२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एचआईभी एड्स रोकथाम र नियन्त्रणमा सरोकारवालाहरूको जोड

एचआईभी एड्स रोकथाम र नियन्त्रणमा सरोकारवालाहरूको जोड


विराटनगर—एचआईभी एड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतनासँगै बजेट पनि पर्याप्त बिनायोजन गरिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । बुधबार स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र एचएफ नेपालको आयोजनामा विराटनगरमा भएको विकेन्द्रीकृत बजेट विनियोजन तथा एचआईभी एड्स कार्यक्रम र वस्तुहरूको लागि खरिद संयन्त्र सम्बन्धी कार्यशालामा सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले एचआईभी एड्स न्यून गर्ने नीतिका साथ कार्यक्रम लक्षित गरेर अगाडी बढनुपर्नेमा जोड दिए । एचआईभी एड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिनुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. राधिका थपलियाले एचआईभी रोकथाम र नियन्त्रणको लागि पाँच वटा विषयलाई स्पष्ट गरेर अगाडि बढनुपर्ने बताइन् । उनले डकुमेन्टमा काम गर्नेको क्षमतामा अभिवृद्धि गरिनुपर्ने र मोनिटरलाई प्रभावकारी बनाएर अगाडि बढाउनुपर्ने बताइन् । एचआईभीको कार्यक्रम थुप्रै हुँदा पनि सचेतनालाई प्रभावकारी बनाएर अगाडि बढाए मात्रै यसको रोकथाम र नियन्त्रण हुने उनको भनाइ छ ।

नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विथ एचआईभी महासंघ ( एनएपिप्लसएन) कोशी प्रदेशका सुपरभाइजर रोमनकुमार राईले प्रदेशमा ४ हजार बढी एचआईभी संक्रमित रहेको जानकारी दिदैं २ हजार ४ सय ७ जनाले नियमित औषधि सेवन गर्दै आएको बताए । जसमध्ये ८७ जना एचआईभी संक्रमित बालवालिका रहेको उनले बताए । एचआईभी संक्रिमतको शल्यक्रिया कोशी अस्पतालबाट नहुँदा उपचारबाट बन्चित हुनुपरेको उनको गुनासो थियो । ‘अहिले पनि एचआईभी संक्रिमतको शल्यक्रिया कोशी अस्पतालमा हुँदैन । यसरी संक्रमितहरुको शल्यक्रिया नहुँदा रोग पालेर बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘शल्यक्रिया गरिनुपर्ने संक्रमितहरु धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा जानुपर्ने अवस्था छ ।’ कोशी अस्पतालमा संक्रमितको शल्यक्रियाबाहेकको मात्रै स्वास्थ्य उपचार हुने गरेको छ । राज्यले सबै सरकारी अस्पतालहरुमा संक्रमितहरुको शल्यक्रिया हुने व्यवस्था गरिनुपर्ने उनले माग राखे ।

एनसीएसीका निर्देशक सर्वेस शर्माले एआरटीमा पठाएको उपकरणहरु गुणस्तरीय भए उपचारमा सहज हुने बताए । उनले एआरटीमा पठाएको उपकरण त्यही हुनुपर्ने बताए । ‘अहिले एआरटीमा पठाएको उपकरणहरु हाकिमको कोठामा राखिएको पाइएको छ,’ उनले भने, ‘यो विकृती हो । यस्तो कार्य कसैले पनि गर्नु हुँदैन् ।’

एचएफ नेपाल निर्देशक दिब्यराज जोशीले आफूहरु नेपाल सरकारसँग मिलेर एचआईभी एड्स रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा एआरटी सेन्टरलाई अझ परिस्कृत गर्दै अघि बढ्न आफूहरु सदैव तयार रहेको बताए । अहिले कोशी अस्पताल र भद्रपुर अस्पतालबाट एचएफ नेपालको सेवा सुरु भएको उनले जानकारी गराए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिर्नेशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहतालगायतले बोलेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ