२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा १ करोडको लगानीमा स्वास्थ्य केन्द्र बन्दै

विराटनगरमा १ करोडको लगानीमा स्वास्थ्य केन्द्र बन्दै


विराटनगर – विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विराटनगरमा करिब १ करोड लागतमा विशिष्टीकृत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । संक्रमणजन्य रोगहरुको पहिचान तथा नियन्त्रणका लागि विराटनगर–१६ स्थित रानी भन्सारमा स्वास्थ्य केन्द्र स्थापना हुने भएको हो ।

कोरोना महामारीबाट पाठ सिक्दै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा बोर्डर एरियामै स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । स्वास्थ्य केन्द्र निर्माणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले संयुक्त लगानी गर्ने योजना छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको स्वास्थ्य केन्द्र २ तले संरचनाको हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

स्वास्थ्य केन्द्र निर्माणका लागि विराटनगर महानगरपालिकाले विश्व स्वास्थ्य संगठनलाई रानी भन्सारसँगै जोडिएको ४ कठ्ठा जग्गासमेत उपलब्ध गराइसकेको छ । संगठनले यसको फाइनल डिपिआर र डिजाइन समेत तयार पारिसकेको छ ।

डिजाइनमा केही प्राविधिक सुधार गर्दै महानगरले पनि स्वास्थ्य केन्द्रको निर्माणका लागि सहमति जनाइसकेको छ । स्वास्थ्य केन्द्र निर्माण भईसकेपछि यहाँबाट विशेषगरि सङ्क्रमणजन्य रोगहरुको पहिचान तथा रोकथामका कार्यहरु हुने विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक डा. दिलिपकुमार यादवले बताए ।

‘कोरोना महामारीको सामना गर्न हामी तयार थिएनौं’, उनले भने, ‘भविष्यमा पनि कोभिड–१९ जस्तै आइ पर्न सक्ने अन्य महामारीहरुको सामना गर्न पूर्व तयारी स्वरुप यो स्वास्थ्य केन्द्र निमार्णको अवधारणा अघि सारिएको हो ।’ स्वास्थ्य केन्द्र सञ्चालनमा आइसकेपछि भोलिका दिनमा विदेशी नागरिकलाई हेल्थ स्क्रिनिङ गरेर मात्र नेपाल प्रवेश दिइने विराटनगर महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य परीक्षण गर्दा केही समस्या देखिए अवस्था विश्लेषणको आधारमा तत्कालै सम्बन्धितको उचित व्यवस्थापन गरिने महानगरको योजना छ । हाल भने विराटनगरस्थित रानी भन्सारमा विश्व स्वास्थ्य संगठनले निर्माण गरिदिएको अस्थायी टहरामार्फत विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण र व्यक्तिगत विवरण संककलन गरेर नेपाल प्रवेश दिइदैं आएको स्वास्थ्यकर्मी उषा मेहताले जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय सिमानालाई लक्षित गर्दै नेपाल सरकारले हाल मुलुकभरका विभिन्न नाकाहरुमा स्वास्थ्य केन्द्र स्थापना गरिरहेको छ । यसले महामारीको पहिचान र नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ