२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम

अस्पतालबाट श्रीमतीको शव छुटाउन ऋण खोज्दै उमेश राम

फार्मेसीको मात्रै ८ लाख रुपैयाँको बिल


विराटनगर—सप्तरीको बलानबिहुल गाउँपालिका–२ का ४० वर्षीय उमेश राम नसुतेको तीन दिन भयो । उनकी ४० वर्षीया श्रीमती श्याम रामको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएपछि शव लैजान नपाएको कारण उनलाई निन्द्रा लाग्न छोडेको छ ।

५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका–१ मा श्यामलाई ठक्कर दिएपछि घाइते भएकी थिइन् । परिवारले उनलाई उपचारको लागि विराट नर्सिङ होममा ल्यायो । उपचारको क्रममा ३ वैशाखमा मृत्यु भयो ।

आर्थिक अवस्था नाजुुक रहेको रामको उपचारमा १२ लाख रुपैयाँ खर्च भएको उमेशले बताए । हस्पिटलबाहेक फार्मेसीको मात्रै ८ लाख रुपैयाँको बिल आएको उनले सुनाए । हस्पिटलको १२ लाख रुपैयाँमध्ये साढे चार लाख रुपैयाँ र फार्मेसीको ८ लाखमध्ये तीन लाख रुपैयाँ दिएको बताए । ८ लाख रुपैयाँ दिए मात्रै हस्पिटलले शव घर लैजान दिने बताउँदै आएको उनले बताए ।

‘भएको सम्पत्ति र ऋण खोजेर श्रीमतीको उपचारमा ७ लाख रुपैयाँ बुझाइसके । अब आउने स्रोत पनि केही छैन । भएको सम्पत्ति पनि बेचेर श्रीमतीको उपचारमा सकियो,’ उनले भने, ‘अस्पताल र फार्मेसीको सम्पूर्ण भुक्तानी नतिरे शव लैजान नदिने भन्दैछन् ।’

श्रीमतीको अन्तिम संस्कार पनि गर्न नपाएर पछुतो भएको उनले सुनाए । ‘मैले हस्पिटल प्रशासनमा पनि पुगेर भएको पैसा दिइसके । कतै ऋण पाए ल्याएर दिने सहमति कागज गरेर श्रीमतीको शव दिएपनि अन्तिम संस्कार गर्ने थिएँ,’ उनले भने ।

सप्तरी प्रहरीले दुर्घटना गराउने चालक श्रवण सदाहीलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । उनको पनि आर्थिक अवस्था नाजुक भएकाले अहिलेसम्म उपचार खर्च पनि नदिएको उनले बताए ।

यता विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले अस्पताललमा लागेको खर्च भुक्तानी गरेमा मात्र शव पठाइदिने बताए । ‘अस्पतालमा पनि यति धेरै खर्च हुन्छ । यसरी नै सबै बिरामीलाई हामीले निःशुल्क उपचार गर्दै पठाए कहाँबाट हस्पिटल चल्छ ?,’ उनले भने, ‘उपचारमा बरु छुट हुन्छ । तर, निःशुल्क गर्न सकिदैन् ।’

सहयोगको अपिल

उमेश रामले श्रीमतीको शव अस्पतालबाट लैजानका लागि सहयोगको याचना गरेका छन् । आइतबार उनले विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमतीको शव अस्पतालबाट लगेर अन्तिम संस्कार गर्नको लागि सहयोगको आग्रह गरेका हुन् ।

‘म सँग भएको सबै पैसा सकियो । अस्पतालले भने जति पैसा दिन नसक्दा अहिले श्रीमतीको शव लैजान पाएको छुइन्,’ उनले भने, ‘श्रीमतीको शव घरमा लगेर आफ्नो संस्कारअनुसार अन्तिम संस्कार गर्नको लागि सरोकारवाला निकाय, समाजसेवीदेखि सम्पूर्णमा आग्रह गर्दछु । ’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ