विराटनगर—बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै औषधीमा नक्कली लेबल लगाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका फार्मेसी संचालक विक्रम मण्डल धरौटीमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश किशोर घिमिरेको इजलासले मण्डललाई ७५ हजार रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो ।
२६ माघमा मण्डललाई मोरङ प्रहरीले म्याद सकिएको औषधीमा नक्कली नयाँ लेबल लगाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका विक्रमलाई प्रहरीले आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । विभागले अनुसन्धान पूरा गरेपछि मोरङ अदालतमा ‘औषधीको अनुचित प्रयोग’ मुद्दामा अभियोग दर्ता गराएको थियो । सोमबार मोरङ अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८, ७२ बमोजिम धरौटीमा छोडन आदेश आएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
पक्राउ परेका मण्डल विराटनगरस्थित न्यूरो हस्पिटल अगाडि रहेको ‘हाम्रो फ्रेन्डसीप फार्मेसी’का संचालक हुन् । मण्डल र उनका दाजु विराटनगर ५ का २५ वर्षीय विकास मण्डलले म्याद सकिएको औषधीमा नक्कली लेबल लगाएर विक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा औषधी बरामद गरेको थियो । प्रहरीले विक्रमलाई पक्राउ गरेपछि विकास फरार छन् । फरार भएका विकास अहिलेसम्म पक्राउ परेका छैनन् ।
भारतदेखि ल्याइएको अवैध प्रतिबन्धित औषधीमा नक्कली नयाँ लेबल लगाएर मण्डलले उपकरण पनि राखेको भेटिएको थियो । प्रहरीले मण्डलको फार्मेसी र कोठादेखि ७९ प्रकारका विभिन्न कम्पनीको प्रतिबन्धित औषधी बरामद गरेको थियो ।
यसअघि पनि गत वर्ष १८ फागुनमा विकास म्याद सकिएको औषधी बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । औषधी व्यवस्था विभाग विराटनगरका तत्कालीन फार्मेसी अधिकृत चर्तुभुजप्रसाद यादवको नेतृत्वमा आएको अनुगमन टोलीले मण्डलको फार्मेसीदेखि विभिन्न १५ प्रकारका औषधी म्याद सकिएको अवस्थामा फेला पारेको थियो ।
अनुगमन टोलीले मण्डलको फार्मेसी सिलबन्दी गर्दै उनलाई पक्राउ गरेर विभाग लग्यो । मण्डलले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेर म्याद सकिएको औषधी विक्री वितरण गरेको अनुसन्धानबाट खुलेपछि उनलाई औषधी ऐनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइयो । मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजालसले २५ असारमा तीन लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको थियो ।
तस्करीको औषधी दाजु ल्याउने भाइ बेच्ने
भारतमा सस्तोमा अवैध पाउने भएपछि विकास औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी तस्करी गरेर ल्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । विकासले भारतदेखि तस्करीको प्रतिबन्धित औषधी ल्याउने र ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’बाट बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।
विकासले प्रतिबन्धित औषधी अन्य फार्मेसीहरूमा दिएको हुनसक्ने भएकोले मोरङ प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ परेका मण्डलले प्रतिबन्धित औषधी डेरामा भण्डारण गरेर बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले बरामद गरेको औषधी अन्दाजी १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको रहेको थियो ।