२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १भारतबाट कुखुराको तौल बढाउने ‘भिटामिन’ तस्करी, क्यारिङवालाले लिन्छन् नेपाल ल्याउने जिम्मा

भारतबाट कुखुराको तौल बढाउने ‘भिटामिन’ तस्करी, क्यारिङवालाले लिन्छन् नेपाल ल्याउने जिम्मा


विराटनगर—बोइलर कुखुराको तौल बढाउन खुवाइने भिटामिन भारतबाट तस्करी भएर नेपाल आउने गरेको पाइएको छ । विराटनगरसहित पूर्वका एग्रीभेटका व्यापारीहरूले क्यारिङवाला प्रयोग गरेर भिटामिन भारतदेखि तस्करी गरेर ल्याउने गरेको पाइएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बखरीले सोमबार राति विराटनगर –१६ दरैयास्थित केसेलिया खोलाबाट ठूलो परिमाणमा भिटामिन बरामद गरेपछि भारतदेखि तस्करी भएर आउने गरेको पुष्टि भएको छ । बिओपी बखरीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद गरेको छ ।

प्रहरीले चार लाख १८ हजार ७ सय ६७ रुपैयाँ मुल्य बराबरको ७६७ बोतल मल्टिसोल भिटामिन बरामद गरेको छ । जसमा एक सय एमएलको ४३३ बोतल, २०० एमएलको १४८ बोतल र ५०० एमएलको १४८ बोतल छन् । ठूलो परिमाणमा नेपाल भित्र्याइएकोले भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरफ ठूलै कारोबारीको हुनसक्ने आशंका गरिएको छ । तस्करीको भिटामिन ल्याउन व्यापारीले क्यारिङ गर्नेलाई जिम्मा दिने गरेका छन् । क्यारिङ गर्नेले निश्चित रकम व्यापारीसँग लिएपछि भरिया प्रयोग गरेर तस्करीको औषधी र भिटामिनहरू व्यापारीले भनेको गन्तब्यसम्म पु¥याउने जिम्मा लिने गर्दछन् । तस्करी भएर आएको भिटामिन विराटनगरका एग्रीभेटले मगाएको हुनसक्ने भएकोले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

कुखुरा हलक्क बढाउनका लागि खुवाउने यो मल्टिसोल अवैध रुपमा नेपाल भित्र्याइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । ‘बरामद साइकल र भिटामिन विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ,’ बिओपी बखरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पन्तले भने । चोरी पैठारीमा संलग्नहरु प्रहरीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । ‘डियुटीमा खटिएकाहरूलाई देखेपछि तस्करीको भिटामिन ल्याउनेहरू फरार भए,’ उनले भने, ‘चोरी तस्करी नियन्त्रण गर्न सीमा नाकामा सुरक्षा प्रहरी परिचालन गरिएको छ ।’

प्रहरीले एकसय एमएलको मल्टिसोलको खरिद मूल्य १८५, २०० एमएलको ३६० र ५०० एमएलको ६९० भारतीय रुपैयाँ पर्ने जनाएको छ । उक्त भिटिामिन ६ देखि १५ दिन भएका कुखुराको तौल बढाउन यो खुवाउने गरिन्छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ