२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सिरिन्ज नहुँदा ३ लाख डोज खोप थन्कियो, खोप अभियान प्रभावित हुनसक्ने

सिरिन्ज नहुँदा ३ लाख डोज खोप थन्कियो, खोप अभियान प्रभावित हुनसक्ने


विराटनगर—प्रदेश १ मा खोपको लागि प्रयोग हुने सिरिन्जको चरम अभाव देखिएको छ । सिरिन्ज अभाव हुँदा कोभिड-१९ विरूद्धको खोप अभियानसमेत प्रभावित हुने देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा मौज्दात रहेको सिरिन्ज सकिन लागेको जानकारी गराएको छ । केन्द्रबाट थप सिरिन्ज नआए कोभिड-१९ विरूद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेर गएको हो ।

२८ मंसिरमा प्रदेशको लागि ३ लाख ७७ हजार ८ सय ५० डोज भेरोसेल खोप आएको थियो । सो संख्यामा आएको खोपको लागि सोही बरावरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रबाट अहिलेसम्म खोपको लागि सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु शाहले जानकारी दिए । अहिले आपूर्ति केन्द्रमा मौज्दात ६० हजारको संख्यामा मात्र सिरिन्ज रहेको छ । ३ लाख १७ हजार ८ सय ५० खोपको लागि सोही संख्यामा सिरिन्ज आवश्यक पर्ने कार्यालय प्रमुख साहले बताए ।

एक सातामा केन्द्रबाट सिरिन्ज प्रदेशमा नआए कोभिड–१९ विरुद्धको खोप कार्यक्रम प्रभावित हुनसक्ने बताइएको छ । मौज्दात रहेको सिरिन्जले ३/४ वटा जिल्लामा वितरण गर्दा सकिन्छ । केन्द्रबाट थप सिरिन्ज नआए खोप कार्यक्रम १४ जिल्ला रहेको प्रदेश १ मा प्रभावित हुने देखिएको छ । केन्द्रमा सिरिन्ज अभाव भएको कारणले प्रदेशमा नआएको कार्यालय प्रमुख साहले बताए ।

‘सिरिन्ज सकिएको केन्द्रमा पनि जानकारी गराएका छौं,’ उनले भने, ‘माथि पनि नभएको कारणले नआएको भन्ने जानकारी आएको छ ।’ सिरिन्ज अभावको कारणले गर्दा अहिले ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । सिरिन्ज अभाव भएको कारणले ठूलो संख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक बन्चित भएका छन् ।

प्रदेशमा आएको मोडर्ना खोपको लागि पर्याप्त सिरिन्ज भएपनि भेरोसेल खोपको लागि सिरिन्ज अभाव देखिएको हो । ‘भेरोसेल खोपको लागि पर्याप्त मात्रमा सिरिन्ज मौज्ज्दात छैन । अहिले ६० हजार सिरिन्ज मौज्दात छ । हामीलाई ३ लाख बढी सिरिन्ज आवश्यक पर्दछ । सिरिन्ज अभाव भएको केन्द्रमा हामीले जानकारी गराएका छौं,’ उनले भने, ‘केही दिनमा केन्द्रबाट सिरिन्ज पठाउने हामीलाई मौखिक जानकारी आएको छ ।’

प्रदेशमा ३२ लाखले लगाए खोप

१४ जिल्ला रहेको प्रदेश १ मा पुस ४ गतेसम्म कोभिड–१९ विरुद्धको खोप ३२ लाख बढीले लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् । यस्तै, दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणाली प्रविष्टमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ