बुटवल : नेपालमा नसर्ने रोग ठूलो स्वास्थ्य समस्याको रुपमा बढ्दै गएको पाइएको छ । एक-डेढ दशक अघिसम्म सर्ने रोग समस्याको रुपमा रहेकोमा पछिल्लो समय नसर्ने रोग जनस्वास्थ्य समस्याको रुपमा देखा परेको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरी भन्छन्, ‘अहिले नसर्ने रोग नै मुख्य स्वास्थ्य चुनौती हो ।’
स्वास्थ्य अधिकारीहरुका अनुसार, नेपालमा मृत्युको कारणमा नसर्ने रोगको प्रतिशत ८३ छ भने सरुवा रोग १७ प्रतिशत मात्र छ । स्वास्थ्य चेतना अभिवृद्धि, स्वास्थ्य संस्थाको पहुँच, सरसफाई र खानेपानीको गुणस्तर वृद्धिलगायतका कारणले नेपालमा सर्ने रोगका बिरामी घट्दै गएका हुन् । यस्तै धुम्रपान, मद्यपान, अस्वस्थ खानपान र शारीरिक निष्क्रियताको कारण नसर्ने रोगबाट प्रभावित हुनेहरुको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. लक्ष्मण दुवेका अनुसार नेपालीहरुको जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोगको जोखिम ह्वात्तै बढाएको छ। डा. दुवेको अनुभवमा शारीरिक व्यायम नहुँदा ‘कार्डियोभस्कुलर’ सम्बन्धी रोगीको संख्या बढ्दै गएको छ ।
सवारीसाधनको उपलब्धताले मानिसलाई कम हिँडे पुग्ने भएको छ । आधुनिक उपकरणका कारण कृषि कार्यमा श्रम कम हुँदै गएको छ । घरायसी कामका लागि पनि आधुनिक उपकरणहरु प्रयोग हुन थालेका छन् । आधुनिकताले मानिसलाई कम कामकाजी बनाउँदै गर्दा नुन, चिनी र चिल्लो पदार्थको सेवन बढेकाले नसर्ने रोगको जोखिम पनि बढेको चिकित्सकहरु बताउँछन् ।
रुपन्देहीको रायपुर स्वास्थ्य संस्थामा कार्यरत डा. पाताल गिरी धुम्रपान, मद्यपान, अस्वस्थकर खानपिन, शारीरिक निष्क्रियताको असर तत्काल नदेखिए पनि यसले दीर्घकालमा असर पार्ने बताउँछन् । उनी भन्छन्,‘नसर्ने रोगले मानिसलाई अन्तिम अवस्थासम्म दुःख दिन्छ ।’ सचेतना अपनाउने हो भने नसर्ने रोगको जोखिमलाई कम गराउन सकिने स्वास्थ्य अधिकारीहरुको भनाई छ ।
नसर्ने रोगहरुमा मुटुरोग, दीर्घ श्वासप्रश्वास (दम), क्यानसर, मधुमेहलगायत छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. दुवे स्वस्थकर जीवनशैली र खानपानको माध्यमबाट मुटुलगायतका नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउँछन् ।
कसरी बच्ने नसर्ने रोगबाट ?
क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्ने र मधुमेह बढाउने प्रमुख कारक तत्व चुरोट, बिँडी, गुट्खा, खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन रहेको डा. गिरीको भनाइ छ । अरुले गरेको धुम्रपानको धुवाँमा धुम्रपान नगर्ने व्यक्ति बस्दा त्यति नै असर गर्छ । धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग ३ गुणा बढी हुन्छ । धूमपान तथा सूर्तीसेवन त्यागेकै दिनदेखि हृदयघातको सम्भावना घट्दै जान्छ । युवावस्थादेखि नै धूमपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा धेरै हुने र एउटै मात्र चुरोट, बिँडी वा थोरै मात्र सुर्तीजन्य पदार्थको सेवनले पनि हानि गर्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको हानिकारक सेवन गर्दा हृदयघात, कलेजोसम्बन्धी रोग, क्यान्सर, पेट वा आन्द्रमा घाउ हुने र मानसिक असन्तुलन जस्ता रोग र स्वास्थ्य समस्या भई मृत्यु पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
नसर्ने रोगबाट बच्ने एउटा प्रभावकारी उपाय हो–शारीरिक रुपमा सक्रिय रहने हो । डा. दुवेको अनुभवमा विकशित मुलुकका मानिसहरु हिँड्ने विषयलाई निकै महत्व दिन्छन् । तर नेपाली समाजमा श्रम गर्ने, हिँड्ने संस्कार हराउँदा त्यसको असर स्वास्थ्यमा देखिन थालेको हो।
शरीर सक्रिय राख्ने क्रियाकलापहरु हिँडडुल गर्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने आदि हल्का पसिना आउने गरी हप्ताको कम्तिमा पाँच दिनसम्म कमसेकम ३० मिनेट नियमित रुपमा गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यसले मुटुरोग हुने जोखिमलाई ३० प्रतिशतले कम गर्ने उनीहरुको भनाइ छ ।
नुनिलो, गुलियो र प्रशोधित खानेकुरा खानाले क्यान्सर, मुटुरोग र मधुमेह हुने जोखिमलाई बढाउँछ । चिकित्सकहरु क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग लाग्नबाट बच्न दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी सन्तुलित रुपमा खान सुझाउँछन् । स्वस्थ रहन मानसिक तनावको व्यवस्थापन गर्न र रिसमुक्त रहन पनि उनीहरुको आग्रह छ।
उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्ने जानकारहरुको भनाइ छ । यस्तै रगतमा चिनी बढेको (मधुमेह) भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्छ । रगतमा चिल्लोपना (उच्च कोलेस्टेरोेल) भएमा नियमित रक्त जाँच र उपचार गरी नियन्त्रणमा राख्नुपर्ने उनीहरुको सुझाव छ ।