२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा डेंगु संक्रमण बढ्दैं

प्रदेश १ मा डेंगु संक्रमण बढ्दैं

तराईंभन्दा पहाडी जिल्लामा धेरै, युवा उमेर समूहलाई बढी


विराटनगर—प्रदेश नम्बर १ मा डेंगु संक्रमण बढ्दैं गएको छ । १४ जिल्ला रहेको प्रदेशको तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा यसको संक्रमण बढ्दै गएको देखिएको छ ।

साउनदेखि असोज २९ सम्म १ हजार ३ सय ७२ जनामा डेंगु संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

डेंगु संक्रमण तराईका जिल्लाका तुलनामा पहाडी र हिमाली जिल्लामा बढ्दै गएको छ । स्वास्थ्य निर्देशक बस्नेतका अनुसार प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा २ सय ८० जनामा संक्रमण देखिएको छ । सबैभन्दा कम इलाममा दुई जनामा संक्रमण देखिएको छ । हालसम्म प्रदेशमा डेंगु संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

हालसम्म मोरङमा १ सय ३६, झापामा ९३ र उदयपुरमा ५७ जनामा डेंगु संक्रमण देखिएको छ । प्रदेशका पहाडी जिल्लामध्ये तेह्रथुममा सबैभन्दा बढी १ सय ६४ जनामा डेंगु देखिएको छ । त्यस्तै, संखुवासभामा १ सय ४४, धनकुटामा १ सय १६, ओखलढुंगामा ५५, पाँचथरमा ४०, भोजपुरमा १२, सोलुखुम्बुमा १८, खोटाङमा १ सय ५७ जनामा डेंगु संक्रमण पाइएको निर्देशक बस्नेतले जानकारी दिए ।

सबैभन्दा बढी युवा उमेर समूहमा डेंगु संक्रमण देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अहिले डेंगु सक्रमण १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूमा बढी देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानका असिष्टेन्ट प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले बताए । १६ देखि ३५ उमेर समूहका युवाहरू बढी चहलपहलमा गर्ने भएको कारणले उनीहरुमा संक्रमण बढी देखिएको डा. उराँवको भनाइ छ ।

डेंगु दुई वर्षका बालवाकिलाहरुमा पनि देखा परेको उनले बताए । ६० वर्षभन्दामाथि उमेर समूहकामा भने संक्रमण कम देखिएको उनले अनुभव सुनाए ।

विराटनगरमा ‘डेंगु खोज र नष्ट’ अभियान सुरू

प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा डेंगु संक्रमण बढ्न थालेपछि महानगरपालिकाले अभियान सुरू गरेको छ । आइतबारदेखि विराटनगर महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी डेंगु खोज र नष्ट अभियान सुरू गरेको जानकारी गराएको हो ।

यो अभियान प्रत्येक आइतबारदेखि विराटनगरको १९ वटै वडामा सुरू गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा शाखाका हैदर अलीले जानकारी दिए । ‘डेंगु खोज र नष्ट अभियान चार हप्तासम्म निरन्तर रूपमा संचालन हुनेछ,’ अलीले भने, ‘यो अभियानमा सबैको साथ सहयोगको खाँचो रहेको छ । सबैको सहयोगले मात्र डेंगु रोकथाम र नियन्त्रण गर्न सकिनेछ ।’

यो अभियान विराटनगर स्कुलदेखि सामाजिक संघस्थाहरूबाट महानगरको हरेक घरहरूमा पु¥याउने उनले बताए । विराटनगरमा ९० जनामा डेंगु संक्रमण देखिएको उनले बताए । जसमा ५६ जना महिला र ३४ पुरूष रहेका छन् ।

यो तथ्याकं सरकारी स्वास्थ्य संस्थमा परीक्षण गरेको अभिलेख हो । अहिले निजी हस्पिटल र क्लिनिकहरुमा पनि डेंगु परीक्षण हुने गर्दछ । त्यसको अभिलेखीकरण गराउने संयन्त्रको विकास स्थानीय र प्रदेश सरकारले गरेको छैन ।

डेंगु संक्रमण रोक्न महानगरपालिकाले विराटनगरको १९ वटै वडामा स्प्रेलगायतको विभिन्न कामहरू गरेको अलीले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ