विराटनगर – औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पूरा गर्न नसक्ने मोरङका सेनिटाइजर उद्योग बन्द हुन थालेका छन् । मापदण्ड पूरा गर्न नसक्दा मोरङको बुढीगंगा गाउँपालिकास्थित महेश सोहनीले संचालन गरेको सेनिटाइजर उत्पादन गर्ने ‘पपुलर प्रोडक्स प्रालि’ उद्योग बन्द भएको हो ।
लकडाउन सुरू भएपछि सोहनीले बुढीगंगा गाउँपालिका भित्र सेनिटाइज उत्पादन गर्ने उद्योग संचालनमा ल्याएका थिए । बजारमा विषाक्त रसायन (मिथानोल) मिश्रिमत ह्यान्ड सेनिटाइजर बजारमा बिगबिगी भएको पाइएपछि विभागले बजारमा अनुगमन तिव्र बनाएको छ । अनुगमनको क्रममा सो उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि एक महिना भित्र विभागले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो ।
मंगलबार विभागले गरेको अनुगमनको क्रममा मापदण्ड पूरा गर्न नसकेपछि बन्द गरेको भेटिएको हो । ‘एक महिना अगाडी अनुगमनको क्रममा आउँदा सेनिटाइजर उत्पादन गर्ने यो उद्योगले कुनै मापदण्ड पूरा गरेको भेटिएको थिएन,’ विभागका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले भने, ‘अहिले हामीले अनुगमनमा निस्किदा बन्द भएको रहेछ ।’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संन्जिब शर्मा कट्टेलको नेतृत्वमा मंगलबार विराटनगरसहित मोरङको पाँच वटा सेनिटाइजर उत्पादन गरिने उद्योगको अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा विराटनगर – १५ ग्यालक्सी डेन्डल एण्ड सर्जिकल सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएको छ । अनिल चौधरीले संचालन गरेको सो सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएपछि मौज्जाद गरिएको १ सय ९४ कार्टुन सेनिटाइजर बरामद गरेको फार्मेशी निरीक्षक खड्काले बताए । ‘औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको पाइएपछि मौज्जात गरेर राखिएको सेनिटाइजर बरामद गरेका छौं,’ उनले भने, ‘बरामद गरेको सेनिटाइजरको सेम्पल कलेक्सन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणमा पठाउनेछौं । त्यसपछि यसको गुणस्तर थाहा हुन्छ ।’
गुणस्तरहिन सेनिटाइजर भएको परीक्षणबाट पुष्टि भए विभागले थप कारवाहीको तयारी अगाडी बढाउने उनले बताए । परीक्षण रिपोट नआउनेजेल सो उद्योगको उत्पादन भएको सेनिटाइजर पनि विक्री वितरणमा रोक लगाएको छ ।
यस्तै, हेमगिरी डाइजिङ्ग प्रालि, रिजालको सेटिाइजर प्रालिले भने विभागले तोकिएको मापदण्ड अनुसार संचालन गर्दै आएको पाइएको औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ । मापदण्ड पूरा नगर्दा पछिल्लो समय बजारमा औषधि व्यवस्था विभागले गरेको अनुसन्धानमा विभिन्न कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा मिथानोल र कम अल्कोहल प्रयोग भएको भेटिन्छ । जसले मानव शरीरलाई गम्भीर असर पु¥याउँछ ।
हालसम्म विभागले १५ वटा कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ । ती कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा विषाक्त रसायन प्रयोग गरिएको र मापदण्डभन्दा कम अल्कोहल राखिएकाले रोक लगाइएको औषधि व्यवस्थाले जनाएको छ । विषाक्त रसायन (मिथानोल) मिश्रित ह्यान्ड सेनिटाइजरको प्रयोगले हात सुनिने, फुस्रो हुने, फुट्ने, मानिस कोमामा जाने र मान्छेको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाइ छ ।
त्यसैले, बजारमा मिथानोल प्रयोग भएका ह्यान्ड सेनिटाइजरलाई रोक लगाइएको विभागले जनाएको छ । विभागले रोक लगाएका १८ प्रकारका सेनिटाइजरमध्ये १४ वटामा मिथानोल प्रयोग भएको पाइएको थियो ।