२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको भवन निर्माणः ठेकेदार बेपत्ता हुँदा दुई महिनादेखि काम रोकियो

कोशी अस्पतालको भवन निर्माणः ठेकेदार बेपत्ता हुँदा दुई महिनादेखि काम रोकियो


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी सम्र्पकबिहीन भएपछि कोशी अस्पतालको निर्माणको काम दुई महिनादेखि रोकिएको हो ।

कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन भूमि, बि.आई. पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलन्यास गरिएको थियो ।

शिलान्यास गरेको ९ महिनासम्म निर्माणको काम गरेपछि निर्माण कम्पनीका संचालक असार महिनादेखि सम्पर्कविहिन भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । ठेकेदार कम्पनीले २० देखि २५ प्रतिशतमात्र काम गरेपछि अहिले सम्पर्कबिहीन भएको उनले बताए । ‘निर्माण सुरू भएको ९ महिनामा ३० देखि ३५ प्रतिशत काम सम्पर्क गरिनुपर्ने हो,’ इन्जिनियरसमेत रहेका रामले भने, ‘अहिले निर्माण कम्पनी सम्पर्कमा रहनुभएको छैन । काम गर्न हामीले पत्राचार पनि गरेका छौं । त्यसको कुनै रेसपोन्स आएको छैन ।’

दुई महिनादेखि निर्माण कम्पनीले काम रोकेपछि २६ साउनमा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सम्झौता गरेको अवधिमा काम सक्ने गरी काम गर्न निर्देशनसहितको पत्र काटेको छ । ‘निर्माण कार्यको शहरी विकास मन्त्री मेटमणि चौधरी तथा शहरी विकास तथा भवन निर्माण विभागका उच्च पदाधिकारीहरुबाट साइट अनुगमन हुँदा निर्माण कार्य अत्यन्त सुस्त गतिमा भइरहेको र कार्य तीब्रता बढाइ सम्झौता अवधि भित्र सम्पूर्ण कार्यहरु सम्पन्न गर्न गराउन निर्देशन समेत भएकोले सोहीअनुसार तोकिएको समयावधि भित्र कार्य सम्पन्न गर्ने गरि संसोधित कार्यतालिका समेत यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ,’ रमन, भुमी बि.आई. पि.एल. जे.भीलाई काटेको पत्रमा उल्लेख छ । ९ भदौमा उक्त जेभीलाई पत्र काटेको १५ दिन पूरा हुनेछ ।

पत्र बुझेको १५ दिनभित्रमा पनि निर्माण प्रक्रियाको काम अगाडि नबढाएर कानुनअनुसार ठेकेदार कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख गणेशबहादुर महर्जनले बताए । कानुनअनुसार ठेकेदार कम्पनीले राखेको बैंक ग्यारेन्टी तान्नेदेखि विभिन्न कारवाहीको प्रक्रिया अगाडी बढनसक्ने प्रावाधन रहेको छ ।

निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ७ करोड ५ लाख ७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण गरे अनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहदै गर्दा बीच नै ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पूरा हुन नसक्ने प्राविधिकहरुले बताएका छन् । निर्माण कम्पनीले वि.सं. २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधासम्पन्न भवन हस्तान्तरण गर्नुपर्नेछ । यही तरिकाले निर्माणको काम अगाडि बढने हो भने सम्झौता अवधिमा निर्माण पूरा नहुने निश्चित भएको छ । ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेवीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरुले बताउँछन् ।

निर्माण कम्पनीका संचालक कृष्ण बोहरालाई अस्पतालको भवन निर्माणको काम रोकिएको विषयमा बारम्बार सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

कस्तो बन्नेछ नयाँ भवन ?

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।

पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए ।

‘सम्झौता अवधिमा भवन निर्माण गरी हामीलाई हस्तान्तरण गरेपछि शैय्या विस्तार गरी क्याथल्याबसहितको मुटुको सेवा पनि सुचारू गर्ने लक्ष्य लिएका छौं,’ मेसु खरेलले भने, ‘अहिले निर्माणको काम दुई महिनादेखि ठप्प रहेको छ । निर्माण कम्पनीको यही तालले समयमै काम नसक्ने देखिएको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ