विराटनगर– विराटनगरस्थित विराट नर्सिङ्ग होम अगाडीका दुई वटा औषधि पसल (फार्मेसी) बन्द गरिएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका समर फार्मेसी र सिंहदेवी फार्मेसीलाई सोमबार औषधी व्यवस्था विभाग विराटनगरले बन्द गराएको हो ।
मापदण्ड नपुगी सञ्चालनमा ल्याइएको हुनाले यी दुई फार्मेसीलाई बन्द गराइएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । ‘समर फार्मेसीमा फर्मासिष्ट पढेका व्यक्ति नराखि औषधी विक्री वितरण गरेको पाइएपछि बन्द गरिएको हो,’ उनले भने,‘सिंहदेवी फार्मेसी पनि मापदण्ड अनुसार संचालन नभएको पाइएपछि बन्द गराइयो ।’
विभागले फार्मेसी बन्द गरेर गएको दुई घण्टा बित्न नपाउँदै व्यवसायीले पुनः पसल खोलेका थिए ।
यसैगरि विराटनगरस्थित नोबेल अस्पताललाई आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिएको छ । अस्पताल फार्मेसी निर्देशिका अनुसार अस्पताल आफैँले औषधी पसल सन्चालन गरिनुपर्ने मापदण्ड छ । तर, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालले महंगो भाडा लिएर दुई वटा फार्मेसी संचालन गरेको छ ।
निर्देशिका अनुसार नोबेल अस्पताललाई आफ्नै फार्मेसी संचालन गर्न औषधी व्यवस्था विभाग विराटनगरले निर्देशन दिएको छ । ‘अस्पताल निर्देशिका अनुसार आफ्नै फार्मेसी हुनुपर्छ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिव शर्मा कट्टेलले भने, ‘६ महिना भित्र अस्पताल आफैँले फार्मेसी सन्चालन गर्न निर्देशन दिएका छौं ।’