संखुवासभाको पाँचखपनकी १८ वर्षीया सीता कार्की (नाम परिवर्तन) रोजगारको लागि तराई झरिन् । साथीसँग सुनसरीको इटहरी आएकी उनी सामान्य लेखपढ गरेकी हुन् । सीताले इटहरीको एक होटलमा काम गर्न थालिन् । काम राम्रै चलेको थियो । त्यही क्रममा होटलमा आउने ग्राहकसँग उनको प्रेम अकुंरायो । लामो समयसम्म प्रेममा रहेका उनीहरूबीच शारीरिक सम्पर्क भएपछि गर्भ बस्यो ।
समाजमा बेइज्जत हुने डरले अनिच्छित गर्भ तुवाउने निर्णायमा पुगिन् । गर्भपतनका लागि औषधी पाइन्छ भन्ने सुनेकी उनले नजिकको मेडिकल पसलमा पुगिन् । चिकित्सकको सिफारिस बेगर मेडिकलबाट औषधी किनेर सिधैं प्रयोगमा ल्याउँदा उनको स्वास्थ्यमा समस्या आयो ।
औषधी सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो । गर्भपतन भयो भनेर उनी ढुक्क भइन् । तर, लामो समयसम्म रक्तस्राव रोकिएन् । कमजोरी महसुस हुँदै गयो । अत्याधिक रक्तस्रावले ज्वरो, रगतमा हेमोग्लोबिन र आइरनको कमी भएपछि १५ असारबाट विराट मेडिकल कलेजमा ल्याए । अस्पताल आइपुग्दा धेरै ढिलो भएर उनको अत्याधिक रक्तस्राव भएर हेमोग्लोबिनको मात्र एकदमै कम थियो । अत्याधिक रक्तस्रावकै कारण एक घण्टा नपुग्दै उनको मृत्यु भयो । अस्पतालका अनुसार उनले गर्भ तुहाउने औषधी जथाभावी सेवन गरेकी थिइन् ।
तेह्रथुम म्याङलुङ्ग नगरपालिका घर भई मोरङको सुन्दरहरैचा नगरपालिकामा बैहनीको घरमा बस्दैं आएकी ३७ वर्षीया रीमा राई (नाम परिवर्तन)को गाउँकै एक जना युवासँग प्रेम सम्बन्ध बस्यो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै गयो । रीमा गर्भवती भएपछि ती युवा विस्तारै टाढिँदै गए । प्रेमीले धोका दिएपछि रीमा गर्भपतन गराउन बाध्य भइन् । उनले ८ मंसिर २०८० मा गाउँमै रहेको मेडिकलबाट गर्भपतन गराउने औषधी ल्याएर खाइन् । औषधी सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो ।
गर्भपतन भयो भनेर उनी ढुक्क भइन् । तर, लामो समयसम्म रक्तस्राव रोकिएन् । कमजोरी महसुस हुँदै गयो । उनी भित्रभित्रै डराउन थालिन्, चिन्तित भइन् र कोठामा बेहोस अवस्थामा उनकी दिदीले भेटिन् । हतार–हतार उनलाई बेलवारीस्थित नोबेल सामुदायिक हस्पिटलमा पु¥याइयो । त्यहाँ उपचार सम्भव नहुने बताएपछि तत्काल बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेजमा ल्याए । यहाँ पु¥याएको केही घण्टामा उनको मृत्यु भयो ।
प्रेमका नाममा बिहे अगावै शारीरिक सम्पर्क राख्ने र प्रेमीले धोका दिएपछि चिकित्सकको सिफारिस बेगर आफूखुसी असुरक्षित तरिकाले गर्भपतन गराउने प्रवृत्तिका कारण महिलाको ज्यान गएका माथिका दुई त प्रतिनिधीमूलक घटनामात्र हुन् । यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् ।
चिकित्सककाअनुसार बिहेअघिको शारीरिक सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिष्कारमा पर्ने डरले लुकीछिपी असुरक्षित गर्भपतन गराउँदा ज्यानै जोखिममा पर्ने चिकित्सकहरु बताउँछन् । बिहेअघिको सम्बन्धबाट रहेको गर्भपतन गराउन मेडिकल पसलबाट जथाभाबी औषधी किनेर खाने प्रवृत्ति पनि बढेको छ ।
अनिच्छित गर्भ तुहाउन प्रयोग हुने औषधी चिकित्सकको सिफारिस बेगर हचुवाको भरमा बिक्री गर्दा महिलाको स्वास्थ्य अवस्था जोखिम मात्र भएको छैन ज्यानसमेत जाने गरेको छ । यसले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । कतिपय महिला मृत्युको मुखमा पुगेका छन् ।
ठिक समयमा उचित तरिकाले औषधी प्रयोग गर्न नजान्दा मेडिकल भाषामा ‘इन्कम्प्लीट एवर्सन’ भन्ने गम्भीर समस्या सिर्जना हुने गरेको छ । ‘गाउँ–सहर जताततै हचुवाको भरमा यति संवेदनशील औषधी खुलेआम बिक्री भइरहेको छ,’ कोशी अस्पतालको गाइनो वार्डका प्रमुख तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. अन्जु देवले भनिन्, ‘मनपरी औषधी सेवनले जटिल समस्या निम्त्याएपछि उनीहरू अस्पताल आइपुग्छन् ।’ पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ‘इन्कम्प्लीट एवर्सन’ भएर आएका बिरामीको संख्या हेर्दा पनि औषधीको दुरुपयोगले दृश्य स्पष्ट झल्कन्छ । चालु आर्थिक वर्षमा एक दर्जन बढी महिला असुरक्षित गर्भपतन गरेपछि स्वास्थ्य समस्या लिएर कोशी अस्पतालमा आएको यहाँका चिकित्सक बताउँछन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था, निजी अस्पताल र मेडिकलमा पुग्नेको संख्या योभन्दा धेरै गुणा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
कोशी अस्पतालको गाइनो वार्डका प्रमुख डा. देवका अनुसार यसरी आउने बिरामीमा अत्याधिक रक्तस्राव र पाठेघर संक्रमणको समस्या बढी हुन्छ । ‘सही तरिकाले प्रयोग गर्ने हो भने त औषधीले समस्या निम्त्याउँदैन, प्रभावकारिता पनि राम्रै हुन्छ,’ उनले भनिन्, ‘तर, यो औषधीलाई मेडिकलहरूले जथाभावी बेच्दा नकारात्मक असर देखिरहेको छ ।’
चिकित्सकको ‘प्रेस्क्रीप्सन’ बिना बेच्न नमिल्ने यो औषधी सहरदेखि गाउँसम्म झाँगिएका मेडिकल तथा फार्मेसीहरुमा खुलेआम बेचिन्छ । फार्मेसी तथा मेडिकल सञ्चालकले बिरामीको स्वास्थ्य परीक्षण र गर्भवती जाँच नगरिकनै औषधी दिन्छन् । औषधी प्रयोग गर्ने तरिका र यसको प्रभावबारे राम्ररी बुझाउने फुर्सद उनीहरुसँग हुँदैन् । यसले गर्दा गलत तरिकाले औषधी सेवन गरेका गर्भवती महिला मृत्युवरण गर्न बाध्य हुन्छन् ।
खुलमखुला चलिरहेको अवैध धन्दामा औषधीको मूल्य पनि मनोमानी छ । मेडिकलले गर्भ तुहाउने औषधीको एक हजारदेखि दुई हजार रुपैयाँसम्म लिन्छन् । यसको खास मूल्य भने करिब ८ सयमात्र हो ।
स्वास्थ्य मन्त्रालय भने यो औषधी प्रयोगको लागि नीतिगत व्यवस्था भएपनि कार्यान्वयनमा चुनौती भएको बताउँछ । मन्त्रालयअन्तर्गत परिवार महाशाखाका अनुसार सुरक्षित गर्भपतन निर्देशिकामा चिकित्सकको ‘प्रेस्क्रीप्सन’ र तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थिती बिना उक्त औषधी दिन मिल्दैन् । औषधी पसल सञ्चालनका लागि दिइने अनुमतिपत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्क्रीप्सन’ बिना यो औषधी बेच्न नमिल्ने उल्लेख गरिएको छ । कानुनी रूपमा स्पष्ट भएपनि यो औषधिको अवैध कारोबार ठूलो चुनौती बनेको मन्त्रालयको भनाइ छ ।
सचेतनाको कमी
गर्भपतन रहरले गराउने होइन, यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन् ।
गर्भपतन गराउने केही विधी प्रचलित छन् । ती सुरक्षित विधि हुन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन् । असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी पनि भएको चिकित्सक बताउँछन् । ‘सहरमा आफूखुसी पसलबाट किनेर गर्भपतन गर्ने पिल्सको व्यापक दुरुपयोग भइरहेको छ,’ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साह भन्छन्, ‘यसले अत्याधिक रक्तस्राव मात्र नभएर पाठेघर फुट्नेजस्ता ज्यान जोखिममा पर्ने घटनाहरू बढ्दो छ ।’ सहरदेखि गाउँ सबैजसो औषधी पसलहरूमा जुनसुकै उमेर समूहका, जोसुकैले पैसा तिरेपछि चिकित्सकीय पुर्जाबिना पाउने किसिमले गर्भपतनका औषधीहरूको खुलेआम बिक्री वितरण भइरहेको छ । चिकित्सकको पुर्जाबिना यस्ता औषधी बिक्री वितरण गर्नेलाई कानुनअनुसार न्यूनतम पाँच वर्ष कैद र जरिवाना वा दुवै सजाय हुन सक्छ ।
के छ कानुन ?
गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद ४ मा सुरक्षित गर्भपतनसम्बन्धी विभिन्न व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् । यो ऐनले २८ हप्तासम्मको गर्भ पनि गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ ।
जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा, भ्रुणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंणाशुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था भएमा मात्र २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृती दिएको छ । यस ऐनले बलपूर्वक गराउने गर्भपतन र लिङ्ग पहिचान गरी हुने गर्भपतनलाई अपराध मानेको छ ।
के छ सजाय ?
मुलुकी अपराध संहिता ऐनले गैरकानूनी रूपमा या असुरक्षित गर्भपतन गर्ने र गराउनेलाई सजायको व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् । तर, महिलाको मञ्जुरी बेगर जवरजस्ती १२ हप्तासम्मको गर्भपतन गरे १० हजार रुपैयाँ जरिवाना र एक वर्षको जेल सजाय हुने कानूनी व्यवस्था छ ।
यसैगरी, २५ हप्तासम्मको गर्भपतन गरे ३० हजार रुपैयाँ जरिवाना र तीन वर्षको जेल, २५ हप्ताभन्दा माथिको गर्भपतन गरे ५० हजार रुपैयाँ जरिवाना र ५ वर्षको जेल सजाय ऐनले तोकेको छ । गर्भमा भएको भ्रुणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेलाई ऐनले झन् बढी सजाय तोकेको छ ।
ऐनमा उल्लेख छ, ‘गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्ष कैद हुनेछ ।’