विराटनगर—विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र सूर्तिजन्य वस्तु सेवन गर्ने र फाल्नेलाई कारवाही हुने भएको छ । सूर्तिजन्य वस्तु खाएर अस्पतालभित्र फाल्ने जोसुकै व्यक्तिलाई अस्पताल प्रशासनले कारवाहीको दायरमा ल्याउने भएको हो ।
अस्पताल प्रवेश गर्दादेखि नै धुम्रपान र मध्यपान खाएर वा लिएर प्रवेश गरेर त्यसको खोल फालेर जथाभावी फोहोर गरेको भेटिएका प्रशासनले तत्काल कारवाही गर्ने अस्पतालका मेसु डा. यज्ञ खरेलले बताए ।
‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रवेश गर्ने गरिएको छ । जसले अस्पताललाई कुरुप बनाउने काम गरेको छ,’ उनले भने, ‘अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ चाहना छ । त्यो अभियानमा दलहरूले पनि साथ सहयोग गरिदिनुपर्नेछ ।’
अस्पतालभित्र विभिन्न बहानामा फोहोर गर्नेलाई कानुनअनुसार कारवाही गरिने उनले बताए । अस्पताल प्रशासनले अस्पताल भित्रको फोहोर व्यवस्थापन गर्ने बारेमा सुचना टाँस्ने, प्रचार—प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको ब्यवस्थापन गर्ने र अटेर गरेको पाइएमा कारवाहीमा गरिने उनले बताए ।
अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क पनि संचालन गर्ने भएको छ । अस्पतालमा उपचार गर्न आएका विरामी अन्योलमा पर्ने भएकोले त्यसा बिरामीलाई सहजता प्रदान गर्ने उद्देश्यले हेल्प डेक्स राखिने उनले बताए ।
कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासो आएपछि त्यसलाई कडाइका साथ कार्यान्वयनमा लाने अस्पतालले जनाएको छ । अहिले अस्पतालका चिकित्सकहरु कार्यलय समयमै निजी क्लिनिकमा धाउने गरेको गुनासो सुनिदैं आएको छ ।