२०८१ असोज १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार

भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार

एक वर्षमा ८ सय ५० जनालाई क्याथ ल्याब सेवा प्रदान


नेपालगन्ज—आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । विश्व मुटु महासंघको आव्हानमा विश्वभर ‘युज आर्ट फर एक्सन’ भन्ने नाराका साथ मुटु दिवस मनाइदैंछ ।

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगका बिरामी भएको नेपाल ह्दयरोग निवारण प्रतिष्ठानको अनुमान छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या भएको आँकलन प्रतिष्ठानको छ ।

वर्षेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको छ । ९० प्रतिशत नेपालीले खाने खानाहरु मुटु मैत्री नभएको, सहरमा बस्ने करिब ५० प्रतिशत नेपालीहरुले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सूर्ति सेवन गर्ने गरेका कारण नेपालमा मुटु रोगको जोखिम वर्षेनी बढ्दै गएको छ ।

मुटु रोगको जोखिम बढेसँगै राजधानी बाहिरका सहरहरुमा पनि मुटु रोगको उपचार सुविधा विस्तार हुँदैं गएको छ । नेपालगन्जको भेरी अस्पतालमा मुटुरोग विशेषज्ञहरुले मुटु रोगको उपचार गर्दै आएका छन् ।

नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा धेरै मानिसको मृत्यु मुटु रोगका कारण हुने भएकाले धु्म्रपान नगर्न, नियमित ब्यायाम गर्न, तनावमुक्त रहन र शरीरको तौल नियन्त्ररणमा राख्नुपर्ने सुझाव भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालको छ ।

करिब ६ करोड ५० लाख रुपैयाँको लागतमा नेपालगन्जको भेरी अस्पतालमा क्याथ ल्याब जडान गरिएको छ । वि.सं. २०७५ जेठमा क्याथ ल्याब जडान जडान भएपछि अस्पतालले मुटु रोगका बिरामीहरुलाई एन्जियोग्राफी, एन्जियोप्लाष्टी र अस्थायी पेश मेकर राखेर सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।

भेरी अस्पतालको मुटु रोग विभागले मुटुको नशा साघुरो भएका तथा हार्ट एट्याक भएका, मुटुको चाल गडबडी भएका बिरामीहरुको एन्जियोग्राफीका साथै एन्जियोप्लाष्टी गरेर गरेर उपचार गर्दै आएको छ । त्यसैगरी हर्ट एट्याक भई मुटुको चालमा समस्या भएका बिरामीमा अस्थायी पेसमेकर जडान तथा पेरिकार्डियो सेन्सेटिस अर्थात मुटुमा पानी भरिएका बिरामीहरुको पनि उपचार हुँदैं आएको छ ।

डा. विकास नेपाल

गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै भेरी अस्पतालको मुटु रोग विभागले ८ सय ५० जना बिरामीलाई क्याथ ल्याब सेवा अर्थात एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेशमेकर राखेर उपचार सेवा प्रदान गरेको थियो ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहेका छन् । मुटुको नशा साघुरो भएका र हार्ट फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १०/१० प्रतिशतको हारहारीमा रहेका छन् । त्यसैगरी जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु पनि उपचारका लागि अस्पताल आउने गरेको डा. नेपाल बताउँछन् ।

हृदयघात भएका बिरामीलाई जति छिटो अस्पताल पुर्‍याउन सक्यो त्यति नै राम्रो उपचार हुन्छ । तर, अझै पनि करिब ८० प्रतिशत मुटु रोगका बिरामी ढिलो गरेर अस्पताल आउने गरेको डा. नेपालको अनुभव छ ।

संघीय अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा जन्मजात मुटुको रोग, बाथ मुटुरोग, मुटुका नसा साँघुरिएर हुने समस्या, मुटुको चाल गडबडी, मुटुको भल्भमा समस्या, मुटु बन्द हुने, मुटु फेल हुने, हृदयघातलगायतका समस्या लिएर दैनिक औसतमा ७० जना ओपीडीमा र ८ देखि १० जना इमर्जेन्सीमा पुग्ने गरेका छन् । भेरी अस्पतालमा नेपालगन्जका छिमेकी जिल्लाहरु बर्दिया, दाङ, सुर्खेत, कैलाली, कालिकोट, दैलेख, जुम्ला, डोल्पालगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामी आउने गर्छन् । भेरी अस्पतालमा डा. नेपाल सहित तीन जना मुटु रोग विशेषज्ञ कार्यरत छन् ।

डा नेपालकाअनुसार भेरी अस्पतालमा दैनिक ३ जना मुटुका बिरामीको एन्जियोग्राफी र एन्जियोप्लास्टी हुने गरेको छ । पछिल्ला दिनहरुका भेरी अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपनि मुटु रोग विभागको छुट्टै वार्ड, सीसीयु कक्ष नहुँदा बिरामीलाई भर्ना गरेर उपचार गर्न समस्या हुने गरेको छ । भेरी अस्पतालमा जम्मा १० बेडको आईसीयू छ । त्यही आईसीयु वार्डमा सिकिस्त बिरामीलाई भर्ना गरेर उपचार गर्ने गरिएको छ । मुटुका बिरामीहरुलाई आईसीयु वार्डमा वेड पाउनै मुस्किल हुने गरेको छ । एन्जियोप्लास्टी गरेका, हृदयघात भएका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्थाअनुसार ५ दिनसम्म राख्नुपर्ने हुन सक्छ । तर, आईसीयु वार्डमा बेड नपाउँदा बिरामीहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ