विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा न्यूरो सर्जरी र आँखा उपचारको थप सेवा विस्तार गरेको छ । अस्पतालले अत्याधुनिक उपकरण जडान गरी न्यूरो सर्जरी र आँखा सम्बन्धी सेवाहरू संचालनमा ल्याएको अस्पतालका सुपरिटेन्टेण्ड डा. चुमनलाल दासले जानकारी दिए ।
न्यूरो सर्जरी सम्बन्धी उपचार न्यूरो सर्जर डा. रोशन खतिवडाको टिमले गर्ने गरेको छ । आँखा सम्बन्धिको उपचार अस्पतालका नेत्ररोग विषयज्ञ डा. अबिनास झाले गर्दै आएका छन् ।
‘अहिले आँखा सम्बन्धी सेवाहरूको ओपीडी सुचारु भएको छ,’ मेसु दासले भने, ‘प्रराम्भिक चरणमा हप्तामा एकपटक आँखा सम्बन्धि समस्याको शल्यक्रिया हुनेछ । अन्य दिन ओपीडी सुरू हुनेछ ।’ तत्काल अहिले माइनर सर्जरी हुने गरेको अस्पतालले जनाएको छ । थप इकियूमेन्ट र जनशक्ति भएपछि अस्पतालले मोतिबिन्दुलगायतका आँखाको सम्पूर्ण उपचार हुने मेसु दासले बताए ।
केही दिन अगाडी आँखाको सेवा सुचारु गरेको अस्पतालमा एक दर्जन बढी विरामीको आँखाको शल्यक्रिया भइ विरामी ठिक भएको अस्पतालले जनाएको छ । अस्तापलमा ‘हिस्टो प्याथालोजी’ को पनि जाँच हुने गरेको छ । क्यान्सरको सेवा सुचारु गरेपछि उक्त परिक्षण सुरु गरेको हो । क्यान्सर भए नभएको पत्ता लगाउन मासुको जाँच गरिने हिस्टो प्याथोलोजी जाँच पनि कोशी अस्पतालमा हुने गरेको मेसु दासले बताए ।
‘यसअघि हिस्टो प्याथोलोजीको जाँच हुने गरेको थिएन,’ उनले भने, ‘केही दिनयतादेखि हिस्टो प्याथालोजीको जाँच सुरु गरिएको हो ।’ अस्पतालले बिरामीहरुमा क्यान्सर भए नभएको यकिन गर्नका लागि गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेसन अर्थात बायस्पी परीक्षण सेवा केही दिन अगाडी सुरु भएको हो । यहाँका बिरामीमा क्यान्सरका शंकास्पद बिरामीहरुको बायस्पी परीक्षणका लागि अन्यन्त्र अस्पतालमा पठाउनु पर्ने बाध्यता अब अन्त्य भएको छ ।
अस्पतालले अर्थोपेडिक सर्जरी,जनरल सर्जरी,प्रसूति,नाक,कान,घाँटी लगायतका विभागलाई समेत थप प्रविधिमैत्री बनाउदै लगेको मेसु दासले बताए । यो अस्पतालमा ३ सय ५० शय्यासहित १८ विभाग, १०० भन्दा बढी विशेषज्ञ चिकित्सक, एक सय ४० नर्स, लगभग ६० स्वास्थ्यकर्मी र तीनसय भन्दा बढी प्रशासनिक (अप्राविधिक) कर्मचारी गरी ६ सय जनशक्तिले सेवा दिइरहेका छन् ।