२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा अर्थोस्कोपी सेवा सुरू, चिरफार नगरी दुरबिनबाट उपचार

कोशी अस्पतालमा अर्थोस्कोपी सेवा सुरू, चिरफार नगरी दुरबिनबाट उपचार


विराटनगर–प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुरबिनबाट गरिने अर्थोस्कोपी सेवा सुरू भएको छ । अस्पतालले हाडजोर्नी विभागमा अर्थोस्कोपी सेवामार्फत घुँडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु गरेको हो ।

अस्पतालका अर्थोपेडिक विभागका प्रमुख हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. महेन्द्रप्रसाद महतो, अर्थोपेडिक सर्जन डा. रामकुमार यादवसहितको टोलीले दुरबिनका माध्यमबाट घुँडाभित्रको मांसपेशी, नसा तथा कुरकुरे हाडमा भएको समस्या, लिगामेन्ट च्यातिदिएकोे शल्यक्रिया गरी उपचार सुरु गरेका छन् ।

अर्थोस्कोपी सेवामा दुरबिनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नीभित्र अत्याधुनिक पद्धतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ । अर्थोस्कोपी सेवा सुरु भएसँगै ६ जना बिरामीको अर्थोस्कोपी प्रविधिबाट उपचार गरी बिरामी डिस्चार्ज गरिसकेको अर्थोपेडिक सर्जन डा. रामकुमार यादवले बताए । अस्पतालले हाडजोर्नी विभागमा हुने उपचार सेवालाई विस्तार गर्ने क्रममा अर्थोस्कोपी सेवा सुरु गरेको हो ।

‘दुरबिनको माध्यमबाट गरिने अस्र्थोस्कोपीबाट गरिने शल्यक्रिया गरेको दुई दिनपछि बिरामी डिस्चार्ज गरी घर पढाउन सकिन्छ । यो प्रविधिबाट गरिने उपचारमा बिरामीको ठूलो चिरफार गरिदैन । जसले गर्दा घाउ पनि सानो प्वाल मात्र हुने भएकोले बिरामी चाँडै ठिक हुनेछन्,’ डा. यादवले भने ।

अस्पतालमा हप्ताको चार दिनमा अप्रेसनको पालो आउने गरेको छ । अस्र्थोस्कोपीबाट आइतबार र बुधबार उपचार सेवा हुने गरेको अस्पतालले जनाएको छ । अर्थोपेडिक वार्डमा ३५ शैय्याको रहेको छ । अस्पतालको अर्थोपेडिक विभागमा ९ जना अर्थोपेडिक चिकित्सक रहेको छ ।

अर्थोस्कोपी सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरु अत्याधुनिक रहेको कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए । अस्पतालले हालै अर्थोस्कोपी सेवा सुरु गरेको हो । यो सेवाबारे बाहिर धेरैलाई थाहा छैन । नेपालमा निजी अस्पतालमा यो सेवा निकै महंगो छ । सरकारी अस्पतालले सेवा सुरु गरेपछि बिरामीले राहत महसुस गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ