नेपालगन्ज—नेपालगन्ज मेडिकल कलेजका कर्मचारी संघ, संगठन र युनियनको आन्दोलनका कारण बन्द रहेका अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु भएका छन् । उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले ओपीडी र शैक्षिक कार्यक्रम बन्द गर्ने गरी आन्दोलन गर्न रोक लगाएपछि आइतबारदेखि शिक्षण अस्पतालको ओपीडी र शैक्षिक कार्यकमलगायतका सबै सेवा सुचारु भएका हुन् ।
लामो समयदेखि ओपीडी सेवा बन्द हुँदा उपचारमा समस्या खेप्दै आएका बिरामीहरुले आइतबारदेखि सहज रुपमा उपचार सेवा पाएका छन् । अदालतको आदेशको पालना गर्दै ओपीडीलगायत शैक्षिक कार्यक्रमहरु संचालनमा अवरोध नगरेपनि आन्दोलनको स्वरुप परिवर्तन गरेर कर्मचारीहरुको तलब भत्तालगायतका सेवा सुविधाका लागि सुरु गरिएको आन्दोलनलाई निरन्तरता दिइने आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले बताइन् ।
मेडिकल कलेजका कर्मचारी संघ, संगठन र युनियन भत्ता तथा तलब वृद्धि, पदोन्नती, स्थायी नियुक्ति, उपदान, सामाजिक सुरक्षा कोष, कर्मचारी कल्याण कोष, स्वास्थ्य उपचार खर्च एब सेवा सुविधा र कलेजको संस्थागत विकासलगायतका माग गर्दै ४ असारदेखि चरणबद्ध आन्दोलनमा थिए ।
दैनिक ६ देखि ७ सय बिरामी उपचार गराउन आउने शिक्षण अस्पताल नेपालगन्जमा आइतबार करिब ३ सय जनाले ओपीडी सेवा लिएका छन ।
कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदैं
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालगन्ज मेडिकल कलेजको ब्यबस्थापन र आन्दोलनरत कर्मचारी संघ, संगठन र युनियनलाई वार्ताका लागि २३ गते श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग मीनभवनमा वार्ताका बोलाएको छ । विभागले हालसम्म भएका वार्तामा भएका सहमतिका बुँदा र सहमति हुन बाँकी भएका बुँदासहित अनिबार्य उपस्थित हुन दुबै पक्षलाई आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री र सचिवसहितको टोलीद्धारा अनुगमन
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले संचालन गरेको आन्दोलनका कारण उत्पन्न भएको पछिल्लो अवस्थाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु र स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
बाँकेका लुम्बिनी प्रदेश सभामा बाकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले मेडिकल कलेजका कर्मचारीहरूले संचालन गरेको आन्दोलनका कारण उत्पन्न भएको पछिल्लो अबस्थाको बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएपछि मन्त्रीसहितको टोलीले नेपालगन्जमै पुगेर आन्दोलनरत कर्मचारी र मेडिकल कलेज ब्यबस्थापनसंग छुट्टा—छुट्टै भेटेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको हो । कर्मचारी यूनियन अध्यक्ष अनिता थापाले प्रदेश सरकारका स्वास्थ्यमन्त्री र सचिवसहितको टोलीलाई कर्मचारीहरुले राखेका माग र अस्पताल ब्यवस्थापन पक्षले अपनाएको रबैयाका बारेमा जानकारी जानकारी गराएको बताइन । कर्मचारीहरुले ज्ञापनपत्रमार्फत आफ्ना मागहरुका बारेमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री र सचिवलाई जानकारी गराएका छन् ।
त्यसैगरी, स्वास्थ्यमन्त्री र सचिवको टोलीले कलेजका संस्थापक प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया, निर्देशक डा. सन्तोष शर्मा, उपनिर्देशक एवं वार्ता टोलीका संयोजक श्यामकुमार शर्मासँग पनि कर्मचारीहरुको आन्दोलन र त्यसपछिका अवस्थाका बारेमा जानकारी लिएको छ ।
ब्यवस्थापन र आन्दोलनरत कर्मचारी दुवै पक्षको धारणा बुझेपछि प्रदेश सरकारका स्वास्थ्यमन्त्रीले वार्ताकै माध्यामबाटै समस्याको समाधान गरी अगाडि बढ्न दुवै पक्षलाई सुझाव दिएका छन् । यसै बीच नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जको गेटमा लगाइएको सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड हटाइ दिएका छन् ।
आन्दोलनरत कर्मचारीले हटाइदिए सन्जीवनी कलेजको बोर्ड
१५ पुसमा मेडिकल कलेजको ब्यबस्थापनले नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज बोर्ड हटाएर सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको बोर्ड झुन्ड्याइएको थियो । त्यही बोर्ड आन्दोलनरत कर्मचारीले शनिबार हटाइदिएका हुन् ।
प्रदेश सरकारबाट अनुमतिसम्म नलिई अस्पताल ब्यवस्थापन पक्षले कर्मचारीहरुलाई तर्साउने उद्देश्यले शिक्षण अस्पताल नेपालगन्जमा सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको बोर्ड लगाएको तथ्य खुलेपछि आन्दोलनरत कर्मचारीहरुले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको बोर्ड हटाइ दिएका हुन् ।
आन्दोलनरत कर्मचारीहरूले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिको बोर्ड हटाउन खोज्दा अस्पताल ब्यबस्थापनले कुनै अबरोध नगरेपछि कर्मचारीहरुले सहजै बोर्ड हटाएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको पुरानै बोर्ड लगाइदिएका हुन् ।