उपचारको पैसा तिर्न नसकेका युवाको उद्धार

विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होममा लामो समयदेखि उपचारको पैसा तिर्न नसकेको एक युवाको उद्धार गरिएको छ । उपचारको पैसा तिर्न नसक्दा साढे ८ महिनादेखि हस्पिटलमा रहेका संखुवासभा खाँदबारी नगरपालिका– १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार गरेको हो ।
धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई सोमबार अस्पतालबाट बाहिर निकालिएको हो । उनको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताए । दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ । अध्यक्ष भोटेका अनुसार औषधि र क्यान्टिनमा लागेको १ लाख ७२ हजार रुपैयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको छ ।
चन्दनपुर घर भएर अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गरिन् । हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेको भनाइ छ । उनका अनुसार संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमलगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ । सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग ग¥यो । उनका अनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
भोटेले उद्धार गरेर जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने जानकारी दिए । उनका अनुसार काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्ने भएका छन् ।
खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला त्यहाँ निर्माणाधीन इर्खुवा हाइड्रोपावरका कामदारले रडले प्रहार गरेर जीवनलाई गत असार ५ गते गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनलाई उपचारका लागि बुवा गणेशले असार ६ गते विराटनगर ल्याए । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै छोरालाई अस्पतालमा राखेर हिडेका उनी भने अहिलेसम्म अस्पताल फर्किएका छैनन् । पारिवारिक आर्थिक अवस्था एकदमनै कमजोर छ । उनको उपचारमा लागेको पैसा तिर्न सक्ने अवस्थामा परिवार छैन । गाउँमा ऋण नपाएपछि छोराको उपचार गराएको पैसा तिर्न नसक्ने भएकाले बुवा गणेश विराटनगर फर्किन नसकेको स्थानीय विमला भण्डारी चापागाईंले बताए ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नु परेको बताए । ‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नु पर्छ,’ डा. साहले भने, ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’ उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ४ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ७ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
तपाईको प्रतिक्रिया दिनुहोस