विराटनगर – विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई स्थानीयबासिन्दाले घरबाट लखेटेका छन् । आफ्ना समर्थक र कार्यकताहरूलाई मध्यरातमा बोलाएर सुटुक्क खोप दिएको भन्दै बुधबार राति विराटनगर – ५ मुनालपथबाट स्थानीयले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई लखेटेका हुन् ।

टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहाँ पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई लखेटेका हुन् । बुधबार राती ९ बजे रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भन्दै प्रमुख पराजुलीलाई स्थानीयले लखेटेको विराटनगर – ५ मुनालपथका प्रभाकरमान सिंह कार्कीले जानकारी दिए ।

स्थानीयकाअनुसार प्रमुख पराजुलीले विराटनगर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसेल खोप वितरण गरिरहेका थिए ।

पराजुलीका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत थिए । राजभण्डारीका घरमा खोप भइरहेको चाल पाएपछि वरपरका युवा र महिला त्यहाँ जम्मा भएर होहल्ला गर्न थाले । यसपछि प्रमुख पराजुली भन्सार एजेन्ट समेत रहेका जोशीको सवारी चढेर भागेको स्थानीयको भनाई छ ।

‘बुथ सभापति राजभण्डारीको घरमा बुधबार राति भिडभाड थियो,’ प्रत्यक्षदर्शी कार्कीले भने, ‘सुतिसकेको मान्छे म निस्किए बाहिर आएर हो-हल्ला गर्दै राजभण्डारीको घरमा पुगेको थिए । त्यहाँ मैलाई भित्र प्रवेश गर्न नदिकन बाहिर निकालियो । त्यसपछि खोप लगाउने कार्य बन्द भयो र मेयर सावको सामूह भाग्नुभयो ।’ रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट प्रमुख पराजुलीमाथि आरोप लगाइएको हो ।

खोपको विषयमा विवाद भइ स्थानीयबासीले हो-हल्ला गरेपछि जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय ‘क’ देखि ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । सो क्षेत्रमा वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दिपक कार्कीको नेतृत्वमा खटिएको टोली पुगेको थियो ।
घटनास्थलमा पुगेका डिएसपी कार्की नेतृत्वको प्रहरी टोलीले काँग्रेस वडाका बुथ सभापति राजभण्डारीको घर बाहिर खोप लगाएको सिरिन्जको खोल बरामद गरेको थियो ।

मुनालपथ नजिकै घर भएका नेपाली कांग्रेसका युवा नेता दीपक चापागाईले घटनाको पुष्टि गरे । उनले मेयरले खोपको दुरूपयोग गरि लज्जास्पद काम गरेको बताउँदै व्यक्तिको घरमा खोप लगाउने कार्यक्रम सरासर गलत भएको बताए । ‘धेरै लफडा भयो’, चापागाईंले भने, ‘मेयर साबले आफ्ना मान्छे बोलाएर खोप लगाउँदै हुनुहुन्थ्यो । होहल्ला भएपछि भाग्नुभयो । हानाहान पनि भयो । अलिअलि ढुङ्गा हानाहान पनि भयो । तर, अप्रिय केही भएन ।’ उनले घटनाको छानविन गरी संलग्नलाई कारवाहीको माग गरेका छन् ।

‘मेयरले गरेको यो अनैतिक र गैर मर्यादित काम गरेका छन्,’ चपागाइले भने, ‘यस्तो कार्यले नेपाली काँग्रेसलाई बदनाम गर्ने काम गर्नुभएको छ । यो निन्दीनय छ ।’ मेयरलाई कारवाहीको माग गर्ने चापागाइ नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा विराटनगर महानगरपालिकाको नगर सभापतिको उम्मेदवारीको तयारीमा छन् ।

यता, मेयर पराजुलीले भने आफु घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन् । काँग्रेसको चुनाव नजिक आएकोले आफ्नो बदनाम गर्न खोपको फन्डा बनाएर गलत प्रचार गरिएको उनको भनाई छ । नगर सभापतिको दौडमा रहेका चौलागाईलाई आफूले समर्थन नगरेकाले उनले आफूमाथि यस्तो आरोप लगाएको मेयर पराजुलीले बताए । उनले महानगरले खोप सबै वडामा लगाइरहेकाले लुकेर राति कसैको घरमा खोप लगाउनुपर्ने अवस्था नरहेको बताए ।