विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा आएका बिरामीले ल्याबमा परीक्षण गर्न नपाएपछि आन्दोलित भएका छन् । सोमबार स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै बिरामीहरूले अस्पताल प्रशासन अगाडि आन्दोलन सुरु गरेका हुन् ।
बिरामीका आफन्तहरूले ल्याबमा बिरामीको परीक्षण गर्ने कोटा सिस्टम लागू गरेको भन्दै अस्पताल प्रशासन अगाडि नाराबाजी गर्दै विरोध गरेका छन् । सयौंको संख्यामा उपस्थित भएका बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग राख्दै अहिले अस्पताल अगाडि नाराबाजी जारी राखेका छन् । बिरामीको भिड अस्पताल प्रशासन अगाडि जम्मा भएर नाराबाजी गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विराटनगर–५ का मो.हुुसेनले भिडियो ए–क्सरेको बिल काटिसक्दा पनि ल्याबमा परिक्षण गर्न नपाएको गुनासो गरे । ‘पेटको समस्या भएपछि अस्पतालमा आएर चिकित्सकलाई देखाएको थिए । चिकित्सकले भिडियो ए–क्सरे गर्नु भन्नुभयो । त्यसपछि ए–क्सरेको बिल पनि कटाए । ल्याबमा गएर परीक्षण गर्दा सोमबारलाई कोटा फुल भएको जानकारी दिइयो,’ बिरामी हुसेनलले भने, ‘अहिले दैनिक २० जनाको मात्र परीक्षण गर्ने गरेको जानकारी गराएपछि हामी अहिले आन्दोलित भएका हौं ।’
स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार भएपनि चिकित्सक अभावमा कोशीमा आएका बिरामीलाई स्वास्थ्यबाट बन्चित गराउन खोजीएको उनले बताए । ‘सरकारी अस्पतालमा स्वास्थ्य उपचार नपाएपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको हो,’ उनले भने । उनीहरूले कोटा प्रणाली तत्काल हटाएर बिल काटिसकेको बिरामीको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग राखेका छन् ।
कोशी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसक्दा यहाँ आएका बिरामीले सास्ती पाएका छन् । स्वास्थ्य उपचारको लागि कोशी अस्पतालमा आएका बिरामीले अहिले २/३ दिनमा मात्र पालो आएर चिकित्सकलाई देखाउनुपर्ने अवस्था रहेको छ । अस्पतालमा एउटा मात्र बिमाको काउन्टर हुँदा बिरामीले सास्ती पाएकोले थप काउन्टर विस्तार गर्नेमा अस्पताल प्रशासनले चासो नदेखाएको बिरामीका आफन्तहरूले बताएका छन् ।
३ जना रेडियोलोजिस्टको राजिनामा
कोशी अस्पतालको ल्याबमा रेडियोलोजिष्ट चिकित्सकको अभाव रहेको छ । तीन जना रेडिलियोजिस्ट चिकित्सकको राजिनामा दिएपछि असपतालमा डाक्टरको अभाव भएको हो ।
अस्पतालमा अहिले एकजना मात्र रेडियोलोजिस्ट छन् । अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावले गर्दा न्यून संख्यामा परीक्षण भएको बताए । ‘४ जना रेडियोलोजिस्ट भएकोमा अहिले तीन जनाले राजिनामा दिनुभएको छ । भएका एक जना रोडियोलोजिस्टले काम गर्दै आउनुभएको छ,’ उनले भने, ‘त्यही भएर अहिले कम संख्यामा परीक्षण हुँदै आएको छ ।’
अस्पतालमा दुई जनाको रेडियोलोजिस्टको दरबन्दी हो । जसमा डा. ओमबिजु पन्तलाई विभागीय कारवाहीमा परेका छन् भने भएका डा. पुस्कर देवले आइतबारदेखि लागू हुने गरी राजिनामा दिएका छन् । अस्पतालको विकास समितिले तीन जना रेडियोलोजिस्ट चिकित्सकलाई करारमा नियुक्त गरेको थियो । नियुक्त गरिएको डा. अंशु श्रेष्ठ, डा. सितेश कोइराला र डा. राजा सुवाल थिए । उनीहरूमध्ये डा. श्रेष्ठ र डा. कोइरालाले राजिनामा दिएका छन् ।
अहिले अस्पतालमा डा. राजा सुवालले मात्र रेडियोलोजिस्ट विभाग सम्हालिरहेका छन् । यसअघि दैनिक २ सयभन्दा बढीको कोशीमा स्वास्थ्य परीक्षण हुने गरेको थियो । तीन जना चिकित्सकले राजिनामा दिएपछि आइतबारदेखि एक जना डा. सुवालले ६० जनाको परीक्षण गर्दै आएका छन् ।
आइतबार अत्याधिक भिड भएपछि अस्पतालले दैनिक २० जनाको कोटा लागु गरेको बुझिएको छ । त्यसको विरोधमा सोमबार अस्पताल अगाडि बिरामीले कोटा सिस्टम खारेज गरिनुपर्ने र चिकित्सक थप गरी अस्पतालले बिरामीलाई चाँडो सेवा दिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।
