२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल १३४ वर्षमा : पूर्वाधार र जनशक्तिको अभावका बाबजुद उत्कृष्ट उपचार सेवा

भेरी अस्पताल १३४ वर्षमा : पूर्वाधार र जनशक्तिको अभावका बाबजुद उत्कृष्ट उपचार सेवा


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालले यसै साता स्थापनाको १३४ औं वार्षिकोत्सव मनाएको छ । संघीय सरकारको मातहतमा रहेको भेरी अस्पताल विशेषज्ञ सेवा प्रदान गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल हो ।

पश्चिम नेपालका तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका २४ जिल्लाका बिरामीहरु रेफर भएर उपचारका लागि भेरी अस्पताल पुग्ने गरेका छन् । पछिल्ला दिनहरुमा दैनिक ७/८ सय बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्छन् । जीर्ण भौतिक संरचना जनशक्तिको अभावका बाबजुद पनि भेरी अस्पतालले बिरामीहरुलाई उत्कृष्ट उपचार सेवा दिदैं आएको छ ।

देशका अन्य केन्द्रीय अस्पतालको तुलनामा भेरी अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा उत्कृष्ट रहेको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको न्यूनतम् सेवा मापदण्ड मुल्यांङ्कनबाट देखिएको छ ।

स्वास्थ्य सेवा बिभागले देशभरका केन्द्रीय अस्पतालले प्रदान गर्ने उपचार सेवाभन्दा भेरी अस्पतालको उपचार सेवा उत्कृष्ट गरेको औल्याउँदै भेरी अस्पताललाई आर्थिक वर्ष २०७९/०८० मा सर्वाधिक ८० प्रतिशत अंक प्रदान गरेर उत्कृष्ट अस्पताल घोषणा गरेको थियो । भेरी अस्पताल लगातार तीन वर्षदेखि स्वास्थ्य सेवा विभागको न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट अस्पतालमा दरिदैं आएको छ ।

भेरी अस्पतालमा ५६ जना विशेषज्ञसहित ८१ जना चिकित्सक, ९४ जना नर्सिङ स्टाफ, १९ जना पारामेडिक्स, १५ जना प्रयोगशालाकर्मी सहित करिब ३१५ जना कार्यरत छन ।

भेरी अस्पतालका ओपीडी र इमर्जेन्सीमा बिरामीको चाप थेगिनसक्नु रहेको छ । बिरामीको चाप धेरै हुँदा इमर्जेन्सी र आईसीयुमा बेड पाउन निकै गाह्रो छ । अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख ६२ हजार ७ सय ९८ जनालाई ओपिडी, २६ हजार ३ सय ४९ जनालाई इमर्जेन्सीमा सेवा दिएको थियो । त्यसैगरी गत आर्थिक बर्षमा अस्पतालबाट २ हजार ८ सय ६० वटा मेजर अपरेशन, ३ सय ४२ मध्यम, ५ सय ८६ सामान्य अप्रेशन सेवा प्रदान गरिएको थियो ।

वि.सं. १९४७ मा पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भएको यो अस्पतालले विभिन्न उतार चढाव पार गर्दै १३४ औं वार्षिकोत्सव मनाएको छ । भेरी अञ्चल अस्पतालको रुपमा वि.सं. २०२२ सालमा ५० बेड, २०४३ सालमा १०० बेड हुँदैं अस्पताल विकास समितिबाट थप ५० बेड गरेर झन्डै ३० वर्ष १५० बेडको क्षमतामा संचालन भयो । करिब ३० वर्ष राज्यबाट उपेक्षित अवस्थामा रह्यो ।

नेपाल सरकारले वि.सं. २०७५ फागुन भेरी अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने ५०० बेडको विशषेज्ञ अस्पतालको रूपमा स्तरोन्नती गरी संघीय सरकार मातहत राख्ने निर्णय गरेसँगै अस्पतालमा भौतिक पूर्वाधार र जनशक्ति थपिने क्रम सुरु भएको छ ।

०७६/०७७ मा तत्कालीन सहरी विकास मन्त्री इश्तियाक राईको पहलमा २४० बेडको अन्तरंग विभाग, ३० बेडको आपत्तकालीन कक्ष, अत्याधनिुक अप्रेशन थियटर, प्रशासनिक कक्षसहितको भवन निर्माण कार्य सुरु भयो । नयाँ भवन निर्माण सम्पन्न भएसँगै भेरी अस्पतालको स्वरुप फेरिदैं गएको छ ।

चालु आर्थिक वर्षमा आधुनिक पोस्टमार्टम भवन, चिकित्सक र नर्सिङ स्टाफका लागि आवासीय भवन र थप २६० बेडको अन्तरंग विभाग र १८ ओटा ओपीडीसहितको भवन निर्माणका लागि स्रोत सुनिश्चिताको प्रक्रिया अगाडि बढेको छ ।

करिब १ करोड जनसंख्या भएको पश्चिम नेपालका २४ जिल्लाका जनतालाई जनतालाई विशिष्टीकृत सेवा प्रदान गर्ने ५०० बेडको विशषेज्ञ अस्पताल निर्माणको कार्य नेपाल सरकारको अझै पनि प्राथमिकतामा पर्न सकेको छैन । ५०० बेडको अस्पताल बनाउने घोषणा गरिएको चार वर्ष बितिसके पनि हाल २ सय ३५ बेड मात्रै संचालनमा छन् ।

जनप्रतिनिधिहरुले भेरी अस्पतालको स्तरोन्नती र सेवा विस्तारमा लबिङ गरी संघीय सरकारलाई दबाब दिन नसक्दा अस्पतालको स्तरोन्नतीले अपेक्षित गति लिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । भेरी अस्पतालले कोभिड—१९ महामारी, बाढी पहिरो, भूकम्पलगायतका हरेक प्राकृतिक विपद्का बेलासमेत नागरिकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

भेरी अस्पतालमा जनरल सेवासगै विशिष्टीकृत सेवा थपिदै गएका छन् । मुटुका बिरामीको उपचारका लागि क्याथ ल्याबदेखि न्युरो सर्जरी, स्पाइनल इन्जुरी अर्थस्कोपी तथा जोर्नी प्रत्यारोपण सेवा, ग्यास्ट्रो सर्जरी, युरो सर्जरी, सिकलसेल एनिमिया, थालसेमिया उपचार सेवा थपिएपनि सहज रूपमा सेवा प्रवाह गर्न भौतिक संरचना र जनशक्तिको चरम अभाव रहेको डा. थापा बताउँछन् ।

अबको बाटो

अस्पातलको सेवा र सुविधा विस्तारका लागि आवश्यक भौतिक संरचना, दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र अस्पतालको ब्यवस्थापकीय पक्षलाई समेत सबल र सक्षम बनाउनु अत्यावश्यक छ । ५०० बेडको अस्पताल सञ्चालनको लागि संगठन तथा व्यवस्थापन सर्वेको कार्य छिटोभन्दा छिटो अगाडि बढाएर थप दरबन्दीको ब्यवस्थापन गर्ने तर्फ ध्यान दिन जरुरी छ । त्यसैगरी भेरी अस्पतालमा यसै वर्षदेखि एमडी–एमएस र नर्सिङ सम्बन्धी पठनपाठन सुरु गर्ने योजनालाई कार्यान्वयन गरिनु आवश्यक छ ।

जीर्ण भौतिक संरचनाको कारण ओपीडी तथा अन्तरंग सेवा प्रवाहमा कठिनाई अझै उस्तै छ । कर्मचारी आवास नहुँदा आकस्मिक सेवा तथा शल्यक्रिया प्रभावित भइरहेका छन् ।

भेरी अस्पतालले विगत ५/७ वर्षमा स्वास्थ्य सेवामा तुलनात्मक प्रगति गर्दैछ । तर, दरबन्दी थप नहुँदा अहिले पनि छात्रवृत्ति करारका चिकित्सकको भरमा अस्पतालले सेवा प्रदान गर्दै आएको छ । पछिल्ला दिनहरुमा भेरी ३३ जना छात्रबृत्ति करारका चिकित्सक कार्यरत छन् ।
निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम रोक्दा भेरीले काउन्टर थपेर उपचार सेवालाई निरन्तरता दिएको थियो । सरकारले समयमा बीमा वापतको रकम भुक्तानी समयमै नगर्दा भएको समस्या अहिले पनि उस्तै छ ।

भेरी अस्पतालमा सेवा थपिंदै जाँदा बिरामीहरू काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता भने कम हुँदै गएको छ । भेरी अस्पतालबाट राज्यले विभिन्न रोगको सहुलियत उपचारको सेवा पनि दिंदै आएको छ । सरकारको कार्यक्रमअनुसार कतिपय सेवा निःशुल्क रहेका छन् ।

भेरी अस्पतालको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/०८१ मा सामाजिक स्वास्थ्य सुरक्षा शाखातर्फ ६ हजार २१ र जेष्ठ नागरिकतर्फ २ हजार ४ सय २३ लाई उपचार सेवा प्रदान गरेको छ । भेरीमा पैसाकै अभाव उपलब्ध सेवाबाट वञ्चित हुनु नपर्ने अवस्था छ । सरकारको कुनै न कुनै स्वास्थ्य कार्यक्रमबाट विपन्नले सहुलियत पाउने व्यवस्था मिलाइएको डा. थापाले बताए ।

भेरी अस्पतालमा गत वर्षदेखि नयाँ सेवाको रूपमा एमआरआई सुरु भएको छ । भेरीमा जडान गरिएको थ्रीटेस्लाको एमआरआई मेसिन पश्चिम नेपालकै पहिलो अत्याधुनिक मेसिन हो । करिब २४ करोड रूपैयाँमा नयाँ मेसिन खरिद गरेर एमआरआई सेवा सुरु गरिएको छ । एमआरआई सेवा सुरु भएपछि बिरामीलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नै हटेको छ ।

शल्यक्रियाका लागि १० महिना कुर्नुपर्ने

अस्पतालमा बिरामीको अप्रेशन गरेर उपचार गर्नका लागि कन्सल्ट्यान्ट सर्जन २५ जना छन् । अस्पतालले जनरल सर्जरी, प्रसुती, हाडजोर्नी, नसा, मुत्ररोग, नाक कान घाँटी रोगको अप्रेशनसहितको उपचार सेवा दिदैं आएको छ ।

अप्रेशन गर्ने कन्सल्ट्यान्ट सर्जनको संख्या पर्याप्त भएपनि अप्रेशन थियटर र पोष्टअप बेडलगायत अन्य पूर्वाधार कमी हुँदा पित्तथैलीको अप्रेशनका लागि बिरामीहरु १० महिनासम्म पालो पर्खन विवश छन् । अस्पतालमा हरेक आइतबार मात्रै पित्तथैलीका बिरामीको अप्रेशन हुन्छ ।

भेरी अस्पतालको अप्रेशन थियटरमा ५ वटा टेबल छन् । ती ५ वटा टेबलमध्ये २ देखि ३ वटा टेबल शल्यक्रियासहितको प्रसुती सेवामा प्रयोग हुन्छ । बाँकी २ देखि ३ वटा टेबलमा जनरल सर्जरी, प्रसुती, हाड जोर्नी, नशा, मुत्ररोग, नाक कान घाटी रोगका बिरामीको अप्रेशन हुन्छ ।

भेरी अस्पताल नेपालगन्जले पछिल्ला वर्षदेखि सेवालाई प्रविधि मैत्री पनि बनाएको छ । अस्पतालले वेवसाइटमार्फत नै कुन बार कुन ओपीडी नं.बाट कस्ता सेवा प्रवाह हुन्छ भन्ने जानकारी दिने गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ