विराटनगर–विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सरू भएको छ । बिहीबार नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले हेमोडायलाइसिस सेवा सुरू गरेको हो ।
उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचोकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा सेवा सुरू गरिएको अस्पतालले जनाएको छ । हेमोडायलाइसिस युनिटमा भेन्टिलेटरसहितको आईसीयु सेवा पनि छ ।
६ शैय्याको हेमोडायलाइसिस सेवाको उद्घाटन न्यूरो अस्पतालका अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले संयुक्त रिबन काटेर गरेका थिए ।
न्यूरोले संचालनमा ल्याएको हेमोडायलाइसिस सेवा सुविधासम्पन्न रहेको छ । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा. विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि बिरामीलाई सेवा प्रवाहमा सहज हुने बताए । ‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रुपमा स्थापित हुँदै गरहेको छ,’ डा. विष्टले भने, ‘हामी प्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरेर अस्पतालले नयाँ वर्षको पहिलो दिनबाटै हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको हो ।’
अस्पताललका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुँदा बिरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । ‘अब विरामीहरू भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘न्यूरोले सुविधासम्पन्न अत्याधुनिक उपकरण जडान गरेर हेमोडायलाइसिस सेवा सुरू गरेको छ । अहिले ६ शैय्याको रहेको छ । चाँडै १० शैय्याको पु¥याउने हाम्रो योजना रहेको छ ।’
हेमोडायलाइसिस सेवा सुचारु भएपछि विराटनगर मात्र नभएर प्रदेश १ र मधेश प्रदेशभरीका बिरामीहरूले स्वास्थ्य लाभ लिन पाउने उनले बताए ।
कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल काडियोलाजिष्ट डा. निकेशराज श्रेष्ठ र हेमोडायलाइसिस युनिटका प्रमुख वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले हेमोडायलाइसिस सेवा सुरू भएपछि बिरामीको उपचारमा सहज हुने बताए ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोका, हस्पिटल डाइरेक्टर ई. रन्जितराज बस्नेत, वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, मेट्रोन इन्चार्ज र हस्पिटलकका कर्मचारीहरूको उपस्थित रहेको थियो । सोही अवसरमा अस्पतालले नयाँ वर्षको शुभकामना आदनप्रदान पनि गरिएको थियो ।