विराटनगर—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले विराटनगरस्थित कोशी अस्पताल निरिक्षण गरेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले निरीक्षण गरेको चारदिनपछि राज्यमन्त्री खापुङले पनि आइतबार विहान अस्पताल स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि अस्पतालका आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री खापुङले अस्पतालको स्तरोन्नती र सेवा विस्तारमा लागि सक्दो प्रयोस गर्ने बताए । उनले अस्पताललाई आम नागरिकहरुको गुनासो रहित बनाउन आवश्यक काममा सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अस्पतालको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताए ।
अस्पतालका मेसु डा. चुमनलाल दासले बिमाको उपचार वापतको ७ करोड रुपैयाँ निकास भइ नआउँदा काम कारवाहीमा समस्या परेको जानकारी गराएपछि राज्यमन्त्री खापुङले यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको स्वास्थ्य उपचार सेवामा लाग्न आग्रह गरे ।
आफू यही प्रदेशको बासिन्दा भएकोले पनि कोशी अस्पताललाई नमुनाका अस्पतालको रुपमा विकास गर्न आफू लागि पर्ने राज्यमन्त्री खापुङले बताए । ‘अस्पताललाई व्यवस्थित र नमुना अस्पतालको रुपमा अगाडी बढाउन क्रियाशील भएर लागि पर्नेछु,’ उनले भने, ‘सुविधा सम्पन्न हस्पिटल बनाउन आफ्नो ठाउदेखि लागि पर्नेछु ।’ प्रदेश १ मा यति ठूलो सरकारी अस्पताल त्यो पनि संघीय सरकारअन्तर्गतको अस्पतालको विकास र व्यवस्थित बनाउन आफू लागि पर्ने उनले बताए । ‘कोशी अस्पताललाई सुविधाजनक अस्पताल बनाउन लाग्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
कोशी अस्पतालका मेसु दासले स्वास्थ्य बिमा वापतको रकम तीन महिनायता नआएको विषयमा ध्यानाकर्षण पनि गराए । यसैगरी अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव रहेको भन्दै तत्काल सम्बोधन गरिदिन माग गरिएको छ । अस्पतालले पठाएको ओएनएम सर्भेका आधारमा जनशक्ति व्यवस्थापन मिलाउन मन्त्रीसँग आग्रह गरिएको छ । यस्तै अस्पतालका विकास समितिका अध्यक्ष महेशप्रसाद भट्टराईले बजेट अभावले निर्माणधीन भवनको काम रोकिएको बिनियोजित भएको बजेट निकास गरिदिन राज्यमन्त्रीलाई आग्रह गरेका थिए ।
राज्यले विभेद गरेको स्वास्थ्यकर्मीको गुनासो
अस्पतालका चिकित्सकहरूले एउटै सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई राज्यले विभेद गरेको गुनासो गरेका थिए । काठमाडौंको वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक र कोशी अस्पतलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई राज्यले विभेद गरेको उनीहरुले राज्यमन्त्री समक्ष गुनासो गरे ।
विकास समितिबाट करारमा नियुक्त गरिएको चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई अस्पतालले भत्ता दिने गरेको छ । तर, यहाँका कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई भत्ता नदिने गरेको गुनासो गरेका थिए ।