२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बढी बिल देखाएर भुक्तानी लिन खोज्ने अस्पताललाई कारवाही गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

बढी बिल देखाएर भुक्तानी लिन खोज्ने अस्पताललाई कारवाही गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता


विराटनगर—१० वर्षमुनिका बालबालिकाको उपचार गरेको भन्दा बढी रकमको बिल बनाएर कोशी प्रदेश सरकारबाट करोडौं रुपैयाँ लिने ६ अस्पतालको प्रयास असफल भएको घटनामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । शुक्रबार १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रमपछि अन्तरक्रियामा उनले यो घटनामा आवश्यक छानविन गरी कारवाही हुने बताएका छन् ।

मुख्यमन्त्री कार्कीसँग हेल्थआवाजकर्मीले ६ वटा हस्पिटलले फर्जी बिल पेश गरी भुक्तानीको लागि दाबी पेश गरेका छन्, उनीहरुलाई अब के कारवाही हुन्छ ? भनेर सोधेको प्रश्नमा मुख्यन्त्रीले भने, ‘१० वर्षमुनिका बालबालिकाको उपचारमा बढी बिल पेश भएको विषयमा मेरो पनि नोटिसमा रहेको छ । यस विषयमा सम्बन्धित मन्त्रालयले आवश्यक काम कारवाही गर्दै आएको छ, थप छानविनपछि कारवाही हुनेछ । अहिले प्रक्रियामा रहेको छ ।’

शुक्रबार विहान हेल्थआवाजले विराटनगरको नोबेल मेडिकल कलेज, झापाको दमकस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, मेची प्रादेशिक अस्पताल भद्रपुर, उदयपुर र संखुवासभा अस्पताल र विराट मेडिकल कलेजले फर्जी बिल पेश गरेर थप २ करोड १८ लाख ८१४ रुपैयाँ ५८ पैसा बढी लिने प्रयास असफल भएको समचार प्रकाशित गरेको थियो । त्यसपछि मुख्यमन्त्रीले यस घटनामा चासो देखाएका हुन् ।

६ वटा अस्पतालले चार महिनामा ८ हजार २१३ जना बालबालिकाको उपचार गरेको बिल परीक्षण गर्दा २ करोड १८ लाख ८१४ रुपैयाँ १६ पैसा रकम बढी भुक्तानीको लागि दावी गरेको पाइएको छ । ६ वटा अस्पतालले ६ करोड ९७ लाख १३ हजार ६४२ रुपैयाँ २३ पैसा भुक्तानीको लागि दाबी पेश गरेका थिए ।

तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डबाट दक्ष कर्मचारीहरु ल्याएर एक हप्तासम्म उपचार गरेको बिल अध्ययन गर्दा ८ हजार २ सय ९७ जना बिरामीको उपचार गर्दा स्वास्थ्य बीमाको दररेट अनुसार ४ करोड ७९ लाख १२ हजार ८२८ रुपैयाँ ७ पैसाको मात्रै उपचार गरेको पाइएपछि सोही अनुसार भुक्तानी दिनुपर्ने सुझाव दिएको थियो । त्यही सुझावअनुसार स्वास्थ्य मन्त्रालयले उपचार गरेको हस्पिटलहरुलाई सम्बन्धित स्वास्थ्य कार्यालयहरु मार्फत गत असार मसान्तमा भुक्तानी गरेको देखिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ