२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना जित्ने मोरङको गोठगाउँबाट ४० जना डिस्चार्ज

कोरोना जित्ने मोरङको गोठगाउँबाट ४० जना डिस्चार्ज


विराटनगर – मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज परिसरमा निर्माण गरिएको कोभिड उपचार केन्द्रबाट ४० जना डिस्चार्ज भएका छन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ नतिजा आएपछि बिहीबार डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरु हुन् । सुन्दरहरैचाबाट डिस्चार्ज हुनेहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल र उपप्रमुख धना तामाङ लगायतले विदाइ गरे ।

कोरोना जितेर घर गएकाहरू दुई साता होम क्वारेन्टाइन अवधि पूरा गर्नुपर्ने हुन्छ । प्रदेश १ सरकार र पूर्वाञ्चल विश्वविद्यालयको सम्झौताअनुसार गोठगाउँमा लक्षणविहीन कोरोना संक्रमितलाई उपचार केन्द्रमा राखेर उपचार हुँदै आएको छ । गोठगाउँस्थित उपचार केन्द्रबाट असार २ गते ५२ जनाको स्वाब संकलन गरेर बीपी प्रतिष्ठान पठाइएको अस्पतालका डिन डा. शैलेशमणि पोखरेलले जानकारी दिए ।

प्रदेश १ मा बिहीबार ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको उपचार पूर्वाञ्चल विश्वविद्यालय मोडिकल कलेज गोठगाउँ, कोसी अस्पताल विराटनगर र बीपी प्रतिष्ठान धरानमा गर्ने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ