२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना संक्रमितसँग दैनिक ८० हजार असुलेको भन्दै म्याक्स हस्पिटल बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

कोरोना संक्रमितसँग दैनिक ८० हजार असुलेको भन्दै म्याक्स हस्पिटल बन्द गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन


विराटनगर–   विराटनगरको महेन्द्र चोकस्थित म्याक्स हस्पिटललाई जिल्ला प्रशासन कार्यालय माेरङले बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारमा बिरामीसँग एकै दिनको ८० हजार रुपैयाँसम्म असुली गरेको पाइएपछि म्याक्स हस्पिटललाई जिप्रकाले बन्द गर्न निर्देशन दिएको हो ।

सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णाय गरेपछि अनुमति बेगर कोभिड अस्पताल भन्दै बिरामीको उपचारमा चर्को शुल्क असुली गरेको पाइएपछि म्याक्स हस्पिटललाई सेवा बन्द गर्न जिल्ला प्रशाशन कार्यालय मोरङले निर्देशन दिएको हो ।

कोरोना संक्रमण भएका बिरामीहरुलाई सेवा दिइरहेका अस्पतालको अनुगमन गर्ने क्रममा म्याक्स हस्पिटलले अनुमति पत्र देखाउन नसकेको र कोभिडका लागि चाहिने न्युनतम स्वास्थ्य मापदण्ड पुरा गरेको नपाईएकाले बन्द गर्न मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्देशन दिएका हुन् ।

प्रशासन कार्यालयले कोभिडका लागि आवश्यक जनशक्ति, संक्रमितको उपचारका लागि अनुमति प्राप्त नगर्दा सम्म र स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा नगर्दा सम्म बन्द गर्न निर्देशन दिएको जनाएको छ ।

‘उपचाररत बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र उपचारवापतको शुल्क नेपाल सरकारले तोके भन्दा बढी नलिन पनि भनिएको छ,’ प्रशासन कार्यालयले हस्पिटललाई काटेको पत्रमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले म्याक्स हस्पिटललाई लिखित जवाफ सहित अनुमति बिना संवेदनशिल सेवा सञ्चालन गर्नुको कारण माग गरेको छ । प्रशासन कार्यालयले बिरामीको उपचार गर्दा सरकारले तोकेको आईसोलेसन सम्वन्धि निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना गर्नुपर्छ की पर्दैन, विधि र प्रकृया पुरा नगरी सेवा सञ्चालन गर्दा हुने अनपेक्षित परिणामको जवाफ कसले दिने र संक्रमण ऐन–२०२० अनुसार कारवाही किन नगर्ने भनी जवाफ माग गरेको छ ।

‘राज्यले तोकेको शुल्कभन्दा महँगो शुल्क लिएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘बिरामीले एक दिनको ५० देखि ८० हजारसम्म तिरेको गुनासो गरे ।’

म्याक्स अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क १० हजार, १५ हजार, २० र ३० हजार शुल्क तोकेको छ । उनका अनुसार भेन्टिलेटरमा बस्ने बिरामीले दैनिक ३० हजार शुल्क लिने गरेको दाबी गरेका छन् ।

उनले कोभिड संक्रमितको उपचारका लागि स्वीकृति नलिएको बताए । ‘दसैँअघि देखि कोभिड अस्पताल सुरू गरिएको हो,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयका अनुमति मागेका छौं । तर अनुमति भने आइसकेको छैन ।’ उनले स्थानीय सरकारले भने अस्पताल सञ्चालनका लागि अनुमति दिएको बताए ।

प्रशासनको पत्रपछि अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेको बताउँदै उनले ११ जना कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिए । नयाँ आएका बिरामी भर्ना अहिले लिन छाडेको उनले बताए ।

सरकारले तोकेको शुल्कका भरमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै उनले कोभिड अस्पताल सञ्चालनका विषयमा सञ्चालक समितिको बैठकले निर्णय गर्ने बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ