२०८१ पुस २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा फोहोर निर्मुलीकरण गर्ने ४ करोडको उपकरण, फोहोर बिक्री गरेर एक लाखसम्म आम्दानी

कोशीमा फोहोर निर्मुलीकरण गर्ने ४ करोडको उपकरण, फोहोर बिक्री गरेर एक लाखसम्म आम्दानी


विराटनगर—सरकारी अस्पतालमा फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । जथाभावी हुने फोहोरबाट आउने दुर्गन्धले बिरामीसमेत हैरान भएका हुन्छन् ।

तर, प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीबाट निस्किने कुहिने फोहोरबाट बायोग्यास र नकुहिने फोहरलाई निर्मुलीकरण गरेर आम्दानीको स्रोत बनाएको छ । यसबाट फोहोरको समस्या निराकरण हुनुका साथै अस्पताललाई सस्तो ऊर्जा र आम्दानी पनि भएको छ ।

कोशी अस्पतालले फोहोर बिक्री गरेर यसअघि ८ हजार रुपैयाँ आम्दानी गरिसकेको छ । विगतमा अस्पतालमा उत्सर्जन हुने फोहोर त्यतिकै फाल्ने गरेकोमा त्यसबाट आम्दानी लिने गरी अस्पताल प्रशासनले व्यवस्थापन गरेपछि कमाइ हुन थालेको हो ।

अस्पतालको सुधारमा क्रियाशील रहेका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.लक्ष्मीनारयण यादवले अस्पतालबाट उत्सर्जन हुने फोहोरलाई छुट्याएर बिक्री योग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाएका हुन् ।

अस्पतालबाट निस्किने फोहोर निर्मुलीकरणको लागि ४ करोडको ‘अटोक्यालेप सेडर’ उपकरण युएनडीपीले दिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी युएनडीपीका प्रतिनिधीहरूले अस्पतालका मेसु डा. यादवलाई उक्त उपकरण हस्तान्तरण गरेको हुन् । ‘अस्पतालले कुहिने फोहोरबाट बायोग्यास र नकुहिने फोहर बिक्री गर्न थालेको छ,’ मेसु डा. यादवले भने ।

फोहोर बिक्री गरेर मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुन सक्ने अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिृकत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालमा प्रयोग हुने स्लाइनका खाली बोतल, पाइप, सिरिन्ज, निडिलजस्ता वस्तु छुट्याएर राखेको छ ।

‘अस्पतालको तीन वटा विभागको फोहोर अहिले भेला पार्ने गरिएको छ,’ उनले भनिन्, ‘मेडिकल, आईसीयु र डायलाइसीस विभागबाट निस्किने फोहोर भेला पार्ने गरिएको छ । त्यहाँको फोहोर निर्मुलीकरण गरी बिक्री गर्न थालेका छौ ।’ अहिले पनि ३० देखि ४० केजी फोहोर बिक्रीको लागि तयारी गरिएको उनले बताइन् । कार्टुन २५ र प्लाष्टिक २० रुपैयाँ केजी बिक्री हुने गरेको छ । सिरिन्ज अलिक बढीमा बिक्री हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचार गराउने बिरामी र कुरुवाहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य वस्तु तथा बोतलहरुसमे संकलन गरेर अस्पतालले आम्दानी लिन थालेको हो । विगतमा अस्पतालबाट बोतललगायतका वस्तु कवाडी संकलन गर्नेहरुले लैजाने गरेका थिए । अब कवाडी संकलकहरुलाई प्रवेश गर्न रोक लगाएको अस्पताल प्रशासनले जनाएको छ ।

कोशी अस्पतालले प्रसुतिका क्रममा उत्सर्जन हुने फोहोर तथा सालनाल, शल्यक्रियाबाट निस्किने ट्युमर आदि वस्तुबाट जैविक ग्यास उत्पादन गरी लाभ लिदै आएको छ । अस्पतालबाट उत्सर्जन हुने फोहोर विसर्जनमा समस्या रहेको र सुरक्षित इन्सिनेरेटर नभएको बेला फोहोर बिक्री गरेर आम्दानी गर्ने उपाय प्रभावकारी हुने अस्पतालको बुझाइ छ ।

अस्पतालको फोहोर उठाउने कर्मचारीलाई मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो । यसरी फोहोर बिक्री हुन थालेपछि अस्पतालको खर्च घटने भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ