विराटनगर– विराटनगरस्थित कोशी अस्पताल र धरानको वीपी प्रतिष्ठानमा गरी दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको कोशी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो अस्पतालमा भर्ना भएका थिए । आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ ।
उता बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्षी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा असोज ५ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयू र भेन्टिलेटरमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी प्रतिष्ठानमा असोज १० गते बिहान भर्ना भएका थिए । ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मर्गौलाको समस्या रहेकोले डाइलाइसिससमेत गराउँदै आएका थिए ।