२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालले सुरु गर्‍यो ओपिडी सेवाको अनलाइन टिकट

भेरी अस्पतालले सुरु गर्‍यो ओपिडी सेवाको अनलाइन टिकट


नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालले अनलाइनबाटै ओपिडी सेवाको टिकट काट्न मिल्ने सुविधा सुरु गरेको छ । अस्पतालको ओपिडी सेवामा टिकट लिएर चेक जाँच गराउन चाहाने बिरामीको चाप बढ्दै गएपछि अनलाइनबाटै ओपिडी सेवाको टिकट काट्न मिल्ने सुविधा सुरु गरेको हो ।

अस्पतालको बेवसाइट https://bherihospital.gov.np लगइन गरेर ओपिडी सेवाको टिकट काट्न सकिने अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले बताए ।

भेरी अस्पतालमा दैनिक करिब ७ सय बिरामी उपचारका लागि आउने गरेका छन । तीमध्ये करिब ८० प्रतिशतले नया टिकट काटेर उपचार सुरु गर्ने गरेका छन् ।

भेरी अस्पतालमा ओपिडीमा विशेषज्ञ चिकित्सकहरुलाई चेक जाँज गराउन ३० रुपैयाँको टिकट काट्नु पर्छ । त्यही टिकटबाट एक सातासम्म पुनः चेक जाँच गराउन सकिन्छ । त्यसपछि पुनः त्यही टिकटबाट चेक जाँच गराउँदा २० रुपैयाँ तिरेर नवीकरण गर्न सकिन्छ भने इमर्जेन्सीमा चेक जाँच गराउनका लागि ५० रुपैयाँको टिकट काट्नु पर्छ ।

अनलाइन सेवा सुरु भएसँगै बिरामीहरुले शुक्रबारदेखि नै अनलाइनबाटै ओपिडीको टिकट काट्न सुरु गरेको प्रमुख डा. थापाले बताए । शुक्रबारदेखि सुरु भएको अनलाइन प्रविधिबाट आइतबारसम्म १७ जनाले टिकट काटेका छन् ।

संघीय सरकारको मातहतमा रहेको भेरी अस्पताल बिशषेज्ञ सेवा प्रदान गर्ने पश्चिम नेपालको एक मात्र सरकारी अस्पताल हो । पश्चिम नेपालका तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका २४ जिल्लाका बिरामीहरु रेफर भएर उपचारका लागि नेपालगन्जमा पुग्ने गरेका छन् ।

भेरी अस्पतालले मुटु, न्युरोसर्जरी, युरो सर्जरी, मिर्गौला, स्त्री तथा प्रसुती, चर्म, दन्तरोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, मेडिसिन, बालरोग, मानसिक रोग, ग्याष्ट्रो सर्जरी र आँखालगायतका करिब डेढ दर्जन रोगका बिरामीहरुका लागि बिशेषज्ञ सेवा दिदैं आएको छ ।
भेरी अस्पतालमा ५६ जना विशेषज्ञसहित ८१ जना चिकित्सक, ९४ जना नर्सिङ, १९ जना पारामेडिक्स, १५ जना प्रयोगशालाकर्मीसहित करिब ३ सय १५ जना कर्मचारी कार्यरत छन् ।

भेरी अस्पतालका ओपीडी र इमर्जेन्सीमा बिरामीको चाप धेरै चाप बढ्दै गएको छ । बिरामीको चाप धेरै हुँदा इमर्जेन्सी र आईसीयुमा बेड पाउन निक्कै गाह्रो छ । अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख ६२ हजार ७ सय ९८ जनालाई ओपिडी, २६ हजार ३ सय ४९ जनालाई इमर्जेन्सीमा सेवा दिएको थियो ।

त्यसैगरी गत आर्थिक वर्षमा अस्पतालबाट २ हजार ८ सय ६० वटा मेजर अपरेशन, ३ सय ४२ मध्यम, ५ सय ८६ सामान्य अप्रेशन सेवा प्रदान गरिएको थियो ।

नेपाल सरकारले वि.सं. २०७५ फागुन भेरी अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने ५०० बेडको विशिष्ट अस्पतालको रूपमा स्तरोन्नती गरी संघीय सरकार मातहत राख्ने निर्णय गरेसँगै अस्पतालमा भौतिक पूर्वाधार र जनशक्ति थपिने क्रम सुरु भएको छ । भेरी अस्पतालमा हाल २३९ बेड संचालन हुँदै आएको छ ।

करिब १ करोड जनसंख्या भएको पश्चिम नेपालका २४ जिल्लाका जनतालाई विशिष्टीकृत सेवा प्रदान गर्ने ५०० बेडको विशषेज्ञ अस्पताल निर्माणको कार्य नेपाल सरकारको अझै पनि प्राथमिकतामा पर्न सकेको छैन । नेपाल सरकारले थप नयाँ भवनका लागि सहरी विकास मन्त्रालयमार्फत चालु आर्थिक वर्षका लागि २५ करोड रकम विनियोजन गरेको छ । त्यो रकम निकै कम भएका कारण थप नयाँ भवन निर्माणको कार्य अगाडि बढ्न सकेको छैन ।

जनप्रतिनिधिहरुले भेरी अस्पतालको स्तरोन्नती र सेवा विस्तारमा लविङ गरी संघीय सरकारलाई दबाब दिन नसक्दा अस्पतालको स्तरोन्नतीले अपेक्षित गति लिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए ।

चालु आर्थिक बर्षमा आधुनिक पोस्टमार्टम भवन, चिकित्सक र नर्सिङ स्टाफका लागि आवासीय भवन र थप २६० बेडको अन्तरंग विभाग र १८ ओटा ओपिडीसहितको भवन निर्माणका लागि २ सय ४३ करोड बजेट माग गरी स्रोत सुनिश्चिताका लागि स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्रालयमा पहल भई रहेको अस्पतालका प्रमुख डा. थापाले उल्लेख गरे ।

भेरी अस्पताल नेपालगन्जले पछिल्ला वर्षदेखि सेवालाई प्रविधि मैत्री पनि बनाएको छ । अस्पतालले वेभसाइटमार्फत नै कुन बार कुन ओपिडी नं. बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी दिने गरेको छ । देशका अन्य केन्द्रीय अस्पतालको तुलनामा भेरी अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा उत्कृष्ट रहेको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा बिभागको न्यूनतम् सेवा मापदण्ड मूल्याङ्कनबाट देखिएको छ ।

स्वास्थ्य सेवा बिभागले देशभरका केन्द्रीय अस्पतालले प्रदान गर्ने उपचार सेवाभन्दा भेरी अस्पतालको उपचार सेवा उत्कृष्ट गरेको औल्याउँदै अस्पताललाई आर्थिक वर्ष २०७९र०८० मा सर्वाधिक ८० प्रतिशत अंक प्रदान गरेर उत्कृष्ट अस्पताल घोषणा गरेको थियो । भेरी अस्पताल लगातार तीन वर्षदेखि स्वास्थ्य सेवा विभागको सूचीमा उत्कृष्ट अस्पताल बन्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ