विराटनगर—विराटनगरस्थित कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पाँच वटा नयाँ परीक्षण सेवा सुरू भएका छन् । सोमबारदेखि प्रयोगशालामा थप पाँच वटा परीक्षण सेवा सुरु गरिएको हो ।
नयाँ थपिएका सेवाको उद्घाटन कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले गरिन् । प्रयोगशालामा हेपटाइटिज बी, सी, पाठेघरको क्यान्सरको जाँच पनि अब प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सुरू भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवलले बताए । पाठेघरको क्यान्सरको जाँच पिसिआर प्रविधीबाट गरिने उनले बताए ।
यस्तै, एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रोबायोलोजी कल्चर सेवाको पनि परीक्षण गरिन सुरु गरिएको उनले बताए । नयाँ सुरु भएका सेवाहरुको परीक्षण प्रदेश जनस्वास्थ्य ल्याबको आधुनिक उपकरणहरूबाट परीक्षण हुने उनले बताए । ‘यसअघि प्रदेशबाट हुने यी सेवाहरु लिन बाहिर जानुपर्ने र चर्को शुल्क खर्चिनुपर्ने अवस्था थियो,’ उनले भने, ‘कोशी प्रदेशका बिरामीले स्थानीयस्तरमा गुणस्तरीय सेवा अब पाउनेछन् ।’
गत मंसिर २१ गते तीन तले सुविधासम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब परीक्षण हुँदै आएको छ । यहाँ रक्त समूहबाट गरिने हेमाटोलोजीको परीक्षण हुने गरेको छ । यसबाट धेरै प्रकारको रोगको परीक्षण गर्न सकिने बताइएको छ ।
प्रयोगशालामा तीन वटा शाखाहरु छन् । एउटा नसर्ने रोगमा युरिक एसिड, कलेजो, मुटु, मिर्गौलाको रोग, जन्डिस, सुगरका रोग परीक्षण हुने गरेको छ । तेस्रो तलामा सरुवा रोगहरुको परीक्षण हुने शाखा रहेको छ । जसमा एचआई, हेपाटाइटिस, डेंगी, कालाजार, मलेरियालगायतका रोगको परीक्षण हुने गरको छ । यो सँगै कोभिड—१९ को पिसिआर परीक्षण पनि हुने गर्दछ ।
प्रयोगशाशालामा आर्थिक वर्ष २०७९/२०८० को चैत्र महिनासम्म ४ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण गरेको जनाएको छ ।