विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले बिहिबार विराटनगरमा गु्रप कार्डियाक वर्कआउट गरेको हो ।
बिहिबार विहान लर्ड वुद्ध कलेज विराटनगरमा आयोजित गु्रप कार्डियाक वर्कआउटलाई द व्यायामशाला, इटहरीले समन्वय गरेको थियो । गु्रप कार्डियाक वर्कआउटमा नेपाल युवा उद्योगी मन्च विराटनगर, न्यूरो हेल्थ कलेज, लर्ड वुद्ध कलेज, न्यूरो अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
ग्रुप कार्डियाक वर्कआउटपछि आयोजित कार्यक्रममा बोल्दै विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु रहेकोले यसलाई स्वस्थ राख्न खानपिन र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा सुझाव दिए ।
‘मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं,’ कार्यक्रममा बोल्दै उनले भने, ‘आफ्नो शरीरमा कुनै समस्या आएको देखिए समयमै राम्रो अस्पताल छनोट गरी चिकित्सकसँग परामर्श गरेर उपचार गरौं । रोग बढ्न दिन हुँदैन । समयमै रोकथाम गरौं र मुटुलाई पनि स्वस्थ राखौं ।’
मुटुलाई स्वास्थ्य राख्नको खानपानमा पनि ध्यान दिनुपर्ने उनले बताए । ‘मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाइड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ,’ डा. श्रेष्ठले भने ।
उक्त अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, मेडिकल डाइरेक्टर डा. शैलजा क्षेत्री (श्रेष्ठ)लगायतको उपस्थिती रहेको थियो ।