२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पतालले भर्ना नलिएपछि २७ कोरोना संक्रमितको भाेकै गाडी र चाैरमा कट्याे रात

अस्पतालले भर्ना नलिएपछि २७ कोरोना संक्रमितको भाेकै गाडी र चाैरमा कट्याे रात


विराटनगर- शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापाको केचनाबाट पठाइएका २७ जना कोरोना संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भर्ना नलिएपछि रातभर केहीले गाडीमा र केहीले प्रतिष्ठानकाे खुल्ला चाैरमा रात कटाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि एक यात्रु बसमा झापाबाट पठाइएका संक्रमितलाई बेड तयार नभएको भन्दै प्रतिष्ठानले भर्ना नलिएपछि शुक्रबार रातभरी उनीहरू गाडीमै बसेका हुन भने केही चाैरमा सुतेर रात बिताएका हुन्। राति ११ बजे प्रतिष्ठान पुगेका संक्रमितलाई प्रतिष्ठानको पार्किङ एरियामा गाडीभित्र नै राखिएको छ । संक्रमितहरुले रातभर केही खान पनि पाएनन् ।

प्रतिष्ठानले संक्रमितको भर्ना नगरेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका छन् । बिरामीहरु रातभर बाहिरै बसेको सूचनापछि मन्त्री घिमिरे धरान गएका हुन् ।

संक्रमितहरु रातभर आफू आएको बसमै र अस्पतालको ढोकामै बसेका छन् । प्रतिष्ठानमा सय बेडको कोभिड अस्पताल तयार भएको बताइएको थियो । प्रतिष्ठानले बेड अभाव भएको र झापाबाट समन्वय नगरी बिरामी पठाइएकोले समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाको भनाइ छ ।

प्रतिष्ठानले कोभिड-१९ अस्पताल बनाएको भएपनि कोरोना संक्रमितलाई अहिलेसम्म पेइङ व्लकको आइसोलेसनमा राख्दै आएको छ । प्रतिष्ठानको ३० बेडको पेइङ वार्डमा अहिलेसम्म ६७ जना कोरोना संक्रमित बिरामी भर्ना भइसकेका छन । थप २७ जना बिरामी आउँदा समस्या भएको प्रतिष्ठानको भनाइ छ ।

सरकारले विपी प्रतिष्ठानलाई लेभल थ्रीको अस्पतालका रूपमा तोकेको छ । सय बेडको कोडिभ १९ अस्पताल पनि तयार गरेको जनाएको छ भने ७० बेडभन्दा बढी आइसोलेसन वार्ड भएको प्रतिष्ठानले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ