५ हजार रुपैयाँ पारिश्रमिक दिन आलटाल

करार सम्झौताअनुसार भुक्तानी दिन अदालतको फैसला


विराटनगर-विराटनरमा रहेको ग्रीनक्रस हस्पिटलले ९ वर्ष अघि काम गरेको १३ जना सुरक्षा गार्डको साढे २ लाख रुपैयाँभन्दा बढी रकम दिन आलटाल गर्दै आएको पाइएको छ ।विराटनगरमा रहेको विराट गोर्खा सेक्युरिटी प्रालिसँग हस्पिटलले करार सम्झौता गरेर काम लगाएबापतको १३ जना सुरक्षा गार्डको २ लाख ७५ हजार ७६३ रुपैयाँ दिन हस्पिटलले वर्षौदेखि आलटाल गर्दै आएको हो ।

अस्पतालका तत्कालीन संचालक विराटनगरका चर्चित फिजिसियन डा. दिपक सिग्देलसहित १४ जना संचालक रहेको बेला सुरक्षा गार्डले काम गरेबापतको दुई महिनाको पारिश्रमिक दिनुपर्ने देखिएको छ ।

२७ जेठ २०६८ मा विराट गोर्खा सेक्युरिटी प्रालिसँग सम्झौता भएपछि हस्पिटलको सुरक्षाको लागि १३ जना सुरक्षा गार्ड डियुटीमा खटिएका थिए । उनीहरुलाई मासिक ८ हजार रुपैयाँ तलब दिने सर्तमा विराट गोर्खा सेक्युरिटीसँग करार सम्झौता भएको थियो । सम्झौताअनुसार २०७३ साल असार मसान्तसम्मको सुरक्षा गार्डले तलब नपाएको प्रालिका संचालक रामकुमार श्रेष्ठले बताए ।

त्यसबेला संचालकहरुबीच विवाद भएपछि डा. दिपक सिग्देल ग्रीनक्रस छोडेर सप्तकोशी हस्पिटल गएका थिए । त्यसपछि अहिले नयाँ व्यवस्थापनको साथ कृष्णकुमार खवासले हस्पिटल चलाउँदै आएका छन् । करार सम्झौताअनुसार सुरक्षा गार्डको तलब नपाएपछि गोर्खा सेक्युरिटी प्रालिका संचालक श्रेष्ठले ग्रीनक्रस हस्पिटल, हस्पिटलका तत्कालीन संचालक कृष्ण खवास र डा. दिपक सिग्देललाई विपक्षी बनाएर २०७९ जेठ १२ गते मोरङ अदालतमा करार बमोजिमको तलब रकम भराई पाऊ भनेर मुद्दा दायर गरे । अदालतमा मुद्दा दायर भएको दुई वर्षपछि मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालले हस्पिटललाई करार सम्झौता बमोजित सुरक्षा गार्डको तलब दिनुपर्ने भन्दै २०८१ जेठ २४ गते फैसला गरेको छ ।

अदालतले गरेको फैसला दुई महिना बितिसक्दा पनि अहिलेसम्म सुरक्षा गार्डले काम गरेबापतको पारिश्रमिक हस्पिटलबाट नपाएको विराट गोर्खाका संचालक श्रेष्ठले बताए । ‘अदालतले फैसला गरेपछि सुरक्षा गार्डको पारिश्रमक दिनुपर्यो भन्दै हस्पिटल गयौं । अहिले नयाँ व्यवस्थापनमा हस्पिटल संचालन भएको रहेछ । अहिले आएर हस्पिटलले आधा मात्रै पैसा दिन्छु भन्दै आएको छ । हामीले सम्झौताअनुसार सुरक्षा गार्डले काम गरेको पैसा दिनुपर्छ भन्दै आएका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म पैसा पाएको छैन ।’

नयाँ व्यवस्थापनका साथ खवासले जिम्मेवारी लिएर हस्पिटल संचालनमा आएपनि चरम आर्थिक संकटमा छ । अहिले पनि कर्मचारीहरुलाई हस्पिटलले तलब खुवाउन समस्या हुने गरेको हस्पिटलमा कार्यरत एक जना कर्मचारीले बताए । ‘२–३ महिनादेखि हामीले काम गरेको पारिश्रमिक पाउन सकिएको छैन । काम नियमित गर्दै आएका छौं । तर, हस्पिटलले तलब नदिएको तीन महिना हुन लागि सक्यो,’ एक जना कर्मचारीले भने ।

यता हस्पिटलका संचालक कृष्ण खवासले पुरानो हिसाब भएको कारणले छलफल गरेर विराट गोर्खा सेक्युरिटी कम्पनीलाई भुक्तानी गर्ने बताए । ‘यो पुरानो हिसाब हो । विराट गोर्खा सेक्युरिटी कम्पनीका संचालकसँग मेरो कुराकानी पनि भइरहेको छ । हामीले नदिने भनेको छैनौं । पुरानो हिसाब भएकोले छलफल गरेर एउटा निचोड निकालेर भुक्तानी दिने भनेका छौं,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ