विराटनगर—नेपाल नेत्रज्योति संघ पूर्वान्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । बुधबारसम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीहरुको पनि निःशुल्क शल्यक्रिया गरिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले जानकारी दिइन् ।
जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविर मार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरुलाई निःशुल्क चश्मासमेत वितरण गरिएको विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले बताए ।
शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरुलाई विराटनगर आँखा अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरिएको थियो । आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निःशुल्क आँखा उपचार सेवा पाएका थिए ।
शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाहरुका साथै सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको अस्पतालका प्रबन्धक कुमार पृथु बताउँछन् ।
विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रीति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो । नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल २ वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र संचालनमा छन् ।