२०८१ माघ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ कारागारमा भएको झडपका घाइतेको उपचार कोशी अस्पतालमा

मोरङ कारागारमा भएको झडपका घाइतेको उपचार कोशी अस्पतालमा


विराटनगर– मोरङ कारागारभित्र दोहोरो झडपमा पारेर ६ जना कैदीबन्दी घाइते भएका छन् । असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि मंगलबार १० बजेपछि दोहोरो झडप भएको हो ।

दोहोरो झडपमा चौकीदार किरण गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते हुनेहरूमा नाइके गुरुङ, शेखर राई, निर्मल ढकाल, बिशाल मोक्तान, डिल्ली देवान र सुर्यदीप गुप्ता छन् । उनीहरूको टाउको, हात र नाकमा सामान्य चोटपटक लागेपछि कोशी अस्पतालमा उपचार भइरहेको छ ।

झडपका कारण कैदीबन्दीले भरिभराउ रहेको कारागार अशान्त बनेको छ । आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको जेलर पोखरेलले जानकारी दिए । झडपमा कारागारभित्र मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग भएको पाइएको छ ।

‘चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए,’ स्रोतले भन्यो, ‘त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो ।’ चौकीदार गुरूङले कैदीबन्दीलाई कुटपिट गर्ने, चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी शुल्क असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महंगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महंगो शुल्क लिने गरेको आरोप लागेको थियो ।

स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरुद्ध अर्को समूह जाइलागेको हो । चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलितसमेत भएका छन् ।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरुले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।

आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेर राखिदिएका थिए । कैदीबन्दीले चौकीदार गुरूङ, नाइके र भाइनाइकेसहित पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईसमेतका कैदीबन्दीलाई एउटा कोठामा थुनेका हुन् । एउटा कोठामा थुनेर राखिएका कैदीबन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेर राखेको थियो । उनीहरुलाई बाहिर निकालिएपछि कारागारभित्रको तनाव मत्थर भएको थियो । कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि नाइके गुरूङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागारमा स्थानान्तरण गरिएको जेलर पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ