विराटनगर-नालामाथि सुतेको एक युवा । तन्ना ओढेका छन् । आगोले पोलेर कम्बरदेखि तलको भाग पिल्सिएको छ । तीन दिनदेखि विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षको गेटनजिक उपचार नपाएर जीवन मरणको दोसाँधमा छन्, धनकुटाको हिले घर बताउने ४० वर्षिय गोविन्द श्रेष्ठ ।
अस्पतालको आइसोलेनका बसेका उनी अत्याधिक पिढा भएपछि बिहीबार घिस्रिदै बाहिर आएका हुन् । कम्बरदेखि मुनि दुवै खुट्टाको छाला पिल्सिएको छ ।
उपचार नपाउँदा घाउँमा झिगा भन्किएको छ । उनको उपचारमा अस्पतालले कुनै चासो नदिएको पाइएको छ । विरामीसंग कोहिपनि कुरूवा नभएका कारण इमर्जेन्सी शाखाले समेत उनको उपचारमा चासो दिएको छैन । गम्भीर विरामी भएपनि उनलाई बेडमा समेत राखिएको छैन । उनी बोल्न सक्ने अवस्थामा छैनन ।

रातको समयमा सिमेन्टको चिसो भंईमा सुत्ने गरेको अस्पतालमा आएका अन्य विरामीका कुरुवाहरुले बताएका छन् । काम बिशेषले ईमर्जेन्सी वार्डमा शनिबार गएका विनोद सिंहले विरामीको दयनिय अवस्था रहेको बताए । सबैको साथ सहयोगले बेवारिसे विरामी बचाउनुपर्ने उनले बताए ।
बेवारिसे विरामीहरूको जिम्मा विराटनगर महानगरपालिकाले लिनुपर्ने हो । तर, विराटनगर महानगरपालिकाले पनि चासो देखाएको छैन । बेवारीसे विरामी हेर्ने एक जना कर्मचारी खटाएको थियो । नगरपालिकाले कर्मचारीलाई पैसाँ नदिएपछि बेवारिसी विरामी हेर्ने कर्मचारी पनि आउन छोडेको बताइएको छ ।
बेवारिसे विरामीको उपचारको विषयमा कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. यज्ञ खरेललाई बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
