२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमानव स्वास्थ्य प्रवर्द्धनका लागि अर्ग्यानिक खेती

मानव स्वास्थ्य प्रवर्द्धनका लागि अर्ग्यानिक खेती


बुटवल-विषादी प्रयोग गरेर उत्पादित तरकारीले मानव स्वास्थ्य जोखिममा रहेको भन्दै रुपन्देहीको तिलोत्तमाका युवाहरुले मानव स्वास्थ्य प्रवर्द्धनका लागि अर्ग्यानिक खेती सुरु गरेका छन् । उनीहरुले तरकारी खेती माटोबिनै फलाउँछन् । तरकारीलगायत अन्य अन्नबाली माटोमा लगाएर मात्र उब्जिन्छ भन्ने आम धारणा छ । तर, स्वाइललेस (माटोबिना) तरकारी खेती तिलोत्तमाका तीन युवाले गरेका हुन् ।

वडा नं. ३ विष्णुपुरामा लुम्बिनी हाइड्रोपोलिक नेपाल नाम कृषि फर्म स्थापना गरी युवा कृषक ईश्वर पौडेल नेतृत्वमा माटोबिना नैं तरकारी खेती सुरू गरिएको छ । यस प्रकारको खेती नेपालमै पहिलो पटक भएको युवाहरुको दाबी छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका पौडेल दश वर्ष अगाडि रोजगारीको सिलसिलामा ओमान पुगे । फाइभ स्टार होटलमा काम गर्ने उनले त्यहाँ स्वाइललेस (माटोको प्रयोगबिना) नैं विभिन्न ठाउँमा तरकारी खेती गरेको देखे । सोही अनुभवबाट उनको नेतृत्वमा यहाँ पनि हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालिएको हो ।

यो प्रविधिको खेतीमा नरिवलको जट्टा पेलेर/पिसेर बनाइएको कोकोपिट मसिनो धुलो गमलामा राखिन्छ । त्यसमा सार्न योग्य भएको विरुवा रोपिन्छ । नरिवलको जटा विरुवा अड्याउनको लागि मात्र राखिने हो । यो तरिकाले खेती गर्दा श्रम शक्ति थोरै लाग्ने, पानी पनि धेरै नलाग्ने पौडेल बताउँछन् । ‘पहिले त मलाई पनि अचम्म लाग्यो,’ पौडेल भन्छन्, ‘पछि अलि बुझ्दै गएपछि त्यहीँ प्रविधि अपनाएर सुख्खाग्रस्त (गर्मी) ठाउँमा पनि खेती गर्न सकिने सम्भावना देखेर घरमा आएर यो खेती प्रणाली सुरू गरेको हुँ ।’ उनका अनुसार यो इजरायली प्रविधि हो ।

यो खेती गर्न प्लाष्टिकको ठूलो (घरजस्तै) आकारको टनेल बनाइन्छ । जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङ्ग्राभित्र जान सक्दैनन् । टनेलभित्र विरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व (एमपिके) र पानी पाइपमार्फत प्रत्येक विरूवामा पुग्छ । फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम छ । तापक्रम बढ्यो भने अझै पङ्खा चल्छ । घट्यो भने पङ्खा आफै बन्द हुन्छ ।

पौडेलसहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन् । पहिलो चरणमा तीन जना मिलेर झण्डै एक विगाहा जग्गामा व्यवसायिक हाइड्रोपोनिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरिएको हो । अहिलेसम्म एक करोड रूपैयाँ लगानी गरिएको उनीहरु बताउँछन् ।

फर्मका अर्का सञ्चालन पिताम्बर आचार्य भन्छन्, ‘हामीहरू यस्तो खेती गर्न थाल्दा धेरैले टोलमा कसरी सम्भव होला र भन्थे । तर, अहिले फलेको तरकारी पकाएर उपभोग गर्नेदेखि बजारसम्म पु¥याउन थालेपछि सबै दंग छन् ।’ अहिले लुम्बिनी हाइड्रोपोलिक कृषि फर्म हेर्न दैनिक ५० भन्दा बढी कृषकदेखि स्थानीयसम्म पुग्ने गरेका छन् ।

‘पुरानै पारामा खेती गर्नुपर्छ भन्ने छैन । नयाँ पुस्ताले नयाँ प्रविधि अपनाएर कृषि क्षेत्रका काम गर्न सकिन्छ भन्ने देखाउन पनि यो प्रविधि रोजेका हौं,’ आचार्यले भने, ‘सिँचाइका लागि प्रशस्त पानीको व्यवस्था छ । त्यही पानी दिनमा दुई चरणमा थोपा सिँचाइमार्फत सिँचाइ गर्ने गरिएको छ । यसमा सिँचाइ गर्न धेरै पानी चाहिँदैन । यसकारण पनि यो सजिलो छ ।’
गोलभेडा, काक्रो, क्याप्सीकम, करेला र सागलगायतका एक सिजनको तरकारी फर्मबाट विक्री गरिसकिएको पुष्पा आचार्यले बताए ।

पौडेल विज्ञानको अगाडि कुनै पनि चिज असम्भव नभएको बताउँछन् । अबको उत्पादन आफूहरुले विशेष गरी रूपन्देहीका ठूला–ठूला होटलहरूमा सलादका लागि प्रयोग गर्ने गरी पठाउने सोच रहेको उनले बताए ।

विषेशगरी विदेशी पर्यटकहरू आउने स्टार होटलहरूले सलादका लागि यस्ता अर्ग्यानिक उत्पादन खोज्ने उनीहरु बताउँछन् । यो प्रविधिमा कुनै पनि विषादी प्रयोग हुँदैन । पूर्ण रूपमा अग्र्यानिक हुन्छ । आफूहरूले उत्पादन गरेका तरकारी बजारभाउभन्दा धेरै महंगो नहुने पुष्पाले बताए । नेपालका केही जिल्लाहरूमा विदेशमा गएका युवाहरूले सिकेर यो प्रविधि भित्राएको देखिन्छ । यो प्रविधिबाट उत्पादन हुने फलहरू माटोमा फल्ने जत्रो ठूलो हुँदैनन् । दुई सयदेखि पाँच सय ग्रामसम्मका हुन्छन् । विषेशगरी यसरी उत्पादित फलफूल र तरकारीहरू सलादको रूपमा बढी प्रयोग हुने गरेको बताइन्छ ।

अहिले फर्मका लागि सबै आवश्यक पोषकतत्वहरू भारतबाटै मगाएका छन् । कसैले माटोबिनाको प्रविधि अपनाएर तरकारी खेती गर्न चाहन्छन् भने सेड निर्माणदेखि सम्पूर्ण कुराहरू सिकाउने उनीहरुको योजना छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ